मध्य कालीगण्डकी जलविद्युत आयोजनामा ६ बैङ्कले ११ अर्ब लगानी गर्ने, १२ अर्बमा चार वर्षमा निर्माण सक्काउने तयारी

मध्य कालीगण्डकी जलविद्युत आयोजनामा ६ बैङ्कले ११ अर्ब लगानी गर्ने, १२ अर्बमा चार वर्षमा निर्माण सक्काउने तयारी

काठमाडौँ : हाइड्रो सपोर्ट प्रालीको नेतृत्वमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा बनाउन लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि आवश्यक रकममा सहमति भएको छ।

आईएमई समूहको कम्पनी हाइड्रो सपोर्टको नेतृत्वमा बन्न लागेको जलविद्युत् सहवित्तीयकरणका लागि ६ बैङ्कहरूले लगानी गर्ने भएका छन्।

सहवित्तीयकरणमा बैङ्कहरूको अगुवाइ नविल बैक लिमिटेडले गरेको छ भने एभरेस्ट बैक, नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैक सहभागी भएका छन्। शुक्रवार हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्कको तर्फबाट सहवित्तीयकरणको लिड बैङ्क नबिल बैङ्कका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए।

सहमति अनुसार निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ। इक्विटीमा आईएमई  समूह र सर्वसाधारणको लगानी रहने छ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति भएको छ। यसमा नविल बैङ्कको ३ अर्ब  १२ करोड,  एभरेस्ट बैक र नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरुभई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सो आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेका छ।

सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादनबाट वार्षिक २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ। 

असार ६, २०८१ शुक्रबार १९:२९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।