नृत्य निर्देशक राजु शाहको हिजोको कुरा : भुवन केसीले नाच्न नजान्दा सेटमै लफडा, राजेशलाई एउटै स्टेप गर्न ६ महिना

नृत्य निर्देशक राजु शाहको हिजोको कुरा : भुवन केसीले नाच्न नजान्दा सेटमै लफडा, राजेशलाई एउटै स्टेप गर्न ६ महिना

४० वर्षअघि बनेको फिल्म ‘दुई थोपा आँसु’मा समावेश ‘जुन त लग्यो ताराले’ बोलको गीत आजकल अधिकांश विद्यालयको सांस्कृतिक कार्यक्रममा बज्ने गीत हो। यो फिल्ममा भुवन केसीले अभिनय गरेका थिए।

त्यसैगरि देउता फिल्ममा समावेश गीत ‘हुँदैन रेली मै चट्ट बिर्सन’ बोलेको गीतमा पनि अधिकांश विद्यार्थीले अहिले पनि नाच्ने गर्छन्। यो गीतमा अभिनेता राजेश हमालले कम्मर मर्काएका थिए।

राजेश हमाल र भुवन केसीजस्ता कलाकारलाई कम्मर मर्काउन लगाउनु नै ठूलो कुरा थियो। गीतमा अभिनय गर्दा उनीहरुले नाक खुम्च्याउने गर्थे। त्यसबेलाको फिल्ममा दुई देखि पाँच वटासम्म गीत अनिवार्य हुन्थ्यो। त्यसकारण पनि उनीहरूले अभिनय गर्नैपर्थ्यो।

चलेका कलाकारहरूलाई अभिनय सिकाउन कहाँ सजिलो हुन्थ्यो। नृत्य निर्देशक राजु शाहलाई पनि त्यस्तै भयो। सजिलो भएन। यद्यपि उनले सकेको गरे, सिकाए। पाँच दशकदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छन् नृत्य निर्देशक शाह। पछिल्लो समय भने फिल्मबाट अफर आउन छाडेको उनको अनुभव छ।

उनै नृत्य निर्देशक शाहले आफ्नो बाल्यकाल, नेपाली फिल्म क्षेत्र प्रवेशको त्यहाँ बिताएका पाँच दशकको अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी साटेका छन्।

जन्म बागलुङ, हुकाई र पढाइ काठमाडौं
हाम्रो पुख्यौली थलो नुवाको भए पनि प्रहरीमा जागिर बुवा सरुवा भएर देशका विभिन्न ठाउँ गइरहनुपर्ने। बुवा सरुवा भएर बागलुङ जाँदा आमा पनि जानुभएको रहेछ। मेरो जन्म वि.सं. २०२१ फागुनमा बागलुङमै भयो। बुवाको सरुवा र बढुवासँगै हाम्रो बास परिवर्तन हुन्थ्यो। म ११ महिनाको हुँदा काठमाडौं आएको कुरा आमाले भन्नुहुन्थ्यो।

काठमाडौं आएपछि भने म यतै बसेँ, यतै हुर्केँ। पानीपोखरीको भानुभक्त स्कुलबाट मेरो पढाइ सुरु भयो। मामाघर यतै भएकाले बुवाको सरुवा भए पनि म काठमाडौं नै बसेँ। पढाइ खासै राम्रो थिएन मेरो, औसत विद्यार्थी थिएँ कक्षाको।

पढाइकै सिलसिलामा यहिँका साथीहरूसँग मेरो घुलमिल भयो। सहिद शुक्र माध्यमिक विद्यालय बागबजारबाट ३७ सालमा एसएलसी दिए। त्यतिबेलासम्म ममा नाचको लत बसेको थिएन। मलाई जिउ हल्लाउन समेत आउँदैनथ्यो।

एसएलसी दिएपछि भने मेरो रुचि नृत्यतर्फ बढ्न थाल्यो। रुचि बढ्नुको कारण अनेक छन्। त्यसमध्ये एउटा भनेको बागबजारमा नाचिरहेको एक नृत्य समूह हो। उनीहरू नाच्नकै लागि भनेर भारतको सिक्किम र दार्जिलिङ जाँदै थिए।

रमाइलो पनि हुने, घुमघाम पनि गर्न पाइने र पैसा पनि पाइने लोभले मलाई नृत्यप्रति चासो बढायो।

साथीको दाजुको विहेमा नाच्न नजान्दाको क्षण
मैले नृत्यमा छिर्नुको मुख्य कारण एउटा साथीको दाइको विवाह थियो। यो कुरा ३७ सालतिरको हो। बागबजारको शंकरदेव क्याम्पसको छेउमा मेरो साथीको दाइको बिहे थियो। बिहेमा नाच्ने रमाइलो गर्ने भन्ने त्यतिबेला थियो। मलाई पनि नाच्नमा चाख थियो तर जान्दिनथेँ।

