प्रा.डा. सुनीलको उपचार अनुभव : टाउकोमा रगत जमेकी आठ वर्षीया बालिकाको ज्यान बचाउँदाको त्यो संवेदनशील क्षण...

प्रा.डा. सुनीलको उपचार अनुभव : टाउकोमा रगत जमेकी आठ वर्षीया बालिकाको ज्यान बचाउँदाको त्यो संवेदनशील क्षण...

प्रा.डा. सुनील मुनाकोमी न्यूरो सर्जन हुन्। बिरामीको औषधि उपचार गर्नु अनि आवश्यकता अनुसार शल्यक्रिया गरी बिरामीलाई सञ्चो बनाउनु उनको चिकित्सकीय धर्म हो।

चिकित्सकीय पेशाको शिलशिलामा बिरामी तथा बिरामी पक्षका समस्या र चुनौतीका विषय उनले नजिकबाट नियालेका छन् नै। उनै चिकित्सक डा. सुनीलले चिकित्सकीय पेशाका सिलसिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।

लडेर टाउकोमा रगत जमेकी ती ८ वर्षीय बालिकालाई बचाएको त्यो क्षण 
विभिन्न अनुभवमध्ये एक जना बालिकालाई बचाएको प्रसङ्ग डा. सुनील कहिल्यै भुल्दैनन्। प्रसङ्ग चितवनको ‘कलेज अफ मेडिकल साइन्सस’मा एमसीएच अध्ययन गर्दाको हो। त्यो दिन डा. सुनील अस्पतालमा ड्युटीमा नै थिए।

करिब आठ वर्षकी चेपाङ समुदायकी बालिकालाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। अस्पताल पुर्याउँदा बालिका अर्धचेतन अवस्थामा थिइन्। उनले ती बालिकाको स्वास्थ्य अवस्था हेरे। बालिकाको लडेर (हेड इन्जुरी भएर) टाउकोमा रगत जमेको थाहा भयो।

तुरुन्तै टाउकाको शल्यक्रिया नगरेको अवस्थामा बालिकाको ज्यानै जाने जोखिम उच्च थियो। उपचारमा केही मिनेट पनि कुर्ने अवस्था थिएन। ती बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। पैसा खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन। उपचारका लागि पैसा नै नभएको उनले थाहा पाए। अनि डा. सुनीललाई चिन्ता लाग्यो। उनले सोचे- अब कसरी उपचार गर्ने?

तर, जसरी पनि ती बालिकाको ज्यान बचाउनु थियो। त्यसैले उनले अस्पताल व्यवस्थापनसँग कुरा गरेर पैसा नै नभए पनि उपचार व्यवस्थापन गरेर बालिकाको ज्यान बचाउने पहल गरे। व्यवस्थापन पक्षले पनि त्यो कुरा बुझ्यो। अनि अस्पतालमा पैसा नै नभए पनि उनको उपचार व्यवस्थापन मिल्यो।

उपचारको चाँजोपाँजो मिल्यो। डा. सुनील लगायतको चिकित्सकको टिमले ती बालिकाको तुरुन्तै टाउकाको शल्यक्रिया गरी बचाउने उपचार प्रक्रिया सुरु गर्यो। कति पनि ढिला नगरी चिकित्सकको टिमले ती बालिकालाई शल्यक्रिया कक्षमा लग्यो। एनेस्थेसियाको औषधि दिएर बेहोस बनायो अनि चिकित्सकको टिमले बालिकाको टाउकाको शल्यक्रिया थालिहाल्यो।

चिकित्सकको टिमको अथक मेहनतपछि ती बालिकाको टाउकोमा जमेको रगत निकालियो। शल्यक्रिया सफल भयो। बालिकालाई होसमा ल्याइयो। बालिकाको ज्यान बाँच्यो। बालिकालाई पोष्ट अपरेटिभ वार्ड हुँदै जेनेरल वार्डमा सारियो। मृत्युको मुखमा पुगेकी बालिका बिस्तारै तंग्रिदै गइन्।

करिब १२ दिनको औषधि उपचारपछि बालिकालाई डिस्चार्ज गरेर घर पठाइयो। अस्पतालबाट डिस्चार्ज भएर मुसुक्क हाँस्दै ती बालिका अस्पतालबाट बाहिरिएको डा. सुनील अझै सम्झन्छन्।

पढे लेखेकैले बुझ पचाउँछन्
डा. सुनीलले उपचार गरेर कयौँ बिरामीको ज्यान बचाएका छन्। उनले उपचार गरेका कयौँ बिरामीले ज्यान बचाएर ‘पुनर्जन्म नै दिएको भन्दै’ उनीप्रति कृतज्ञ भएका छन्।

