विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मेयर भरत थापाको पक्षमा प्रचण्डले गरे संसद्मा वकालत

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनमा रेकर्ड राख्ने काम गरेको तर वर्तमान सरकार प्रमुख केपी ओलीले सरकारी जग्गा अपचलन र कर छलीका दोषीसँग जग्गा दान लिएको भनेर कटाक्ष गरे।
उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार भ्रष्ट रहेको दाबी गर्दै आफू सुशासनको पक्षमा रहेको तर्क गरिरहँदा त्यही सदनमा भ्रष्टाचारको अभियोगमा अख्तियारले छानबिन गरेर विशेष अदालतमा दुई मुद्दा खेपिरहेका अनि राजनीतिक स्वार्थमा बनको जग्गा दुरुपयोग गर्ने बागमती नगरपालिकाका मेयर भरत थापाको पक्षमा वकालत गरे।
उनले सरकारले अध्यादेशमार्फत बन ऐन २०७६ को संशोधन गर्नुको उद्देश्य भूमिहीन र सुकुम्वासीलाई जग्गा दिन भन्ने दाबी गरेको र अर्कोतिर सर्लाही नगरपालिकामा ३० औँ वर्षदेखि बसिरहेका सुकुम्बासीहरुलाई घरबारहीन गराउन र सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित पाँच पदाधिकारीलाई झुटो मुद्दामा फसाउने षड्यन्त्र भइरहेको भन्दै बदनाम मेयर भरत थापाको पक्षमा वकालत गरे।
१२१ बिघाको भरत तालको नाममा करोडौँ रकम अपचलन गरेको र सम्पत्तिको स्रोत नखुलेकोमा उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सुशासनको पक्षमा वकालत गर्दागर्दै बिहीबार प्रचण्ड यी नै विवादित मेयर थापालाई लोकप्रिय मेयर भन्दै उनको पक्षमा वकालतमा उत्रिए।
भरतताल बनाउन भन्दै उनले सो क्षेत्रको ढुंगागिटी निकालेर अपचलन गरेको भन्दै अख्तियारले उनीमाथि ३० करोड भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो। यो उनीमाथिको दोस्रो मुद्दा थियो। उनी विरुद्ध अख्तियारले पाँच करोड ३३ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै पहिलो मुद्दा दायर गरेको थियो।
उनीमाथि सागरनाथ वन परियोजनाको १३ सय बिघा जग्गा अतिक्रमण गराएर अवैध बस्ती बसालेको आरोप लाग्दै आएको छ। भरत ताल निर्माण गर्दा पनि उनले बनको स्वीकृति नै नलिई बनको जग्गा मिचेका थिए।
अवैध बस्ती बसालेकोबारे उनीबारे जिल्ला वन कार्यालयले मुद्दा दायर गरेपछि माओवादी केन्द्रले थापाको पक्षमा स्थानीय तहमा मसाल जुलुस निकाल्ने लगायतका गतिविधि गर्दै आएकोमा प्रचण्डले संसद्मै यो विषय प्रवेश गराए।
उनले थापालाई एमालेमा आए अख्तियारको मुद्दादेखि बनको मुद्दासम्म मिलाउने नत्र गाह्रो पर्ने भनेर धम्क्याएको र उनलाई झुटो मुद्दामा फसाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यसचिवले प्रधानमन्त्री कार्यालयमै बैठक राखेको दाबी समेत गरे।
‘२०७४ मा अत्यधिक लोकप्रिय मत ल्याएर चुनाव जितेर मेयर भएको, राष्ट्रिय एकता प्रवर्धन गरेर रेकर्ड बनाएकालाई जिम्मेवार नेताहरूबाटै एमालेमा आउने भए अख्तियार र बनको मुद्दा मिलाउने नत्र बचाउन नसक्ने भनेको गम्भीर कुरा आएको छ’ प्रचण्डले दाबी गरे।
उनले प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवले बैठक राखेर सर्लाही नगरपालिकाका जग्गा खाली गराउने निर्णय गरेको र पाँच जनालाई बन मुद्दामा फसाउन खोजेको गम्भीर आरोप समेत लगाए।
बायोपिक फिल्म रिलिज अगाडि नै निलम्बन
अति विवादित पृष्ठभूमिका मेयर थापाको बदमासीको खुलासा हुन थालेपछि आफ्नो छवि जोगाउन उनले फिल्मको सहारा लिने प्रयास गरेका थिए। थापाको कर्तुतहरूबारे पहिलो पटक उकेराले खुलासा गरेको थियो।
थापाको जीवनीमा ‘मेयर’ नामक फिल्म बनाउन चर्चित निर्देशक दीपेन्द्र के खनालै अगाडि सरे। फिल्ममा खगेन्द्र लामिछाने लगायतका चर्चित कलाकारहरू अनुबन्ध भए र फिल्मको छायाङ्कन समेत सकिएको थियो।
विवादित पात्रको जीवनीमा फिल्म बनाएकोबारे जिज्ञासा राख्दा निर्देशक दीपेन्द्र अनि अभिनेता खगेन्द्र दुवै थापाको प्रशंसा गर्ने गरेका थिए। तर जब उनीमाथि भटाभट भ्रष्टाचारको मुद्दा दायर भयो अनि निर्माता अनि कलाकार सबै चुप हुन थाले। फिल्मको छायाङ्कन सकिए पनि अहिले फिल्मको पोस्टप्रडक्सनको काम हुन सकेको छैन।
सम्बन्धित समाचार
माघ २४, २०८१ बिहीबार २३:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।