बिहेमा नाच्न खोज्छु तर हातखुट्टा केहि पनि चल्दैन। निकै बेर प्रयास गर्दा पनि भएन। साथीहरूले उक्साए। एउटाले त च्याप्प समातेर नाच्नका लागि बीचमा राखिदियो। मलाई त्यो बेलाजति लाज कहिल्यै लागेको थिएन। त्यहि बेला अर्को एउटा साथीले नाच्न उक्साउँदै मलाई हल्लाउँदा मैले झ्याम्म हानेछु।

हात कसरी उठ्यो, मलाई नै थाहा भएन। तर, उठ्यो। त्यसपछि बाजागाजा सबै बन्द भयो। बिहेघरमा बबाल भइहाल्यो नि! ‘यसले हात हाल्यो’ भनेर सबै उफ्रिन थालिहाले। त्यसपछि म त्यहाँबाट उठेर हिँडे। नाच्न नजान्दाको क्षण र हात उठेको विषय रातभरी सोचेँ।

त्यसपछि मैले आमासँग पैसा मागेर दिनको १२ सय रुपैयाँमा मैतीदेवीबाट डेग र टिभी भाडामा ल्याएँ। सिडीको लागि थप एक सय रुपैयाँ भाडा बुझाउनुपर्थ्यो। न्यूरोडबाट भाडामा लिएर रातभरि नाच हेरेर अभ्यास गरेँ। भिडियो हेर्दै नाचेपछि अलिअलि जिउ चल्न थाल्यो।

फेरि दुई हप्तापछि त्यसरी नै सबैकुरा भाडामा ल्याएर अभ्यास गरेँ अनि नाचेँ। त्यसपछि भने अलि–अलि नाच्न आउन थाल्यो मलाई। त्यहि समयमा पिकनिकको आयोजना भयो। आयोजना गर्नेहरू त्यहि साथीको दाइको बिहेमा नाच्नेहरु थिए।

पिकनिक मलाई नाच्न भनेँ। मैले निर्धक्क भएर नाचिदिएँ। त्यसपछि सबैले अचम्म माने। सबै जना हेरेको हेर्यै भए। त्यसपछि मलाई पिनकिन, बिहे र ब्रतबन्धमा लगायतका शुभ कार्यमा नाच्नका लागि बोलाउन थाले। म पनि गएर नाच्नेँ।

त्यतिबेला एक ठाउँमा नाच्दा सबैतिर थाहा हुृन्थ्यो। ‘फलानाले त यस्तो नाच्छ रे नि!’ भन्ने चर्चा हुन्थ्यो। अनि ठाउँ–ठाउँबाट नाच्नका लागि बोलावट आउँथ्यो। कति ठाउँमा मैले नाचेको मन पराएर पैसाको माला लगाइदिनुभएको थियो।

विदेशीले नेपाली नाच मन पराउँथे
पहिला पहिला मोर्डन डान्स कसैले पनि नाच्दैनथे। मैले जोनको डान्स भिडियो हेरेर सिकेँ। विदेशी पाहुनाहरूले पनि नेपाली नाच एकदमै मन पराउँथे।

राष्ट्रिय नाचघर, प्रज्ञा भवन, शंकर होटल, मनास्लु होटल (अहिलेको र्याडिसन), अन्नपूर्ण होटल र याक एण्ड यति होटलमा नेपाली कल्चरल डान्स देखाइन्थ्यो। नाचघर र प्रज्ञा भवन दिउँसो अनि बेलुका विभिन्न होटलमा विदेशी पाहुनाका लागि शो हुन्थ्यो।

नाच्दा नाच्दै जागिर
एक दिन एउटा साथीले बर्थ डे पार्टीमा नाच्न बोलायो। पार्टीमा बेलुका ७ बजेदेखि नाचेको विहानको ४ बजेसम्म नाचियो। त्यो बेलामा म र चरण प्रधान भन्नेबीच प्रतिस्पर्धा चल्यो। अहिले उनी लण्डनमा छन्। डान्स थेरापीमा उतै डिप्लोमा गरेर डाक्टर बनेका छन्।

मनास्लु होटलको साइडमा एउटा नेपाली कल्चरल डान्स देखाउने ठाउँ थियो। म त्यहाँ गएर नाच्दा मनास्लुका मालिकले मलाई नाच्न अफर गरे। ३८/३९ सालतिर मैले नाँच्ने जागिर पाएँ, त्यो पनि महिलाको १५ सय रुपैयाँ तलबको। त्यतिबेला त्यो निकै ठूलो पैसा हो।

