मानवीय गतिविधि र शहरीकरणले मासिँदै जुनकिरी

मानवीय गतिविधि र शहरीकरणले मासिँदै जुनकिरी

बुटवल : १० वर्षअघिसम्म साँझ पार्नासाथ घरआँगन अनि बगैँचामा देखिने जुनकिरी आजकल सहजै देखिदैननन्। पुच्छरमा उज्यालो छर्दै आहाराको खोजी गर्ने जुनकिरी आज शहरमा हावा, पानी, वातावरण, ध्वनी प्रदूषण र ठूला लाइटका कारण हराउँदै गएका छन्।

अहिले शहरमा चोक तथा बाटाहरूमा ठूला चमकदार विद्युत्तीय बत्ती राख्ने क्रम बढ्दो छ। तर, त्यसले पार्ने दिर्घकालीन प्रभावका बारेमा कतै गम्भिर बहस भएको पाइँदैन।

त्यो चमकदार लाइटले पर्यावरणीय चक्र सन्तुलित राख्ने सबै कीराको बासस्थान उजाड बनाएको जीवजन्तुकै विषयमा वर्षौंदेखि अध्ययन गरिरहेका विज्ञ प्राध्यापक डा. मुकेशकुमार चालिसेले बताए।

‘शहरमा उज्यालो बढ्यो। औद्योगिक घरानाहरू बढे। हाम्रो बासस्थानको क्षेत्र बढ्यो। जसले गर्दा शहरमा जुनकिरी हराउँदै गयो’, डा. चालिसे भन्छन्।

बुटवलमा पनि ठूला चमकदार हाईम्याक्स लाईट जडान हुँदैछन्। चोक-चोकमा आवश्यकता र अध्ययन बिना नै बढी उज्यालो दिने लाइट जडानले गर्दा स-साना जीवको जीवनचक्रमा नै प्रभाव पर्नेतर्फ कसैको ध्यान गएको देखिएन।

तत्कालीन विकासको दिर्घकालीन प्रभाव तर्फ ध्यान नदिँदा अहिले जुनकिरी जस्तै अन्य स-साना प्राणी हराइरहेको उनको भनाइ छ। पहिले खुला रूपमा जंगल र सिमसार क्षेत्रमा हुने प्राणीको बासस्थान मानवीय अतिक्रमणमा परेकाले पनि प्राणीहरू हराउँदै गएको उनको भनाइ छ।

नेपालमा कति प्रजातिको जुनकिरी छन् भन्नेबारे अहिलेसम्म अध्ययन भएको छैन। जुनकिरीले बाल्ने बत्तीको आफ्नै विशेषता रहेको छ। यसले उनीहरूबीच सूचना आद्रानप्रदान हुन्छ। पोथीले बत्ती बालेर भाले जुनकिरीलाई आफूतर्फ आर्कषण गर्छन्।

त्यतिमात्र नभएर आहारा खोज्न पनि जुनकिरीको बत्तीको भूमिका हुन्छ। जुनकिरीको बत्ती देखेर अरू किरा झुम्मिन आउँदा त्यही मौकामा जुनकिरीले त्यसलाई आहारा बनाउने गरेको डा. चालिसे बताउँछन्।

जुनकिरी अहिले शहर सँगसँगै शहरउन्मुख भइरहेका गाउँमा समेत हराउँदै गएका छन्। जुनकिरीका लार्भा पानीका स्रोतमा हुर्कने भए पनि त्यहि पानीका स्रोत मानवीय अतिक्रमणको चेपुवामा परेका छन्। जसले गर्दा लार्भा हुर्कन पाएका छैनन्।

त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका पूर्व प्राध्यापक समेत रहेका चालिसे, मानवले जथाभावी प्रयोग गर्ने रासायनिक पद्धार्थले पनि जुनकिरीको जीवनमा प्रभाव पारेको बताउँछन्।

उनी अगाडि भन्छन्, ‘शहर बजारमा मान्छेको बस्ती बाक्लो भएको ठाउँमा रासायनिक पदार्थको प्रयोग बढी हुन थालेको छ। किटनाशक औषधिको प्रयोग बढेको छ। बोटविरुवामा पनि कम्पोष्ट मलको सट्टामा रासायनिक मलको प्रयोग हुँदा जुनकिरीको आहारामा प्रभाव परेको छ। यीनै कारणले गर्दा उनीहरूलाई जीवनयापन मै समस्या भएको छ।’

