ट्रमा सेन्टरले खरिद गरेको नौ करोडको मोडुलर ओटीको टेण्डर नै नियम विपरीत, पीपीएमओको सिस्टममै छैन ‘बिड डकुमेन्ट’

ट्रमा सेन्टरले खरिद गरेको नौ करोडको मोडुलर ओटीको टेण्डर नै नियम विपरीत, पीपीएमओको सिस्टममै छैन ‘बिड डकुमेन्ट’

काठमाडौं : खरिद नियमलाई समेत मिचेर राष्ट्रिय ट्रमा सेन्टरले काठमाडौंको ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि’सँग नौ करोड ७८ लाख १८ हजार मोडुलर अप्रेटिङ थिएटर (ओटी) खरिद गर्ने निर्णय गरेको खुलेको छ। सो मोडुलर ओटी ट्रमा सेन्टरमा अहिले जडानको क्रममा रहेको छ।

बोलपत्र आह्वानको कागजात सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा सार्वजनिक गर्नुपर्ने हुन्छ। तर, ट्रमा सेन्टरले २०७९ चैत सातमा नौ करोड ७८ लाख भन्दा बढी रकमको मोडुलर अप्रेटिङ थिएटर (ओटी) खरिद तथा जडान गर्नेगरी गरेको टेण्डरको कागजात पीपीएमओको सार्वजनिक विद्युतीय प्रणालीमा भेटिँदैन।

पीपीएमओको प्रणालीमा ट्रमा सेन्टरका अन्य विभिन्न टेण्डर कागजात छन्। तर, यो मोडुलर ओटीको टेण्डरको कागजात भने पीपीएमओको प्रणालीमा नदेखिनु गम्भीर शंकाको विषय हो।

यो मोडुलर ओटीको खरिद प्रक्रिया खरिद मिलेमतोमा पटक-पटक मुछिएका विवादित डा. रुद्रप्रसाद मरासिनी नै ट्रमा सेन्टरको प्रमुख भएको समयमा अघि बढेको थियो। केही हप्ताअघि मात्रै उनी पुन ट्रमामा प्रमुख भएर आएका छन्। 

खरिद प्रक्रिया पूरा भएर सप्लायर्स कम्पनी म्याक्सिमले २०८० फागुन २९ गते दुई करोड ९३ लाख ४५ हजार रकम समेत लगिसेकेको उकेरालाई प्राप्त तथ्यमा देखिएको छ। जुन मोडुलर ओटीको कुल रकमको ३० प्रतिशत हो। 

सार्वजनिक खरिद अनुगमन कार्यालयका सह-सचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्मा ‘ई-बिडिङ’ हुनुपर्ने बताउँछन्।

‘ई-बिडिङमा गर्नुपर्छ भनेको छ कानूनमा, त्यसलाई मान्नुपर्छ,’ उनले भने, ‘पहिले (टेण्डर) हो भने त सिस्टममा देखिनुपर्छ। त्यो (पीपीएमओको विद्युतीय प्रणालीमा) अपलोड हुनुपर्छ। पीपीएमओको सिस्टममा कहिलेकाहिँ हाइड भएर बस्न सक्छ।’

त्यसैले सिस्टम हेर्ने पीपीएमओका कर्मचारीसँग यो विषयमा जानकारी लिन उनले अनुरोध गरे। पीपीएमओका प्राविधिक कर्मचारीसँग ट्रमाको मोडुलर ओटीको कागजात (बिड डकुमेन्ट) किन नदेखिएको हो? भन्ने विषयमा हेरिदिन उकेराले अनुरोध गर्यो।

तर, पीपीएमओका एक प्राविधिकतर्फका कर्मचारीले ट्रमा सेन्टरको मोडुलर ओटीका टेण्डर कागजात (बिड डकुमेन्ट) खोज्दा पीपीएमओको प्रणालीमा अपलोड नभएको देखिएको जानकारी दिए।