तर, उपचार गरेका मध्ये शत प्रतिशत बिरामीको ज्यान बाँच्छ नै भन्ने एकिन हुँदैन। चिकित्सकीय पेशा हो। उपलब्ध प्रविधि, ज्ञान तथा सीपको अधिकतम सदुपयोग गरेर बिरामीलाई बचाउने कोसिस गर्ने हो। चिकित्सकले पनि अजम्बरी नै दिने त कहाँ हो र? यो सधैं मनन गर्न आवश्यक रहेको उनी बताउँछन्।

बिरामीलाई बचाउँदा कतिपय बिरामीले उनलाई आशीर्वाद दिन्छन्। धन्यवाद दिन्छन्, अनि कृतज्ञ हुन्छन्। तर, बिरामीलाई बचाउन सम्भव नभएको अवस्थामा भने कतिपय बिरामी पक्षले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालीगलौज र कुटपिट गर्न समेत पछि पर्दैनन्। चिकित्सकीय पेशाको सिलसिलामा उनले भोगिरहने समस्या हुन् यी।

कतिपय पढेलेखेकै बिरामी तथा पक्षहरू त बुझेर पनि बुझ पचाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गर्ने अनि आरोप लगाउने गरेको डा. सुनीलको अनुभव छ। कयौँ बिरामी तथा बिरामी पक्षमा ‘स्वास्थ्य सम्बन्धी चेतना (हेल्थ लिट्रेसी)’को कमी भएको पाउँछन् उनी। जसका कारण बिरामी पक्षबाट कहिलेकहीँ गाली समेत खानुपर्ने अवस्था रहेको उनले सुनाए।

न्यूरो सर्जरी संवेदनशील विषय मध्येको एक हो। अधिकांश बिरामी तथा बिरामीका आफन्तलाई रोगको संवेदनशीलता अनि शल्यक्रिया र शल्यक्रियापछि हुने जटिलताको विषयमा थाहा हुँदैन। त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी तथा बिरामी पक्षलाई रोगको संवेदनशीलताका विषयमा राम्रो जानकारी दिने सवालमा उनी सचेत छन्।

अर्कातर्फ कयौँ बिरामी तथा बिरामी पक्षलाई ‘अप्रेशन गर्नै हुँदैन’ भन्ने छाप रहेको उनले सुनाए। स्वास्थ्य शिक्षाको अभावका कारण कतिपय शल्यक्रिया गर्नुपर्ने बिरामी तथा बिरामी पक्षले शल्यक्रिया गर्नै नमान्ने गरेको समेत उनले सुनाए। शल्यक्रिया गर्न नमान्नुको मुख्य कारण भनेको डर, भ्रम अनि दुविधा नै हो।

लेखपढ नगरेका व्यक्तिले त ‘ल जानेनन्’ भन्न मिल्यो। तर, यस्तो निर्णयमा पढेलेखेका व्यक्तिमा समेत स्वास्थ्य शिक्षाको अभाव रहेको देखिएको उनले सुनाए। लेखपढ गरेका कतिपय व्यक्तिहरूमा स्वास्थ्यका कतिपय गलत बुझाइका कारण समेत समस्या निम्तिने गरेको उनले सुनाए।

विभिन्न किसिमका दुर्घटनामा परी टाउकोमा चोट लागेका (हेड इन्जुरी भएका) कतिपय बिरामीको तत्कालै टाउकाको शल्यक्रिया गरी ज्यान बचाउनुपर्ने हुन्छ। १५ मिनेट मात्रै शल्यक्रिया गर्न ढिला भए ज्यान जाने जोखिम हुन्छ। तर, पढेलेखेकै व्यक्तिले समेत शल्यक्रिया गर्न मिल्छ की मिल्दैन भनेर आफन्त तथा छर छिमेकलाई सोध्ने गरेको उनले सुनाए।

अनि कतिपय पढेलेखेका व्यक्तिले बुझेर पनि बुझ पचाउँदा समेत समस्या निम्तिने गरेको उनको अनुभव छ। पढेलेखेकै व्यक्तिले थाहा पाएको विषय पनि थाहा नपाए झैँ गरेर बुझ पचाउँदा उनलाई अलि दिक्क लाग्छ। यसरी निर्णय लिन नै ढिला गर्दा त बिरामीको मृत्युकै जोखिम हुन्छ।

बुझेर बुझ पचाउने अनि उपचारको विषयमा गलत जानकारीको भ्रम पालेका कयौँ बिरामी तथा बिरामी पक्षलाई उनी सम्झाउँछन्। राम्रोसँग परामर्श दिन्छन् अनि बुझाउने कोसिस गर्छन्। त्यसैगरी चिकित्सकलाई विश्वास गरेर चिकित्सकको सल्लाह अनुसार नै उपचार प्रक्रिया अपनाउन डा. सुनील अनुरोध छ।

