आँबुखैरेनी अस्पतालका डा. डिबीको उपचार अनुभव : एक, दुई, तीन हुँदै एकैछिनमा क्षतविच्छेद २६ शव अस्पताल आइपुगे

आँबुखैरेनी अस्पतालका डा. डिबीको उपचार अनुभव : एक, दुई, तीन हुँदै एकैछिनमा क्षतविच्छेद २६ शव अस्पताल आइपुगे

डा. डिबी क्षेत्री मेडिकल जनरलिष्ट (एमडीजीपी) चिकित्सक हुन्। एमडीजीपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो।

डा. डिबी विशेषगरी काठमाडौं उपत्यका बाहिरका अस्पतालमा बिरामीको औषधि उपचारमा रमाइरहेका चिकित्सक हुन्। चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेको अनुभव उनले उकेरासँग साटेका छन्।

त्यो भयानक दुर्घटनाको कारुणिक र विभत्स दृश्य
२०८१ भदौ ७ गते शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट भारतीय पर्यटक बोकेको भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भयो।

शुक्रबार साढे ११ बजेटिर आँबुखैरेनी अस्पतालभन्दा करिब डेढ किलोमिटर पर बस दुर्घटनामा परेको थाहा पाएपछि आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबीसहित अस्पतालको मेडिकल टिम दुर्घटना स्थलमा पुग्यो।

तर, अप्ठेरो ठाउँमा दुर्घटना भएकाले त्यहाँ घाइतेको उपचार गर्न सक्ने अवस्था भएन। अस्पताल नजिकै भएकाले अस्पतालमा नै छिटो घाइतेलाई पुर्याएर उपचार गर्नु बढी प्रभावकारी हुने देखियो।

त्यसैले घाइतेको उपचार गर्न गएको आँबुखैरेनी अस्पतालको  मेडिकल टिम दुर्घटना स्थलमा करिब २० मिनेट बसेर अस्पताल फर्कियो। त्यसपछि अस्पतालमा बस दुर्घटनामा परेका घाइतेको उपचारको व्यवस्थापनको तयारी गरियो।

केही बेरपछि पुनः अस्पतालको प्यारामेडिक्सलगायतको टिम दुर्घटना स्थलमा पुग्यो। अनि त्यो मेडिकल टिमले उद्धार गरिएका घाइतेलाई ब्यान्डेज लगाउने, ड्रेसिङ गर्ने जस्ता काम गर्यो। दुर्घटना स्थलबाट उद्धार टोलीले जति सक्दो चाँडै उद्धार गर्दै घाइतेलाई अस्पताल पठायो। घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार गरियो।

अस्पताल पुर्याइएका १७ जनालाई प्राथमिक तथा आकस्मिक उपचार गरियो। त्यसपछि थप उपचारका लागि १६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं र एक जनालाई चितवन पठाइयो। ती १६ जनालाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुर्याइयो। चितवन रेफर गरिएका घाइतेको भने मृत्यु भयो।

आँबुखैरेनी अस्पतालमा मृतकको शव पनि घाइते सँग-सँगैजसो पुर्याइयो। एक, दुई, तीन हुँदै २६ वटा शव अस्पताल ल्याइयो। दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शवले अस्पताल भरियो।

मृत्यु भएका व्यक्तिको शव क्षतविच्छेद अवस्थामा थिए। कुनै शवको टाउको फुटेको अवस्था थियो, कसैका चारै वटा हात खुट्टा भाँचिएको, कसैका शरीरमा ठूला चोट थिए। अवस्था कारुणिक र विभत्स थियो। अस्पतालको माहौल मन थाम्न सक्ने किसिमको थिएन। शुक्रबारको त्यो दुर्घटनाले रातभर निदाउन नसकेको डा. डिबीले सुनाए।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन्। दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै सुरक्षा निकायका एक सयभन्दा बढीको टोली उद्धारमा जुटेको थियो।

असुरक्षित गर्भपतनको प्रयास गर्दा मृत्युको मुखमा पुगेकी ती महिलालाई बचाएको त्यो क्षण
प्रसङ्ग करिब छ वर्ष अघिको हो। डा. डिबी एमडीजिपी अध्ययन सकेर छात्रवृत्ति करारमा बन्दिपुर अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)को भूमिकामा रहेर काम गरिरहेका थिए।

त्यो दिन डा. डिबी अस्पतालमा नै थिए। करिब ४० वर्षकी महिलालाई अस्पताल पुर्याइयो। ती महिलाको अनिच्छित गर्भ बसेछ। त्यसैले गर्भ बसेको करिब ११ हप्तामा ती महिलाले औषधि पसलबाट आफूखुसी गर्भपतन गर्ने औषधि किनेर सेवन गरिछन्।