‘१८ नम्बर पनि देखिन्छ। २१ नम्बर पनि देखिन्छ। त्यो १९ चाहिँ खै किन देखिएन,’ पीपीएमओका एक प्राविधिक कर्मचारीले भने, ‘नदेखिनु भनेको एउटा कारण रद्द गरेर नयाँ गरेको हुनुपर्यो अथवा अरु टेक्निकली केही थियो की भन्ने कुराचाहिँ अझै हेर्नुपर्ने हुन्छ। ठ्याक्कै यसै हो भन्न सकिएन।’

ट्रमा सेन्टरले खरिद गरेको मोडुलर ओटीको टेण्डर एक पटक रद्द गरेर पुन गरेको टेण्डर हो। त्यो पुनः गरेको टेण्डर कागजात पीपीएमओको विद्युतीय प्रणालीमा देखिएको छैन। ट्रमा सेन्टरले २०७९ चैत सात गते टेण्डर गरेको मोडुलर ओटीको ‘एनसीबी नम्बर-१९’ र टेण्डर नम्बर ‘एनटीआरसी/जी/एनसीबी/१९-०७९-८०’ उल्लेख भएको टेण्डर कागजात (बिड डकुमेन्ट) पीपीएमओको विद्युतीय प्रणालीमा नदेखिएको हो।

यस्तो भएको थियो खेल
राष्ट्रिय ट्रमा सेन्टरले मोडुलर अप्रेटिङ थियटर (मोडुलर ओटी) खरिद तथा जडान (सप्लाई, डेलिभरी एण्ड इन्स्टलेशन) गर्नेगरी २०७९ चैत सात गते टेण्डर आह्वान गरेको थियो।

राष्ट्रिय ट्रमा सेन्टरले यति ठूलो रकमको मोडुलर ओटीको टेण्डर आह्वान गर्दा प्रि-बिड मिटिङ राख्नुपर्थ्यो तर प्रि-बिड मिटिङ नै राखेन। ट्रमा सेन्टरले मोडुलर ओटीका लागि २०७९ चैत सात गते आह्वान गरेको टेण्डर कागजातमा भनिएको छ, ‘प्रि-बिड मिटिङ स्याल नट बी हेल्ड।’

तर, सार्वजनिक खरिद अनुगमन कार्यालयका सह-सचिव तथा प्रवत्ता विष्णुप्रसाद शर्मा पुनः टेण्डरमा पनि प्रि-बिड मिटिङ गर्नुपर्ने बताउँछन्।

एउटा टेण्डर रद्द भएर पुनः भएको टेण्डरमा प्रि-बिड मिटिङ आवश्यक हुन्छ की हुँदैन? भन्ने उकेराकर्मीको जिज्ञासामा प्रवक्ता शर्माले भने, ‘हुन्छ, आवश्यक हुन्छ। पुनः टेण्डर गर्ने भनेको त फेरी नयाँ नै हो नी त।’

‘डकुमेन्टमा प्रिबिड मिटिङ गर्नुपर्छ भनिएको छ, त्यो चाहिँ त्यो संस्थाले जान्ने कुरा हो’, पीपीएमओका प्रवक्ताले भने।

प्रि-बिड मिटिङ राख्नुपर्ने तर प्रि-बिड मिटिङमा सप्लायर्स तथा फर्म नआएकै कारणले भने खरिद प्रक्रिया नरोकिने उनले बताए। ट्रमा सेन्टरले मोडुलर ओटीको खरिद प्रक्रियामा त प्रि-बिड मिटिङ नै नराखेको सवाल हो।

‘प्रि-बिड मिटिङ’मा सप्लायर्सहरूलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। सप्लायर्सले स्पेशिफिकेशन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्था (ट्रमा सेन्टर)ले स्पेशिफिकेशन संशोधन गर्न सक्थ्यो। तर, ट्रमा सेन्टरले त प्रि-बिड मिटिङ नै नराखेपछि सप्लायर्सहरूले आफ्नो भनाइ राख्ने मौकासमेत पाएनन्।