अथक मेहनत गर्दा पनि बिरामीलाई बचाउन सम्भव नहुँदा दिक्क नलाग्ने कुरै भएन। त्यसमाथि पनि उपचार गरेर ठिक भइरहेको केही बालबालिकाको मृत्यु भएको उनी सम्झन्छन्। यसरी साना बालबालिकालाई बचाउन नसक्दा साह्रै दिकदारी लाग्ने गरेको उनले सुनाए।

न्यूरो सर्जरीमा चासो
पोखरामा जन्मिएका सुनीलले स्थानीय ‘कुमुदिनी होम्स (स्कुल)’बाट २०५३ मा एसएलसी गरे। उनले पोखराकै गण्डकी बोर्डिङ स्कुलबाट २०५६ मा प्लस टु गरे। सुनीललाई सानैबाट डाक्टरी विषय अध्ययन गर्ने बडो रहर थियो। नभन्दै उनले पोखरामा नै एमबीबीएस अध्ययन गर्ने मौका पनि पाइहाले।

सुनीलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको मणिपाल शिक्षण अस्पतालमा सन् १९९९ मा एमबीबीएस अध्ययन सुरु गरेका हुन्। सन् २००४ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। एमबीबीएस अध्ययनपछि उनले केही समय त्यहीँ काम गरे।

तर, उनलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले डा. सुनील सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको ‘जनरल सर्जरी’ विषयमा तीन वर्षे ‘एमएस’ अध्ययनका लागि भर्ना भए। उनलाई डाक्टरी विषय अध्ययन सुरु गर्दा देखि नै शल्यचिकित्सा विषय मनपर्थ्यो। त्यसैले इच्छा अनुसार नै आफूले यो विषय रोजेको उनले सुनाए।

उनले सन् २०११ मा तीन वर्षे एमएस अध्ययन पूरा गरे। त्यसपछि करिब आठ महिना धरानमा प्रतिष्ठानमा नै काम गरे।

डा. सुनीललाई थप अध्ययनको भोक मरेको थिएन। त्यसैले उनले न्यूरो सर्जरी विषयको थप अध्ययन गर्ने निर्णय लिए। अनि चितवनको ‘कलेज अफ मेडिकल साइन्सस’मा भर्ना भएर ‘न्यूरो सर्जरी’ विषयमा ‘एमसीएच’ अध्ययन थाले। यो विद्यावारिधि सरहको विशिष्टिकृत (सुपरस्पेशलाईजेशन) तहको अध्ययन हो।

डा. सुनीलले तीन सन् २०१६ मा वर्षे एमसीएच अध्ययन पूरा गरे। एमसिएच अध्ययनपछि उनले नोबेल मेडिकल कलेजमा न्यूरो सर्जनका रूपमा करिब तीन वर्ष काम गरे। त्यसपछि उनले चितवनको आफूले न्यूरो सर्जरी विषय अध्ययन गरेकै ‘कलेज अफ मेडिकल साइन्सस’मा करिब तीन वर्ष ‘न्यूरो सर्जन’ भएर काम गरे।

चितवनमा करिब तीन वर्ष काम गरेपछि डा. सुनील मोरङको बिराट मेडिकल कलेजमा पुगे। एक वर्षयता उनी बिराट मेडिकल कलेजमा नै कार्यरत छन्। प्रा.डा. सुनील बिराट मेडिकल कलेजको न्यूरो सर्जरी विभागको प्रमुखको भूमिकामा समेत छन्।

विशेषगरी न्यूरोसँग सम्बन्धित बिरामीको औषधि उपचार तथा शल्यक्रिया गरी ठिक बनाउनु, चिकित्सा शास्त्रका बिरामीलाई पढाउनु अनि चिकित्सा शास्त्रसँग सम्बन्धित वैज्ञानिक खोज तथा अनुसन्धान गर्नु डा. सुनीलको दैनिकी हो।

उनका चिकित्सा शास्त्रसँग सम्बन्धी अनुसन्धानात्मक आलेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरूमा उनले सहभागिता जनाउनुका साथै वैज्ञानिक आलेख प्रस्तुत गरेका छन्।

विभिन्न किसिमले टाउकोमा चोट लागेका, टाउकोमा ट्यूमर भएका, टाउकाको रगतको नसा फुटेका, छारे रोगको समस्या भएका, मेरुदण्डको ट्यूमर भएका, हातखुट्टाको नसा च्यापिएका तथा नसा दबिएका जस्ता न्यूरोसँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार र शल्यक्रिया गरी बिरामीलाई सञ्चो बनाउनु डा. सुनीलको काम हो।

माघ २६, २०८१ शनिबार ११:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।