जातीय छुवाछुत विवादमा परेका गृहमन्त्रीको दाबी : छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु'

काठमाडौँ : जातकै आधारमा प्रेम जोडी छुटाउन प्रहरी सङ्गठनको दुरुपयोग गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकले जातीय छुवाछुत हेर्न प्रहरीमा विशेष डेस्क बनाउने दाबी गरे।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेद लगायतका विषयको ज्ञापन पत्र बुझ्दै उनले आइतबार लेखकले जातीय विभेद निर्मूल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए।
‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यही अनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो। जातीय विभेदलाई निर्मूल हुनुपर्छ भनेर म सधैँ लागि परेको छु,’ उनले भने।
गृहमन्त्री लेखकमाथि सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारबिचको सम्बन्ध छुटाउन प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। उनले संसद्मा आफूले त्यस्तो नगरेको र कल्पनै गर्न नसक्ने आरोप लागेको दाबी गरेका थिए।
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने दाबी गर्दै भने ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु। उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु।’
आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डिआइजी भएको भन्दै उनले भने ‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदो रहेछ।
डिआइजी बढुवा गर्दा डम्बरलाई नछुटाई गर्नु भनेँ । नेपाल प्रहरीमा पहिलो पटक एक जना डिआइजी हुनुभयो।’
फागुन ४, २०८१ आइतबार २०:२२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।