यसबाट नै ट्रमा सेन्टरले निश्चित कम्पनिसँगमात्रै मिल्नेगरी कमिशनको खेलमा प्राविधिक स्पेशिफिकेशन बनाएको देखिएकाले अन्य सप्लायर्स कम्पनीको माग सम्बोधन गर्नै नचाहेको प्रष्टै देखिन्छ। प्रि-बिड मिटिङ नगरी थप खरिद प्रक्रिया नै अगाडि बढाउन नमिल्ने अवस्थामा प्रि-बिड मिटिङ नै नगरी मोडुलर ओटीको खरिद प्रक्रिया अगाडि बढाउनुले नै सेटिङको जालो प्रष्ट हुन्छ।

ट्रमा सेन्टरले २०७९ चैत २२ गते सम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेण्डर खुल्ने मिति तोकिएको थियो।

प्राविधिक र आर्थिक दुवै चरणमा म्याक्सिम मात्रै छनोटमा
प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेण्डर दिइन्छ र निश्चित प्रक्रिया पूरा गरेपछि टेण्डर पाउने कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ।

ट्रमा सेन्टरले मोडुलर ओटीको टेण्डरको प्राविधिक र आर्थिक दुवै चरणमा म्याक्सिमलाई मात्रै छनोट गर्दै उसैलाई टेण्डर दिने निर्णय गरेर २०८० जेठ १९ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको थियो।

ट्रमा सेन्टरले सो मोडुलर ओटीको खरिदका लागि ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि., काठमाडौं’ले पेश गरेको बोलपत्रलाई नै प्राविधिक रुपमा छनोट गर्दै २०८० वैशाख २६ गते आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सूचना जारी गरेको थियो।

सो आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचनामा ट्रमा सेन्टरले ‘२०७९ चैत सातमा पत्रिकामा प्रकाशित पुनः बोलपत्र आह्वानको सूचना अनुसार ई-विडिङमार्फत दर्ता हुन आएका बोलपत्रहरूको प्राविधिक प्रस्ताव २०७९ चैत २२ मा खोलिएको’ जनाएको छ।

ट्रमा सेन्टरले सो आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचनामा ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि.’ले पेश गरेको बोलपत्रको प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही देखिएको भन्दै २०८० जेठ दुई गते १२ बजे आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सूचना जारी गरेको थियो।

ट्रमाले प्राविधिक र आर्थिक दुवै चरणमा म्याक्सिमलाई नै छनोट गरेपछि मोडुलर ओटीको टेण्डर उसैलाई दिने निर्णय गर्दै २०८० जेठ १९ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको थियो।

ट्रमाले म्याक्सिमलाई छान्दै जारी गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सो सूचनामा ‘प्राप्त हुन आएका बोलपत्रहरुमध्ये म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि.को बोलपत्र न्यून मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि छनोट भएको उल्लेख छ।

उकेरालाई प्राप्त तथ्य अनुसार एक सप्लायर्स कम्पनीले २०८० वैशाख सात गते मोडुलर ओटीको सो टेण्डर नम्बर ‘एनटीआरसी/जी/एनसीबी/१९-०७९-८०’ भएको बोलपत्रको आर्थिक प्रस्ताव खोलेर म्याक्सिमलाई नै टेण्डर दिएको प्रति असहमति जानाउँदै ट्रमा सेन्टरमा उजुरी समेत दिएको देखिन्छ।

‘बोलपत्रदाता म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि.को मात्र प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको जानकारी पाएकोमा, हाम्रो...के कति कारणले अनुत्तीर्ण भएको हो? त्यहाँ सेन्टरबाट जारी भएका बोलपत्र कागजात, स्वीकृत स्पेशिफिकेशन, मूल्याङ्कनका आधारहरू अनुसार हाम्रो फर्म पूर्ण रूपमा सबल र सक्षम रहेको थियो’, एक सप्लायर्स कम्पनिले ट्रमालाई सम्बोधन गरेर लेखेको निवेदनमा उल्लेख छ।

बोलपत्रको प्राविधिक प्रस्ताव खोल्ने क्रममा समेत जानकारी नपाएकाले जानकारी पाउन अनुरोध गर्दै एक फर्मले ट्रमालाई पत्र लेखेको देखिन्छ।

