बालकथा : चुट्कुको चर्तिकला

‘म्याउँ म्याउँ’
आज विहानैदेखि चुट्कु बिरालो धेरै पटक कराइ राखेको छ। उसलाई के भएको होला? सात वर्षे जुनुको मनमा कुरा खेल्न थाल्यो। 'ह्या जे होस्' शनिबारको दिन स्कूल बिदा छ भन्दै उनी अल्छी गरेर सुतिरहिन्।
के गर्नु? गल्ली भित्रको घर भएकोले घाम विरलै देखिन्छ जाडोमा। घाम ताप्न छतमै उक्लिनुपर्छ। 'जुनु उठ' खाना पकाउँदै गरेकी आमाले भान्छाबाट बोलाए पनि उनी नसुने झैँ गरि सिरकभित्रै गुटुमुटु परेर सुतिरहिन्। 'म्याउँ म्याउँ' चुट्कु भने कराइ रह्यो।
शनिबार भए पनि जुनुको बाबा चन्द्र बहादुर पसल खोल्न बिहानै कोठाबाट निस्की सकेका छन्। बुटवल स्थायी घर भए पनि चन्द्रको परिवार काठमाडौँ पसेको १५ वर्ष जति भयो। अध्ययनको लागि शहर पसेका चन्द्रले गाउँकै सूर्यमालासँग नौ वर्षअघि विवाह गरेका थिए।
तीन जनाको परिवार घट्टेकुलोको चोकबाट अलि भित्र भाडामा बसेका छन्। पसल पनि चोकमै छ। किराना पसल भएकोले व्यापार राम्रै चलेको छ। परिवार यही पसलले धानेको छ। खाना तयार पारेर जुनुको बाबालाई पसलमा पालो दिन जानु पनि छ। त्यसैले जुनुको आमालाई हतार छ।
नजिकैको सूर्योदय स्कुलको कक्षा ३ मा पढ्ने जुनु पढाइमा अब्बल छिन्। दयालु स्वभावकी जुनुलाई घरपालुवा जनावर असाध्यै मनपर्छ। फुर्सदको समयमा सधैँ आइरहने बिरालोसँग खेल्न उनलाई रमाइलो लाग्छ। सेतोकालो छिर्केमिर्के रङको सानो बिरालोको नाम उसैले चुट्कु राखिदिएकी थिइन्। आज यहि चुट्कुले विहानैदेखि उनलाई सुत्न दिएको छैन।
स्कुल छुट्टी भएपछि घरमा आएर चुट्कुसँग खेलेर समय बिताउनु जुनुको दैनिकी नै हो। भाडामै बसेको भए पनि जुनुले छतमा केही फूलहरू पनि रोपेकी छिन्। बिदाको दिन फूल स्याहार्न र चुट्कुसँग खेलेर समय बिताउन उनलाई रमाइलो लाग्छ। फूलमा हाल्नलाई सानो पुरानो रातो जर्किनमा पानी पनि छत मै राखेकी छिन्। परीक्षामा व्यस्त भएकोले केही दिनदेखि छततिर उक्लन र फूलको रेखदेख गर्न अनि चुट्कु सँग खेल्न उनले पाएकी छैन।
अब त चुट्कु कराउन पनि छाड्यो। चुट्कुलाई के भयो होला? उनलाई खुलदुली भयो। पक्कै नै केही समस्या परेकोले बोलायो होला भनी उनले मनमनै सोचिन्।
आङ तन्काउँदै जुनु जर्याकजुरुक उठिन्। मुख पनि नधोई छतमा गइन्। घाम मधुरो थियो। बिहान भरी क्यारक्यार गरेको बिरालो खोज्दै छत उक्लेकी जुनु उसको चलाखी देखेर छक्क परिन्, अनि रमाइलो मान्दै छत निस्कने ढोकाको आडमै लुकेर हेरिरहिन्।
पानीको प्यासले तिर्खाएर चुट्कु बिहानैदेखि यताउता गर्दै छटपटाएर कराएको रहेछ। उसले जर्किनको बिर्को नलगाइएको प्वालबाट आफ्नो अगाडिको दाहिने खुट्टा छिराएर पानीमा चोप्दै चाट्दै गरेको देखेर जुनुलाई अचम्म र रमाइलो लाग्यो। बिरालोले सात पटक जति खुट्टा पानीमा चोप्ने र चाट्ने गर्यो। फूलमा हाल्न भनी राखेको जर्किनको पानीले बिरालोले आफ्नो प्यास मेटाइरहेको थियो। दोश्रो त्रैमासिक परीक्षामा व्यस्त भएकोले केही दिनदेखि उसले बिरालोको लागि कचौरामा पानी राखिदिन पनि पाएकी थिइनन्।
तिर्खा मेटाएर जिउ तन्काउँदै गरेको चुट्कुले बल्ल ढोकाको आडमा लुकिरहेकी जुनुलाई देख्यो र खुसीले उफ्रिँदै लाडिएर जिउ मै टाँसिन आइपुग्यो। चुट्कुको प्यास मेटाउने बठ्याइँ देखेर अचम्म र रमाइलो मानेकी जुनु पनि केही दिनदेखिको न्यास्रो मेट्न मधुरो घाम मै भए पनि फुर्तिलो भएर खेल्न थालिन्।
‘जुनु खाना खाने बेला भयो’ , आमाले तलैबाट बोलाउनु भयो।
‘ला मैले त मुख पनि धोएको छैन,’ जुनुले चुट्कुलाई भनिन्, ‘जाउँ हिँड सँगै मुख पनि धुने र खाना खाने है?’ चुट्कुले ‘हुन्छ’ झैँ गरि पुच्छर हल्लायो। जुनु तलतिर दगुरिन्। चुट्कु पनि म्याँउ म्याँउ गर्दै पछि-पछि लाग्यो।
माघ ८, २०८१ मंगलबार २०:२६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।