'विश्वमै लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन'

'विश्वमै लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्।

सोमबार नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका हुन्।  

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए। 

‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ। तर, यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ उनले भने।  

नेता डा.कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाइ छ। 

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ डा.कोइरालाले भने। 

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताए। संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने भन्दै यहीँ व्यवस्थालाई थप सुद्दढ बनाउनुपर्ने उनको तर्क छ। 

जेठ १४, २०८१ सोमबार १८:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।