‘हामीले त्यहाँबाट माग भए बमोजिमको सम्पूर्ण कागजात र स्पेशिफिकेशन अनुसारकै दुरुस्त मिल्नेगरी सामान दिने प्रस्ताव राखि बोलपत्र पेश गरेकोमा हाम्रो फर्म अनुत्तीर्ण गरी बाँकी एउटै फर्मलाई मात्र उत्तीर्ण गरेको’ एक सप्लायर्स कम्पनीले ट्रमालाई लेखेको पत्रमा उल्लेख छ।

सो एक सप्लायर्स कम्पनीले सारभूत रूपमा प्रभावग्राही हुँदा-हुँदै प्राविधिक प्रस्तावमा नै अनुत्तीर्ण गर्ने निर्णय खारेज गरी बोलपत्र पुनरावलोकन गर्नुपर्ने माग राखेको समेत देखिन्छ।

‘१५ दिने पुनः बोलपत्र गर्दा स्पेशिफिकेशनमा फेरबदल गर्न नहुनेमा स्पेशिफिकेशन नै फेरबदल गरिएको र प्रि-बिड मिटिङ समेत नगरिएको’ एक सप्लायर्स कम्पनीले ट्रमा सेन्टरलाई लेखेको निवेदनमा उल्लेख छ। उकेरालाई प्राप्त तथ्य अनुसार सो सप्लायर्स कम्पनीले आर्थिक प्रस्ताव खुलुवामा भाग लिन पाउनेगरी सो खरिद कार्यको बोलपत्र पुनरावलोकनको माग गर्दै ट्रमा सेन्टरलाई २०८० जेठ ५ गते समेत निवेदन दिएको देखिन्छ।

ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीसँग मोडुलर ओटीका विषयमा कुरा गर्न पटक पटक उकेराकर्मीले सम्पर्कको प्रयास गर्यो। सो विषयमा समाचार तयार गरिरहेकाले यस विषयमा थप जानकारीका लागि फोन उठाउन अनुरोध गर्दै शुक्रबार बेलुका उकेराकर्मीले उनलाई म्यासेज गर्यो। तर उनको फोन उठेन।

अन्तर्राष्ट्रिय बोलपत्रलाई निषेध
ट्रमा सेन्टरले यति ठुलो रकमको मोडुलर ओटीको टेण्डर आव्हान गर्दा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ (आईसीबी) को साटो ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) गर्यो।

यस्ता मेसिन, औजार तथा उपकरण सम्बन्धित उत्पादन कम्पनीलाई अर्डर दिएर नेपाल ल्याउन मात्रै पनि टेन्डर पारेको समयपछि तीन महिनासम्म लाग्ने देखिन्छ। ट्रमा सेन्टरले एनसीबी खरिद विधि अपनाई मोडुलर ओटीको टेण्डर गरेर सामान उपलब्ध गराउन दिइएको छोटो समयले ती सामानहरू पहिल्यै ल्याएर सप्लायर्सले स्टक राखेको समेत अनुमान लगाउन सकिन्छ।

यसले समेत टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणबाटै म्याक्सिमलाई नै टेण्डर दिने पक्का गरेर आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै सामग्री नेपाल भित्र्याएर स्टक राखेको हुनसक्ने देखिन्छ। जुन थप खोजको विषय हो। यसरी खरिदमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर राष्ट्रिय प्रतिष्पर्धामा मात्रै खुम्च्याउनुले समेत चाहेकै कम्पनीलाई दिनेगरी सेटिङ गरेर मोडुलर ओटीको टेण्डर प्रक्रिया अगाडी बढेको प्रष्ट हुन्छ।

ट्रमा सेन्टरको सो मोडुलर ओटी खरिदमा भएको अनियमितिताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा उजुरी समेत परेको तथ्य उकेरालाई प्राप्त भएको छ। उजुरीमा सप्लायर्स कम्पनि म्याक्सिमले स्पेशिफिकेशनमा कबुल गरेको मापदण्ड  विपरित मोडुलर ओटी जडान भइरहेको उल्लेख छ।

जेठ २६, २०८१ शनिबार ०८:३८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।