मनास्लुमा त्यतिबेलाकी चर्चित अभिनेत्री सुष्मा शाही, सानु ताम्राकार, सुवर्ण पोखरेलहरू नाच्नुहुन्थ्यो। उहाँहरू फिल्म ‘बदलिदो आकाश’को सुटिङमा गएकाले मैले जागिर पाएको रहेछु। मैले यो कुरा पछि मात्र थाहा पाएँ। नत्र त्यहाँ जागिर पाउन निकै संघर्ष गर्नुपर्ने रैछ।

एउटै घरमा पनि बुवासँग छ महिना भेट भएन
मैले एसएलसी सक्दा बुबा इन्पेक्टर हुनुहुन्थ्यो। त्यतिबेला बुवाको हाकिम एसएसपी हाम्रो घरमा नै आउजाउ गर्नुहुन्थ्यो। बुवाको चाहना प्रहरीमै जागिर खाओस् भन्ने थियो। त्यहिअनुसार ती हाकिमले घरमै असईको फर्म ल्याइदिनुभएको थियो।

मैले बुवा र उहाँको हाकिमको कुरा काट्न नसकेर हुन्छ भनेँ। बुवाको हामिकले भोलि मेरो घरमा आउनु अनि सँगै कार्यालय जानुपर्छ भन्नुभएको थियो। मैले ह्वस त भनेँ तर जाँदै गइनँ। विहानबाटै म बेपत्ता भइदिन्थेँ।

म विहानै निस्किन्थेँ अनि बुबा अफिस गएपछि आउँथेँ। बुवा फेरि अफिसबाट आउने बेलामा (बेलुका ५बजे) डान्सका लागि हिडिहाल्थेँ। त्यतिबेला बुवासँग मेरो ६ महिनाजति भेटै भएन।

लण्डनको महारानी एलिजाबेथलाई नाच देखाए
४० सालतिर लण्डनको महारानी एलिजाबेथ र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन गयुम नेपाल आउने कुरा भयो। त्यतिबेला नेपाल आएका पाहुनालाई प्रज्ञा भवनमा नेपालको कल्चरल डान्स देखाइन्थो।

उनीहरू नेपाल आउने भएपछि प्रज्ञा भवनमा डान्सर चाहियो। त्यहाँका डान्स डिरेक्टर बसन्त श्रेष्ठ लगायतले धेरैको अडिसन लिए, त्यसमा म पनि थिएँ। म छानिएँ अनि उनीहरूले सिकाए अनुसारको नाच सिकेँ।

महामहिम महारानी र राष्ट्रपतिलाई नाच देखाइसकेपछि सबैलाई घर पठाए। तर मलाई डान्स डिरेक्टर बसन्त श्रेष्ठले तिमी यहाँ जागिर खान्छौँ भनेर सोध्नुभयो। खोजिरहेकै ठाउँमा जागिर खान्छौँ भनेर अफर आएपछि नाई भन्ने कुरै भएन। ओके भनेँ।

प्रज्ञाभवनमा विदेशका प्रधानमन्त्री, राष्ट्रपति वा राजा आउँदा मात्र शो हुन्थ्यो। अरु बेला हुँदैनथ्यो। हाजिर गर्ने जाने। दिनकै हाजिर नगरे पनि महिना दिनको एकै चोटी गर्दा पनि हुन्थ्यो। तलब सात सय रुपैयाँ चानचुनको थियो। त्यहाँ मैले करिव ६ वर्ष जागिर खाएँ।

४५ सालमा फिल्म बनाउने चर्चा चलिरहेका बेला बनाउन नसकेपछि म डान्स सिक्न भारत गएँ।

भुवन केसी र राजेश हमालसँग लफडा  
मैले एउटा स्कुलमा त्यतिबेला डान्स सिकाउन जान्थेँ। त्यो डान्स सिकाएको देखेर तुलसी घिमिरे दाइले मलाई बच्चाहरूको एउटा डान्स गर्देउ भनेर फिल्मका लागि अफर गर्नुभयो। उहाँको अफरलाई मैले नकार्न सकिन र हुन्छ भनेँ।

मैले फिल्म ‘दुई थोपा आँसु’को ‘जुन त लाग्यो ताराले’बोलको गीतमा नचाएँ। यो गीत यति हिट भयो कि कुरै छोडौँ, त्यति पपुलर भयो। त्यो वर्ष अवार्ड घोषणा हुँदा मेरो नाम पनि आयो। असाध्यै खुशी पनि भए।  यो अवार्ड थापेर आफ्नो डान्स कोर्स गर्नका लागि भारत फर्किएँ।

फिल्म ‘दुई थोपा आँसु’को ‘तिमी नै जीवन’ गीतको सुटिङमा भुवन केसीसँग मेरो ग्रह नै मिलेन। म इण्डियाबाट डान्स सिकेर आको, उहाँ यहाँको स्टार। मैले स्टेप दिन्छु उहाँले गर्दै नगर्ने। नाच्नै नसक्ने। भुवनले के भन्नुभो भने ‘यहाँको त एउटा स्टेप सकेन भने अर्को दिन्छ। अर्को देउ न तिमी।’

