आफ्नै समस्याले उद्यमी बनेकी अन्जु, जसले १४ वर्ष साउदी बसेका श्रीमानलाई समेत स्वदेश फर्काइन्

आफ्नै समस्याले उद्यमी बनेकी अन्जु, जसले १४ वर्ष साउदी बसेका श्रीमानलाई समेत स्वदेश फर्काइन्

बुटवल : बजारमा पाइने अनगिन्ती सेनिटरी प्याड महिनावारीको समयमा प्रयोग गर्दा रुपन्देहीको तिलोत्तमा-१ ड्राईभरटोलकी अन्जु थापा क्षेत्रीलाई सधै एलर्जी भयो।

विभिन्न फ्लेवरमा पाउने सेनिटरी प्याड प्रयोग गर्दा कहिले स-साना बिबिरा आउथ्यो भने कहिले असाधारण चिलाउँथ्यो। यसबाट बच्न बजारमा पाइने अनेक ब्राण्डका ‘डिस्पोजेवल सेनिटरी’ प्याडको प्रयोग गर्थिन् उनी। तर, समस्या बीसको उन्नाइस भएन।

त्यसपछि अन्जुले प्याडमाथि सुतीको कपडा प्रयोग गर्न थालिन्। नरम कपडा भए पनि कपडाबाट आउने भुवाले असर गर्न भने छाडेन। विकल्प भए पनि समस्याको समाधान अझै भएन।

उनी समस्या लिएर अस्पताल पुग्दा चिकित्सकले कपडाको प्याड प्रयोग गर्न सुझाउँथे। तर पनि उनलाई हुने एलर्जी कुनै पनि प्याड प्रयोग गर्दा निको भएन। उनले आफ्नो पीडा श्रीमान् प्रकाश जिसीलाई सुनाइन्।

प्रकाश वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा थिए। श्रीमान्ले अन्जुका लागि साउदीबाट महिनावारीमा प्रयोग हुने ‘कटन प्याड’ पठाए। त्यसपछि भने उनलाई चिलाउने र बिबिरा आउने समस्या भएन। पुनः प्रयोग गर्न मिल्ने ती प्याड उनले दुई वर्षसम्म प्रयोग गरिन्।

त्यसपछि अन्जुलाई आफूलाई जस्तै समस्या धेरैलाई भएको हुनसक्ने अनुमान गरिन्। कतिले भन्न सक्छन् त कतिले समस्या लुकाएर आफैँलाई पीडा दिन्छन्। 

अन्जुले सेनिटरी प्याड बनाउने योजना बनाइन्। तर, सामानबारे खासै ज्ञान थिएन। श्रीमान्सँगको सल्लाहमा साउदीबाट लिकेज नहुने, लगाउँदा नरम हुने लगायतका कपडा र सामग्री पठाउन श्रीमान्लाई भनिन्।

श्रीमान् प्रकाशले आवश्यक सामग्री साउदीबाट पठाउन थाले। त्यसपछि अन्जुले १३ हजारको लगानीमा ०७६ बैशाख ८ गते देखि पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउन थालिन्।

‘जब मलाई समस्या सिर्जना भयो। तब समधानका लागि अनेकन उपाय खोजेँ। चिकित्सकको सल्लाह लिए। केही गरे पनि नभएपछि विदेशबाट कपडा मगाएर प्याड बनाएँ। त्यसले समस्या समधान गरेपछि यो उद्यम गर्ने सोच आएको हो’, उनले उकेरासँगको कुराकानीमा भनिन्।

सुरुवाती चरणमा अन्जुलाई प्याड बनाउन सहज थिएन। बच्चा जन्मिएपछि बैंकको जागिर छाडेर घर बसेकी अन्जुले सुरुवातका दिनहरूमा श्रीमान्ले पठाएका प्याड उधार्ने अनि आफैँ सिलाउँथिन् । प्याडलाई कसरी काटेको छ, त्यो पनि ख्याल राख्थिन्।

‘घरभित्र बसेर प्याड कसरी काटेको छ हेर्थेँ। अनि आफैँले सिलाउँथे। यसै गरेरै प्याड बनाउन सिकेँ’, उनले विगत सम्झिइन्।

