एनपिएलका लागि तयार हुँदै त्रिवि मैदान : फ्लडलाइटको सपना अधुरै, पहिलो पटक डिजिटल स्कोर बोर्ड
काठमाडौँ : क्रिकेट एशोसिएसन अफ नेपालका सचिव पारस खड्काले मंसिर १५ बाट हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु फ्लडलाइटमा खेलाउने रहर रहेको बताएका थिए। तर पहिलो श्रृंखलामा उनको रहर पुरा नहुने भएको छ।
एनपिएललाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्न प्रतियोगिताको प्रत्यक्ष प्रशारणको जिम्मा स्टार स्पोर्टलाई दिए। अन्य पक्षमा पनि उनले मिहेनत गरिरहेका छन्। त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि अहिले मैदान र वरपरको भौतिक संरचनाको निर्माणसहितको स्तरोन्नतिको काम भइरहेको छ। त्यसमा फ्लडलाइट छैन। धन्न डिजिटल स्कोर बोर्डसम्म भने सञ्चालनमा आउने भएको छ।
फ्लडलाइटको सपना उनले मात्रै हैन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीहुँदा उनले पनि यो सपना देखेका थिए। गत असार ३१ मा त प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय दिनभित्र त्रिवि मैदानलाई फ्लडलाइटसहित सुविधासम्पन्न बनाउने निर्णय गरेका थिए। तीन सय दिन पार भइसकेको छैन।
अहिले क्यानले मैदानमा रहेको ८ वटा पिचको गुणस्तर सुधारेको छ। यसका लागि बंगलादेशी एक्सपर्ट क्युरेटरलाई नेपाल झिकाएर काम भइरहेको छ। अभ्यासका लागि अलग अलग पिचको प्रयोग गर्ने तयारी समेत गरेको छ।
बुधबार उकेराकर्मी मैदामा पुग्दा एनपिएलमा फरक फरक दरमा टिकट बेच्न भीभीआईपी, भीआईपी र ओनर्स लाउन्जका लागि टहराको निर्माण भइरहेको देखियो।
क्यानका अधिकारीका अनुसार यस पटक मैदानको बाउन्ड्री करिब चार फिट बढाइएको छ।
खेल हेर्न आउने दर्शकका लागि मैदानको क्षेत्रमा दर्शकको अलग्गै क्षेत्रको निर्माण गरेको छ। खेलमा अवरोध नहोस् भनेर जो जुन क्षेत्रबाट मैदानमा प्रवेश गरेको हो त्यही क्षेत्रबाट मात्रै बाहिर निस्कन सक्ने बनाइएको छ।
विशिष्ट ब्यक्तीहरुका लागि क्यानले अलग प्यारापिटको निर्माण गरिरहेको छ। प्यारापिटको निर्माणको काम अन्तिम चरणमा पुगेको देखियो। बुधबार मैदानमा कामदारहरु धमाधम प्यारापिटको टहरा बनाउन खटिएका देखिन्थे।
मिडियाको सुविधाका लागि अलग्गै मिडिया बक्स निर्माण गरिएको छ। यस अगाडि जहाँ भिभिआइपी दर्शक बस्थे त्यो स्थान मिडियाका लागि छुट्याइएको छ।
पहिलो पटक डिजिटल स्कोरबोर्डको प्रयोग
अन्तराष्ट्रिय प्रतियोगिताहरु भए पनि त्रिवि क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्डको प्रयोग भएको थिएन। एनपिएलबाट नै पहिलो पटक डिजिटल बोर्डको प्रयोग हुँदैछ। त्यसको निर्माणको काम सकिइसकेको देखियो।
क्यानका सचिव पारस खड्काले फ्लडलाइटमा खेल खेलाउन तयार रहेको टिप्पणी गर्दै आएका छन्। तर एनपिएलमा फ्लडलाइट भने जडान हुने छैन।
मंसिर ५, २०८१ बुधबार १८:४१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।