कोलाहलमा छोपिएका सम्पदाको सुन्दरता (फोटो स्टोरी)
काठमाडौँ : भिड, कोलाहल, जता पनि मान्छे नै मान्छे । कोही फोटो खिचिरहेका अनि कोही क्यामराअघि नाचिरहेका। केही भने त्यहाँका दृश्यहरूलाई क्यामरामा कैद गर्न व्यस्त।
यति मात्रै कहाँ हो र, जहाँ मानिसको भिड, त्यहाँ व्यापारी त हुने नै भए। फुटपाथमा सामान छरेर बसेका हुन् या हातमा बोकेर हिँडेका। सटरमा व्यापार गर्नेहरूको असरल्ल सामान पनि ढोका भन्दा बाहिर निस्किएका देख्न सकिन्छ।
यो हविगत छ काठमाडौँ उपत्यकामा भएका अधिकांश सम्पदाहरूको। दुरीले टाढा भएको र मानिसहरूले कम थाहा पाएका ठाउँको अवस्था फरक होला तर विश्व सम्पदा सूचिमा परेका तथा चर्चाको शिखरमा रहेका उपत्यकाका प्रायः मन्दिर र सम्पदाहरू भिडभाड र कोलाहलका कारण आफ्नो सुन्दरता लुकाउन बाध्य छन्।
त्यसैले त, उपत्यकामा भएका सुन्दर सम्पदाहरू हेर्न रातको समय गज्जब हुन्छ। दिउँसो उपत्यका भएका सम्पदाको दृष्य अनि त्यही सम्पदा रातमा, आकाश र जमिनको फरक देखिन्छन्। यस्तो लाग्छ, भिडभाडबाट मुक्ति पाएका ती सम्पदाहरू रातको समयमा स्वतन्त्र हुन्छन् र आफूलाई हल्का महसुस गर्दै मुस्कुराउँछन्।
तर केही सम्पदामा भने त्यहाँ सही ढङ्गले लाइटको प्रयोग नगर्दा खल्लो लाग्छ। यसको गतिलो उदाहरण हो वसन्तपुर।
वसन्तपुर जति भव्य छ, त्यति सुन्दर देख्न मुस्किल पर्छ। वसन्तपुर दरबार र त्यहाँ भएका मन्दिरहरूमा लाइट सही तरिकाले राख्न नसक्दा आफ्नो सुन्दरता लुकाउन बाध्य भएको वसन्तपुर छेवैको रुफटप क्याफेका राजन श्रेष्ठ बताउँछन्। उनले भने, ‘यहाँ प्रयोग गरिएको लाइटका कारण रातको समयमा वसन्तपुर जति सुन्दर देखिनुपर्ने हो त्यति देखिँदैन।'
दिउस अनि बेलुका कति फरक देखिन्छन् त काठमाडौँ, ललितपुर अनि भक्तपुरका सम्पदाहरु। आउनुस् फोटोबाट भ्रमण गरौँ :
असार २०, २०८१ शुक्रबार २०:१४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।