चिकित्सक तथा तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाह विना नै गर्भपतनको औषधि सेवन गरेकी महिलाको गर्भपतन पूर्ण रूपमा सफल भएनछ। गर्भपतन सफल नहुँदा ती महिलाको स्वास्थ्यमा समस्या निम्तियो।

पूर्ण रूपमा गर्भपतन सफल नहुँदा ती महिलाको अत्यधिक रक्तश्राव भयो। रक्तश्राव भएपछि महिलालाई अस्पताल पुर्याइयो। बन्दिपुर अस्पतालमा पुर्याउँदा गर्भपतनको औषधि सेवन गरेकी ती महिलाको अत्यधिक रक्तश्राव भइरहेकै थियो।

महिला अर्धचेतन अवस्थामा पुगिसकेकी थिइन्। रक्तचाप पनि असन्तुलित थियो। मुटुको चालमा गढबढी भइरहेको थियो। महिलाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। 

त्यो बेला बन्दिपुर अस्पतालमा न ब्लड बैंक थियो न त आवश्यक स्रोत साधन र जनशक्तिको नै। तर, त्यहाँ उपचार नगरी अन्यत्र रेफर गर्ने समय पनि थिएन। त्यसैले डा. डिबीको टिमले अस्पतालमा भएको सीमित स्रोत साधनलाई नै प्रयोग गरेर ती महिलाको ज्यान बचाउने उपचार थाल्यो।

अस्पतालमा पुर्याइएकी ती महिलालाई स्लाइन पानी चढाउन समेत नसा खोल्न गाह्रो भयो। तर, बल्लतल्ल नसा खोलेर स्लाइन पानी मार्फत औषधि तथा शरीरलाई आवश्यक पोषण तत्व दिइयो।

त्यसपछि तुरुन्तै प्रसूति कक्षमा लगियो। ती महिलाले गर्भपतनको औषधि सेवन गरेपछि पूर्ण रूपमा गर्भपतन सफल नहुँदा गर्भमा रहेको भ्रूण टुक्रा-टुक्रा भएर पाठेघरमा नै अड्केर बसेको थियो।

डा. डिबीको टिमले ती महिलाको पाठेघरमा अड्किएको मृत भ्रूणको टुक्रा निकाल्यो। पाठेघरमा जमेर बसेको रगत सफा गरेर निकालियो। चिकित्सकको टिमले ती महिलाको आवश्यक औषधि उपचार गर्यो।

केहीबेरको उपचारपछि बिस्तारै ती महिलाको रक्तश्राव कम हुँदै गयो। रक्तचाप र मुटुको चाल सामान्य अवस्थामा आयो। महिलाको होस् खुल्दै गयो।

विना स्वास्थ्य परीक्षण चिकित्सक तथा तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाह विना नै असुरक्षित रूपमा गर्भपतनको प्रयास गरेकी थिइन्। तर, धन्य चिकित्सकको टिमले असुरक्षित गर्भपतनको प्रयास गर्ने महिलालाई बचाउन सफल भयो।

दुई दिनको उपचारपछि ती महिला अस्पतालबाट डिस्चार्ज भएको सम्झन्छन् डा. डिबी। आधा घण्टा मात्रै उपचार ढिला भएको भए ती महिलाको ज्यान जाने जोखिम उच्च थियो। तर, अस्पतालमा पुर्याइएकी ती महिलालाई कत्ति पनि ढिला नगरी उपचार गर्दा ज्यान बचाउन सफल भएको डा. डिबीको अनुभव छ।

साल नझरेकी महिलालाई बचाएको त्यो रात
सुत्केरीपछि साल ननिस्कँदा स्वास्थ्य समस्यामा परेकी महिलालाई बचाएको प्रसङ्ग पनि डा. डिबी कहिल्यै भुल्दैनन्। तीन वर्षअघि उनी एमडीजीपीको अध्ययनपछि पर्वत जिल्ला अस्पतालमा कार्यरत थिए।

वर्षाको समय थियो। करिब ३५ वर्षकी महिलाले बच्चा जन्माइन्। तर, साल भने अड्किएछ। बच्चा जन्मिएको करिब आठ घण्टासम्म पनि साल नझरेपछि ती महिलालाई पर्वत जिल्ला अस्पताल पुर्याइयो। साल अड्किएकी महिलालाई अस्पताल पुर्याउँदा रातीको करिब आठ नै बजिसकेको थियो।

अस्पताल पुर्याउँदा ती महिलाको रक्तचाप असामान्य अवस्थामा थियो। मुटुको चाल पनि सामान्य गतिमा थिएन। ती महिला पनि अर्धचेतन अवस्थामा पुगिसकेकी थिइन्।

