सुमनको प्रतिज्ञा

सुमनको प्रतिज्ञा

कल्पनाशिलतालाई प्रोत्साहित गर्दै उकेराले ल्याएको छ चित्रकथा प्रतियोगिता । जस अन्तर्गत यहाँ प्रस्तुत गरिएको चित्रलाई आधार मानेर कथा रचना गरेर पठाउनुभई प्रतियोगितामा सहभागी हुन सकिने छ । प्रस्तुत कथा चित्रकथा प्रतियोगिता- २ को विजयी कथा हो।

कुनै गाउँमा एउटा १२ वर्षको सुमन नाउँ गरेको एउटा किशोर थियो। उसको परिवारमा उनी, उनका बाबा र आमा मात्र थिए। उनीहरुको परिवार सानो थियो तर उनको परिवार निकै विपन्न थियो।

सुमनका बाबाले गाउँ नजिकैको जंगलमा दाउरा काटेर नजिकैको बजारमा लगेर बेच्ने गर्थे। त्यही दाउरा बेचेर पाएको पैसाले उनीहरु सबै पालिने गर्थे।

उनीहरुको घरमा एउटा कुकुर पनि थियो, टाईगर। सुमनकी आमा धेरैजसो विरामी भईरहन्थिन्। सुमनका बाबा र आमाले छोरालाई निकै माया गर्थे।

सुमनले जे कुरा खोजे पनि त्यो कुरा पुर्याउनका लागि सक्दो कोशिस गर्थे। बाबाआमाको यो मायालाई सुमनले भने बुझ्दैनथ्यो। उसले कहिले नयाँलुगाको माग गथ्र्यो त कहिले बजारका अनावश्यक खानेकुरा माग गथ्र्यो।

बाबाले दिनभरी दाउरा बेचेर पाएको पैसाले पहिला छोराको माग पुरा गरिदिन्थे र त्यसपछि मात्र घरको लागि आवश्यक कुराहरु किन्ने गर्थे।

बाबाआमाको यो मायाले गर्दा सुमनलाई कहिल्यै पनि अभावको महशुस भएन। उ दिन प्रतिदिन आमाबुवालाई अनावश्यक माग गर्नथाले।

छोराको माग पुरा गर्ने क्रममा अलिक धेरै दाउरा बेच्न खोज्दा बाबाको ढाड मर्कियो। उनले जंगलमा काटेको दाउरा पनि घरमा ल्याउन सकेनन्।

हुन त दाउराको नाममा एउटा काठको मुढा मात्र थियो। तर त्यो पनि घरमा ल्याउन नपाएकोले अरु कसैले लगिदेलान कि भनेर बाबाले छोरालाई जंगलमा गएर त्यो मुढा ल्याउन अह्राए।

सुरुमा त सुमनले आनाकानी गर्यो तर बाबाले त्यो दाउरा बेचेर आएको पैसाले बजारबाट नयाँ खेलौना ल्याईदिन्छु भनेपछि सुमन खुशी हुँदै जंगलतिर लाग्यो। सुमनको पछिपछि टाईगर पनि गयो।

जंगलमा गएर उसले त्यो मुढा भेटायो। मुढा सुमनले बोक्नै नसक्नेगरी गह्रौं त थिएन, उसले आफ्नो बाबालाई त्यती हल्का मुढा पनि बोक्न नसकेकोमा मनमनै खिसी पनि गर्यो।

पछि त्यसैले उसले त्यो मुढालाई बोकेर घर आउन थाल्यो। टाईगर पनि पुच्छर हल्लाउँदै उसको पछिपछि लाग्यो। एकैछिन पछि उसलाई त्यो मुढा निकै गह्रौ लाग्न थाल्यो।

उ जति अगाडी बढ्थ्यो मुढा अझ गह्रौं हुँदै जान्थ्यो। एउटा रुखमुनी पुगेपछि त उसले त्यो मुढालाई बोक्नै सकेन अनि छेउमा बिसाउँदै थचक्क भुईमा बस्यो।

उसका खुट्टा पनि भतभती पोलेका थिए त्यसैले जुता खोलेर छेउतिर फ्याँक्यो। टाईगरलाई फेरी त्यो जुत्ता देखेर खेल्न मन लागेछ क्यारे उसले जुतालाई यता र उता गर्दै खेल्न थाल्यो।

यत्तिकैमा उसलाई बाबाको याद आयो। उसले त्यो मुढा बाबाले बजारसम्म पुर्याउँदा कति गाह्रो हुन्छ होला भनेर सोंच्न थाल्यो। बाबाले त्यती दुःख गरेर कमाएको पैसाले आफुले नचाहिदा कुराहरु किन्न लगाएर बाबाको पैसा खर्च गराईदिएको सम्झिदै उसले निकै पछुतो मान्न थाल्यो।

उसले अब मनमनै आफुलाई आवश्यक परेको कुराबाहेक फजुल गर्च गरेर नचाहिँदा सामान, बजारिया खानेकुरा मगाएर बाबाको पैसा सकाउँदिन भनेर मनमनै प्रण गर्यो अनि एकछिन त्यो मुढा बोकेर कुकुरलाई पछि लगाएर हिँड्न थाल्यो। एकछिन विश्राम गरेर हो कि राम्रो सोचाई बोकेर हो अब भने उसलाई त्यो मुढा अघिभन्दा हलुकाजस्तो लागिरहेको थियो।

 

कात्तिक २८, २०७७ शुक्रबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।