अर्को स्टेप दिँदा त्यो पनि उहाँले गर्न जान्नुभएन। अर्को, अर्को स्टेप गर्ने भन्दा भन्दै रात पर्यो। एउटा स्टेप अगाडि बढ्न सकेन। जुन दिए पनि स्टेप नजान्ने भएपछि उहाँले ‘मलाई टाउको समातेर, गाला समातेर गर्ने नाच गराइदेउ न!’ भन्नुभयो।

त्यसपछि मलाई झनक्क रिस उठ्यो अनि भनेँ, ‘त्यसो गर्ने हो भने मलाई किन बोलाइरा त! मुम्बईबाट म यहाँ आएको मेरो कामै भएन नि! मलाई भन्दा ज्यादा तपाईंहरूलाई नै आउँछ, तपाईंहरू आफैँले गराए हुन्छ। भुवनले सक्दैन भने यो सुटिङ क्यान्सिल गरौँ। मलाई त त्यहि स्टेप चाहिन्छ, हैन भने अभिनेता चेन्ज गर्न सक्छु।’

मैले त्यति भनेपछि भुवन झन् सिरियस भए। त्यसपछि लन्च ब्रेक भयो। सुटिङ अगाडि बढाउने कुरामा दुवै जनाबीच लफडा भएपछि सामान्य स्टेप दिएर सकाएको छु।

अब राजेश हमालसँगको पनि लफडा छ। तुलसी दाईले २ वर्षपछि अर्को फिल्म ‘देउता’को घोषणा गर्नुभयो। त्यो फिल्ममा पनि तिमीले नै डान्स डिरेक्टरको काम गर्नुपर्छ भन्नुभयो। मैले ठिकै छ भनेर काम गर्ने निधो गरेँ।

यस फिल्मको ‘हुँदैन रेलीमै चट्ट बिर्सन’बोलको गीतको मुमेन्ट गर्न नै ६ महिना लाग्यो। यहि गीतबाट सुरु भएको फिल्म नै प्याकअप भइसक्यो, तर राजेश हमालले एउटा स्टेप गर्न सकेनन्। यति गाह्रो भयो नि यो स्टेप गराउँदा। फिल्मको अन्तिम सुटिङका बेला अलि-अलि पारा त आयो तर पर्फेक्ट भएन।

राजेशलाई संसारका कुनै पनि डिरेक्टरले आफ्नो मुभमेन्ट गराउन सक्दैन। जति मुभमेन्ट दिए पनि नाच्ने आफ्नै पारामा हो।

मैले भारतमा मोर्डन डान्सदेखि क्लासिकल र कथक सबै सिकेर आएँ। यहाँ त कुनै कामै लागेन। म आफैँले बिर्से अलि पछि त। दुई सय वटा फिल्म र पाँच सयभन्दा बढी म्युजिक भिडियोमा काम गर्दा पनि जानेको सबै कुरा प्रयोग गर्न पाइनँ। पछि दिलिप रायमाझी, सुशिल क्षेत्रीहरू आएपछि अलि-अलि त्यो सिकेको कुरा प्रयोगमा आयो।

फिल्म निर्माण
मेरो डान्स मात्र होइन। फिल्मको कथा लेख्ने मेरो सौख पनि हो। म कथा पहिलाबाट नै लेख्थेँ। त्यहि क्रममा ५७ सालमा मैले ‘मुस्कान’भन्ने फिल्म लेखे। यसको युवराज लामा निर्देशक हुनुहुन्थ्यो।

मेरो आफ्नै लगानीमा फिल्म निर्माण गरेको हो। त्यसपछि ‘ख्यालख्यालैमा’भन्ने निर्माण गरेँ। यो फिल्मपछि धेरै जना मिलेर ‘बुहारी’ भन्ने फिल्म निर्माण गरियो।

सुशिल देवकोटालाई अगाडि पारेर ‘सपनाको नौलो संसार’भन्ने फिल्म बनाइयो। गाउँका मान्छे शहर र शहरका मान्छे विदेश जाने लहर चलेको थियो। त्यसैलाई कथा बनाएर निर्माण गरेका थियौँ।

मैले फिल्म लाइन छोडेको त छैन। डान्स डिरेक्टर चाही मेरो पछिल्लो समय एकदमै कम भएको छ। पछिल्लो समय मैले ‘जाँड’भन्ने फिल्म निर्माण गरेको छु। यसको सेन्सर पनि पास भइसकेको छ। अब रिलिजको तयारीमा छु।

असार १९, २०८१ बिहीबार १४:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।