कार्यकर्तालाई प्रचण्डको आश्वासन 'एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुन्नुहुनेछ'

कार्यकर्तालाई प्रचण्डको आश्वासन 'एकताको मोर्चा अघि बढेको छ, चाँडै नयाँ समाचार सुन्नुहुनेछ'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताएका छन्।
 
बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरू समाजवादी मोर्चालाई, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताए। 

उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा छौं। मलाई विश्वास छ, केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ। एकताको र मोर्चाको अभियानमा लागिरहेका छौं।’ 

प्रमुख प्रतिपक्ष दलका नेताका रूपमा उनले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने पनि बताए। 

‘थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं। भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ,’ उनले भने। 

उनले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतिहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए। 

विरोधीहरूले सधैं षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने उनको भनाइ छ। 

‘हिजो जनयुद्धभरी एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो। अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं। संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं। अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं,’ उनले भने। 

असोज १०, २०८१ बिहीबार १८:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।