व्यवस्थापन पढेर केहि समय बैंकमा जागिर गरेकी अन्जुले आफैँलाई परेको समस्याको समाधान खोज्दै उद्यमको बाटो रोजिन्। अहिले उनी तिलोत्तमाको मात्रै नभएर जिल्लाकै सफल महिला उद्यमीको रूपमा चिनिन्छिन्।

अन्जुले बनाउने प्याड एक पटक खरिद गरेपछि २/३ वर्षसम्म प्रयोग गर्न सकिन्छ। प्याडको मूल्य २५० रुपैयाँ पर्छ। अहिले दैनिक ३ सय प्याड उत्पादन भइरहेको अन्जु बताउँछिन्।

उनका अनुसार प्याडको लागि सामान्य कटन कपडा नभई विशेष खालको ‘माइक्रो फिलिष्ट’ कपडा प्रयोग गरिन्छ। जसले मासिक श्राव सोस्ने र बाहिर चुहिनबाट रोक्छ। भित्र पट्टी राखिने माइक्रो फाइबरले रगत सोस्ने मात्र नभएर छिटो सुकाउने काम पनि गर्छ।

‘प्याडको माथिल्लो भागमा राखिने लेमिनेट कटन कपडाले रगत सोस्छ। यसबाट हावा वारपार हुने पनि गर्दछ। जसले गर्दा संमक्रमण हुने, चिलाउने समस्या हुन दिँदैन’, उनले भनिन्।

छैन बजारको समस्या
प्याड उत्पादन सुरु गर्दाका सुरुवाती समयमा प्याड बिक्रीका लागि अन्जुलाई गाह्रो भयो। उनले मेला महोत्सवमा समेत लगेर प्रचार गर्थिन्।

तर, अहिले अन्जुलाई प्याड बिक्री गर्न बजारको कुनै समस्या छैन। उनले उत्पादन गरेको प्याड अहिले अनलाइन र विभिन्न पसलहरूबाट बिक्री हुने गर्छन्।

‘प्याड बिक्रीको लागि अहिलेसम्म बजार सम्म लिएर जानु परेको छैन। फेसबुक, टिकटक, इन्स्टाग्रामबाटै नेपालका विभिन्न जिल्लासँगै विदेशमा समेत अर्डर आउने गरेको छ’, उनले भनिन्।

प्याडका लागि भारत र चीनबाट विशेष खालको कपडा ल्याउने र प्याड बनाउने गरेको अन्जुले बताइन्। आफैँले कपडा काट्ने र सिलाउने गरे पनि बजारीकरणका लागि भने उनलाई श्रीमान् प्रकाशले सघाउँदै आएका छन्।

१४ वर्ष रोजगारीको लागि साउदी बसेका प्रकाश, अन्जुले प्याड उत्पादन शुरु गरेपछि साउदी छाडेर यसैको बजारीकरणमा लागेका छन्।

अबको योजना : प्याडसहितको पेन्टी
अन्जु अब प्याडसहितको पेन्टी बजारमा ल्याउने तयारीमा छिन्। उनले प्याड र पेन्टी महिनावारी हुँदा लगाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न प्याडसहितको पेन्टी नै तयार गर्ने गरी आफू लागेको बताइन्।

‘प्याड नै राखिएको पेन्टी तयार गर्दा महिलालाई सस्तो र सुलभ पर्न जान्छ। यो महिनावारी पेन्टी छिट्टै हामी बनाउँदैछौ’, उनले भनिन्।

उनले ‘अन्जु सेनेटरी प्याड’को नामबाट घरेलु उद्योगमा दर्ता गरि उत्पादन गरिएका प्याडहरू मेडिकल पसलहरूमा समेत दिने गरेको बताइन्। हाल उद्योगमा २५ लाख लगानी भएको छ।

उत्कृष्ट उद्यमीको पुरस्कार
पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाएकी थापा तिलोत्तमा नगरपालिकाकै उत्कृष्ट महिला उद्यमीको रूपमा समेत पुरस्कृत भइन्।

तलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम द्रुतीकरण कार्यक्रममा उनलाई उत्कृष्ठ उद्यमकीको रूपमा सम्मान गरिएको हो।

दायित्वले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा चौथो संस्करणमा ८० महिलाहरूबाट २०-२० महिला उद्यमीबाट सबल १० महिला उद्यमी चयन गरेको थियो। 

जेठ २८, २०८१ सोमबार १०:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।