अस्पताल पुर्याइएकी ती महिलाको तुरुन्त शल्यक्रिया गर्ने निर्णयमा चिकित्सकको टिम पुग्यो। एनेस्थेसिया दिएर ढाडभन्दा तलको भाग बेहोस बनाएपछि डा. डिबीले चिकित्सकीय विधि अपनाई हात हालेर नै ती महिलाको अड्किएको साल निकाले।

ती महिलालाई आवश्यक रगत दिइयो। औषधि उपचार गरियो। साल अड्किएकी महिलाको ज्यान बाँच्यो। अस्पताल भर्ना भएको चार दिनपछि ती महिला डिस्चार्ज भइन्। साल अड्किएर जीवन मरणको दोसाँधमा पुगिसकेकी ती महिला मुस्कुराउँदै आफ्नो शिशु च्यापेर डिस्चार्ज भएको प्रसङ्ग डा. डिबी अझै सम्झन्छन्।

शल्यक्रियाको सामान सकिँदा पनि सुत्केरी हुन नसकेकी महिलालाई बचाएको क्षण
त्यसैगरी बेनी अस्पतालबाट रेफर गरिएकी महिलालाई बचाएको प्रसङ्ग पनि डा. डिबी कहिल्यै भुल्दैनन्।

करिब तीन वर्षअघि पर्वत जिल्ला अस्पतालमा सामान्य अवस्थामा सुत्केरी नभएपछि तीन जना महिलालाई शल्यक्रिया गरी सुत्केरी गराउनुपरेको थियो।

पानी परेको मौसम भएकाले स्रोत साधनको सीमितताका कारण त्यो दिन अर्को शल्यक्रियाका लागि सामान नै सकियो। चिकित्सकहरूको समन्वयमा बेनी अस्पताल बाटै ती बिरामी महिलासँगै शल्यक्रियाका लागि आवश्यक सामग्री पनि पठाइयो।

पर्वत जिल्ला अस्पतालमा ती महिलालाई पुर्याउनासाथ चिकित्सकको टिमले कति पनि ढिला नगरी शल्यक्रिया कक्षमा लग्यो। ती महिलाको गर्भमा रहेको बच्चाले गर्भमै दिसा गरेको अवस्था थियो। गर्भको बच्चाको मुटुको धड्कनमा पनि गडबढी थियो। तुरुन्तै शल्यक्रिया नगरे आमा र बच्चा दुवैको ज्यानै जाने जोखिम थियो।

त्यसैले डा. डिबी लगायत चिकित्सकको ती महिलाको डाढभन्दा तलको भाग एनेस्थेसिया दिई लठ्यायो अनि शल्यक्रिया गरी जन्मन नसकेको गर्भको बच्चा निकालियो। शल्यक्रिया सफल भयो। आमा र बच्चा दुवैको ज्यान बाँच्यो। एक हप्ताको अस्पताल बसाइ पछि ती महिला र उनका सन्तान डिस्चार्ज भए।

छात्रवृत्तिमा एमबीबीएस अध्ययन
डिबी पर्वत जिल्लाको हालको मोदी गाउँपालिकामा २०४३ मा जन्मिएका हुन्। वास्तविक नाम धनबहादुर भए पनि उनी अहिले डिबी क्षेत्रीको नामबाट परिचित छन्।

स्थानीय नमुना आवासीय माध्यमिक विद्यालयबाट २०५८ मा एसएलसी गरेका उनले काठमाडौंको सामाखुशीस्थित रेडन कलेजबाट प्लस टु उत्तीर्ण भए।

सानैदेखि डाक्टर बन्ने इच्छाका कारण उनले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षाको तयारी गरे। दुई वर्षको मिहिनेतपछि सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि उनी छनोट भए।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २०६३ मा भर्ना भएका उनले २०६९ मा एमबीबीएस अध्ययन पूरा गरे।

सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेवापत डा. डिबीले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसका लागि उनी विराटनगरकै सुन्दर हरैंचास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगे।

छनोटमा दुर्गममा काम गर्ने विषय
डा. डिबीलाई थप अध्ययन त गर्नु छँदै थियो। त्यसमाथि पनि उनलाई समग्र रोगको उपचार गर्ने विषयको अध्ययन गर्ने इच्छा थियो। त्यसैले डा. डिबीले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट परीक्षामा उनी सफल भए। प्रतिष्ठानमा उनको स्नातकोत्तर तहको अध्ययनको छनोटको विषय मेडिकल जनरलिष्ट (एमडीजीपी) पर्यो। 

त्यसैले डा. डिबी २०७२ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको मेडिकल जनरलिष्ट (एमडीजीपी) विषय अध्ययन गर्न थाले। २०७५ मा उनको एमडीजीपी  अध्ययन पूरा भयो। यो विषयलाई जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन पनि भनिन्छ।

