‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गरेको हो’

‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गरेको हो’

रौतहट : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नुजस्तै भएको बताएका छन्। 

रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए। 

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो। 

देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उनले यो अध्यादेशको विरोध गर्न नहुने बताए।

नेता ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताए।

स्थायी कमिटी सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने भन्दै पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने बताए। 

माघ २९, २०८१ मंगलबार २१:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।