प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्।

राष्ट्रपति भवनमा आज आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। 

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर ६ मा भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। 

प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन्। 

मंसिर २७, २०८१ बिहीबार २०:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।