प्राकृतिक बासस्थानमा रमाउने, हरियो बातावरण र बालीहरूको फूलमा रमाउने जुनकिरी विषालु चीजबाट प्रभावित भएर पछिल्लो समय संख्यात्मक रूपले ह्रास हुँदै गएको समेत उनको भनाइ छ।

‘हिजोआज फूलहरूमा उनीहरूका बास्तविक बास्ना आउन छाडे। रातरानी, बेलीचमेलीहरू फुल्दा पहिले धेरै बास्ना आउँथ्यो। हिजोआज गमलामा रोपेको विरुवाबाट बास्ना राम्रो आउँदैन। उसले खानेकुरा फलफूलका रस, हरिया बोटविरुवाका रसहरू रासायनिक पद्धार्थबाट प्रभावित भए। जसले उनीहरूको पाचन प्रणाली र टल्कने पद्धार्थको पनि कमि भयो’, उनी भन्छन्।

पहिले जुनेली रातमा जुनकिरी कम देखिने गरेको बताउँदै अहिले शहर बजारमा विभिन्न किसिमका प्रकाश व्यवस्थापनका कारण जुनकिरीको जीवन कष्टमय भएको उनी बताउँछन्। अँध्यारोमा रमाउने जुनकिरी उज्यालो बढी हुँदा जीवन कष्टमय भएको र त्यसले प्राकृतिक आनीबानी परिवर्तन गर्न थालेको उनको भनाइ छ।

साथै मानविय आनीबानी र प्राकृतिक आनीबानी परिर्वतन नगरेमा जुनकिरीहरुको संख्यात्मक ह्रास हुने र लोपहुन सक्ने खतरा रहेको उनको भनाइ छ।

‘हामीले उज्यालो बत्तीहरू बाल्न थाल्यौँ। पानीका स्रोतहरू मास्यौँ। औद्योगिकरण र अव्यवस्थित पूर्वाधारले वायु प्रदूषण गरेका छौँ। यसले जुनकिरी जस्तै अरु किरा शहरबाट हराउँदै गएका छन्’, उनी अगाडि भन्छन्।

शहर क्षेत्रमा फट्याङ्ग्रा, गोब्रेकिरा, बारुला, अरिङ्गाल, पुतली लगाएतका किरा हराउँदै गएको उनी बताउँछन्।

जुनकिरी मांसाहारी किरा हो। यसले चिप्लेकिरा र गँड्यौला खान्छ। कतिले पराग मात्र खान्छन्। जुनकिरीको उमेर छोटो हुन्छ, लार्भाको उमेर १ देखि २ वर्ष सम्मको हुन्छ। डा. चालिसेका अनुसार जुनकिरीले उष्ण मौसम मन पराउँछ।

वातावरणविद् युवराज कंडेल शहरमा जुनकिरी नदेखिनुको प्रमुख कारण जलवायुको प्रभाव मान्छन्। पछिल्लो समय जलवायुको प्रभावले तापक्रम बढ्नुको साथै मौसम चक्रमा आएको परिर्वतनले जुनकिरा जस्तै धेरै स-साना प्राणीहरु हराउँदै गएको उनको धारणा छ।

‘तापक्रम बढ्दा र मौसममा आउने परिर्वतनले उनीहरुको प्रजनन् क्षमतामा ह्रास आउँछ। जसकारण उनीहरूको संख्यात्मक वृद्धि हुन सक्दैन। त्यसै कारणले पनि अहिले शहरमा मात्र होइन, अर्धशहरी क्षेत्रमा पनि जुनकिरी हराउँदै गएको छ’, उनी भन्छन्।

जुनकिरीलाई बचाई राख्न र लोप हुन नदिन बुट्यानहरूलाई बचाउनुपर्ने साथै शान्त वातावरण आवश्यक रहेको उनी बताउँछन्।

‘ध्वनी प्रदूषण बढेको छ। पानी स्वच्छ छैन। बढी चहलपहल र झिलिमिली बत्तीले पनि यसलाई बढी प्रभावित पारेको छ,’ उनी थप्छन्, ‘हामी मानवले उसको बासस्थान अतिक्रमण गरेका छौँ। शहरमा प्रदूषण, चमकदार लाइटले उसको बासस्थानमा असर पुगेको छ। ग्रामीण क्षेत्रमा उसले लिने आहारामा मानिसले विषादीको प्रयोग गर्दा पनि जुनकिरी लोप हुँदै गएको हो।’ 

जेठ ३१, २०८१ बिहीबार १०:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।