मुख्यमन्त्री शाहीको चार महिने उपलब्धि: ६.७ किलोमिटर सडक कालोपत्रे

मुख्यमन्त्री शाहीको चार महिने उपलब्धि: ६.७ किलोमिटर सडक कालोपत्रे

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिने उपलब्धि सार्वजनिक गरेका छन्। हिजो सोमबार मुख्यमन्त्री शाहीले कात्तिक १६ गते आफू नियुक्त भएदेखि अहिलेसम्मको उपलब्धि विवरण सार्वजनिक गरेका हुन्।

उनको उपलब्धिमा ६.७ किलोमिटर सडक कालोपत्रे गरेको देखि १९४.५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको सम्म उल्लेख छ।२३.३ किलोमिटर सडकको स्तरोन्नति, दुई वटा सडक पुल र एक झोलुङ्गे पुलको निर्माण पनि शाहीले उपलब्धि विवरणमा समेटेका छन्।

यस्तै जनता आवास कार्यक्रमअन्तर्गत सात सय ७८ घर निर्माण भएको पनि उनले दावी गरे।

यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ तीन सय ५१ वटा, भौतिकतर्फ दुई सय १३ वटा, सशर्त अनुदानतर्फ दुई सय ८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ५५ योजना कार्यान्वयन चरणमा रहेको पनि उनले बताए।

पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत १० जिल्लामा पाँच सय ५३ वटा कार्यक्रम कार्यान्वयनमा रहेको उनको भनाइ थियो।

उपलब्धि विवरण सार्वजनिक गर्ने कार्यक्रममा उनले मन्त्रिपरिषद् बैठकलाई व्यवस्थित गर्न हरेक साता बुधबार बेलुका ४ः०० बजे मन्त्रिपरिषद् बैठक बस्ने नियमिततालाई कार्यतालिका निर्माण गरिएको पनि बताए।

यस्तै कर्णाली प्रदेश सरकाले आफ्ना प्राथामिकता तथा उपलब्धिमा प्रदेश सभा सञ्चालन, आर्थिक अनुशासन एवम् सुशासन र सेवा प्रवाह, पूर्वाधार निर्माणको प्रभावकारी कार्यान्वयन, राजधानी वीरेन्द्रनगरको भौतिक संरचनाहरूको सुदृढिकरण, रुग्ण र अधुरा योजनाको अवस्था सुधार एवम् सञ्चालन, आर्थिक समृद्धि एवम् रोजगारी, कर्मचारी व्यवस्थापन एवम् परिचालन, नियमित अनुगमन, प्रदेश विशेष कार्यक्रम, विपद् व्यस्थापन, राहत तथा उद्धार कार्य, स्वास्थ्य संस्थाहरूको सवलीकरण, आधारभूत स्वास्थ्य सेवा, कोभिड प्रतिकार्य       एवम् रोकथाम र खोप, प्रदेश गौरवको योजना कार्यान्वयन, नीति, नियम, कार्यविधिहरूलाई समेटेको छ।

१७ फागुन, २०७८, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।