बालेनले भाइरल बनाएको न्यूरोडको सडक (फोटो कथा)

बालेनले भाइरल बनाएको न्यूरोडको सडक (फोटो कथा)

काठमाडौँको न्यूरोड सडकमा फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रयास सफल भएन। न्यूरोड गेटदेखि जुद्दशमशेरको सालिकसम्मको सडकको दुबैतर्फ फुटपाथ बढाउन चाहन्थे उनी। तर २२ वडाका वडाध्यक्ष र केही स्थानीयको अवरोधपछि उनी पछि हट्न बाध्य भए।

उनले बनाउन चाहेको न्यूरोड कस्तो हो? त्यो देखाइदिए महेन्द्र सालिकदेखि आकाश भैरवसम्मको सडकमा। उनले सडकको दुबैतर्फ फुटपाथको आकार बढाए। नयाँ टायल राखे। अनि छ्यालब्याल रहेका तारहरू सबै भूमिगत गराइदिए।

विशाल बजार अगाडिको सडक अहिले निकै उज्यालो देखिएको छ। निकै भिडभाड हुने त्यो क्षेत्रमा फुटपाथ बढेसँगै अहिले पैदलयात्रुहरुलाई हिँड्न निकै सहज भएको छ। अहिले न्यूरोडको त्यो क्षेत्र निकै भाइरल समेत भइरहेको छ।

उताको सडक त्यति सफा छ। यताको सडक भने उस्तै अस्तव्यस्त। तारहरू लथालिङ्ग छन्। सडकको एकातिरको पेटी फराकिलो छ भने अर्कोतिरको उस्तै।

सुविधास्थलको लम्बाईका हिसाबले हेर्ने हो भने खुल्ला अनि सफा सडकको दुरी निकै छोटो छ। त्यसलाई बालेनले भित्री शहरका सडक कस्तो बनाउन चाहेका हुन् भन्ने पाइलट प्रोजेक्टको रूपमा भने लिन सकिन्छ।

न्युरोडको पुरानो स्थान जहाँ स्थानीयको अवरोधका कारण सुधारको काम पनि रोकियो।

मंसिर १२, २०८१ बुधबार १७:१२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।