यमलोकको मुख्य ढोका खुलाउने दिन ( तस्बिर कथा)

यमलोकको मुख्य ढोका खुलाउने दिन ( तस्बिर कथा)

काठमाडौँ : गाईजात्रा पर्वको पहिलो दिन मृतक आफन्तको सम्झनामा विभिन्न झाँकी निकालियो। दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा छ। संस्कृतिविद् बिन्दा जोशीका अनुसार गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा छ।

यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ।
    
हिन्दु धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतआत्माहरुले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामशेखर श्रेष्ठले जानकारी दिए।

गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।  पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता छ।

भदौ ३, २०८१ मंगलबार १९:०३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।