गाउँमा नै हुर्केका डा. डिबीलाई गाउगाउँमा नै गएर बिरामीसँग रमाउने इच्छा थियो। त्यसैले उनले गाउँगाउँमा गएर सबै किसिमको रोगको उपचार गर्ने विषय नै छनोट गरे। अनि यस्तै विषय पढे पनि। एमडीजीपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सुरुमा सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै औषधि उपचार गर्नुपर्ने हुन्छ।

त्यसपछि थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसारको विशेषज्ञ चिकित्सक कहाँ बिरामी रेफर गर्नु एमडीजीपी अध्ययन गरेका चिकित्सकको दैनिकी हो। नेपालमा एमडीजीपी चिकित्सकको संख्या अझै धेरै भए उपचार सेवामा सहजता हुने डा. डिबीको अनुभव छ।

उपत्यका बाहिरै रमाएका डिबी
डा. डिबीले एमडीजीपी पनि सरकारी छात्रवृत्तिमै अध्ययन गरे। सरकारी छात्रवृत्ति कोटामा एमडीजीपी अध्ययन गरे बापत उनले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसका लागि उनी तनहुँको बन्दिपुर अस्पतालमा पुगे। त्यहाँ उनले अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)को भूमिकामा समेत रहेर करिब १७ महिना काम गरे।

बन्दिपुरमा डा. डिबीले सीमित स्रोत र साधनका बावजुद शल्यक्रिया कक्षको सेटअप गरेर शल्यक्रिया समेत थाले। बन्दिपुरमा उनले प्रसूति हुन नसकेका महिलाको शल्यक्रिया (सिजरियन सेक्शन), हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रिया सुरु गरेको अनुभव सुनाए।

बन्दिपुर अस्पतालपछि डा. डिबी सरुवा भएर पर्वत जिल्ला अस्पताल पुगे। त्यहाँ उनले केही महिना छात्रवृत्ति करारमा काम गरे। दुई वर्षे छात्रवृत्ति करारको काम सकिएपछि पर्वत जिल्ला अस्पतालमा नै निक साइमन इन्स्टिच्युटको जागिरे भएर २०७८ सम्म थप दुई वर्ष काम गरे।

पर्वतमा पनि आफ्नो टिमले सामान्य रुपमा प्रसूति (नर्मल डेलिभरी) हुन नसकेका महिलाको शल्यक्रिया, एपेन्डिसाइटिस, हर्निया, हाड्रोसिल लगायतको समस्याको शल्यक्रिया नियमित गरेको अनुभव सुनाए। पर्वतमा दुई वर्षमा करिब दुई सय वटा सिजरियन सेक्सन गरेको र ठूला तथा साना गरी करिब एक हजार शल्यक्रिया गरेको उनी सम्झन्छन्।

पर्वतपछि डा. डिबी निक साइमन इन्स्टिच्युटकै जागिरे भएर बागलुङको बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ उनले करिब चार महिना काम गरे। बागलुङपछि दुई वर्ष यता डा. डिबी तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)को भूमिकामा करार जागिरेका रूपमा कार्यरत छन्।

डा. डिबी त्यहाँ पुग्दा सामान्य किसिमको मात्रै उपचार हुने यो अस्पतालमा हाल २४सै घण्टा आकस्मिक सेवा समेत सञ्चालनमा रहेको उनले सुनाए। अस्पतालमा दैनिक दुई सयसम्म बिरामी उपचारका लागि पुग्ने गरेको र शल्यक्रिया सेवा पनि सुरु गर्ने तयारी रहेको उनले बताए।

तनहुँको पूर्वी भाग, गोरखा, चितवनको इच्छाकामना गाउँपालिका अनि धादिङको केही भागका बिरामीहरूलाई समेत आँबुखैरेनी अस्पतालमा जान पायक पर्ने उनको भनाइ छ।

विभिन्न उपचारात्मक सेवाको विकास भएकैले गत वर्ष गण्डकी प्रदेशमा स्थानीय तहले सञ्चालन गरेको अस्पतालमध्ये आँबुखैरेनी अस्पताल ‘मिनिमम सर्भिस स्ट्याण्डर्ड’ को मूल्याङ्कनमा सर्वोत्कृष्ट भयो। डा. डिबीलाई थाहा भएसम्म स्थानीय तहले सञ्चालन गरेको अस्पतालमध्ये हेमोडाइलाईसिस सेवा दिने आँबुखैरेनी एक मात्र अस्पताल हो।

डा. डिबी उपत्यका बाहिर नै बिरामीसँगको साक्षात्कार तथा औषधि उपचारमा रमाइरहेका छन्। उनी उपत्यका बाहिरका बिरामीका पिरमर्का नजिकबाट नियाल्छन्। बिरामीको रोगको समस्या मात्रै हैन, बिरामी तथा बिरामी पक्षको सामाजिक तथा व्यावहारिक पक्षलाई पनि नजिकबाट नियाल्छन्।

भदौ ७, २०८१ शनिबार १२:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।