पूर्व उपराष्ट्रपति पासाङलाई माओवादीको उपाध्यक्ष बनाउँदै छन् प्रचण्ड

पूर्व उपराष्ट्रपति पासाङलाई माओवादीको उपाध्यक्ष बनाउँदै छन् प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रले भोलि बिहानका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ। 

बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने एक नेताले जानकारी दिए।

गत आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पार्टीले पाएको सफलताबारे पनि बैठकमा छलफल हुने छ।

बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउनेसमेत तयारी गरेको छ। प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए।

यता, पासाङ आफैंले पनि आफू माओवादीमा फर्किन चाहेको बताइरहेका छन्। उनले आफू पार्टीको सक्रिय राजनीतिमा फर्किन चाहेको उपमहासचिव हरिबोल गजुरेलले पुष्टि गरिसकेका छन्।  

बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी कोषद्वारा आयोजित कार्यक्रममा पनि देशले प्राप्त गरेको उपलब्धिहरू कसैले उल्ट्याउन खोजे आफू फेरि रातो मान्छे भएर उभिन तयार रहेको बताएका छन्। 

उनले भनेका छन्, 'गणतन्त्रको योद्धा भएको कारणले भोलि कुनै प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर यसलाई उल्टाउन चाहन्छन्, प्राप्त उपलब्धिहरूलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक, समावेशी र संघीयतालाई कतै दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु।' 

यसअघि कात्तिक २८ को माओवादी पदाधिकारी बैठकमा सहभागी भएर उनले ‘म पार्टीको मान्छे हो कि होइन?’ भनेर नेताहरूलाई प्रश्न गरेका थिए।

२२ जना पदाधिकारी रहेको माओवादीमा अहिले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्ष छन्। 

पासाङ २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसपछि माओवादीको जिम्मेवारीबाट अलग भए। 

०७९ चैतमा उपराष्ट्रपति पदबाट बिदा भएका पुन अहिले माओवादीको सक्रिय राजनीतिमा फर्कने तयारीमा छन्।  

त्यसअघि उपराष्ट्रपति बनेका परमानन्द झा भने पार्टीको सक्रिय राजनीतिमा फर्किएका छैनन्। तर, दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किन लागेको चर्चा छ।  

मंसिर १९, २०८१ बुधबार २०:१२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।