फिल्म समीक्षा ‘फर्की फर्की’ : कमजोर पटकथामा अनमोलको बलियो कमब्याक

फिल्म समीक्षा ‘फर्की फर्की’ : कमजोर पटकथामा अनमोलको बलियो कमब्याक

छड्के २ को असफलतापछि के अनमोल केसी अभिनय र फिल्म चयनमा सुध्रिएलान्? यी दुवै प्रश्नको उत्तर एकै फिल्म फर्की फर्की बाट दिन आवश्यक थियो उनलाई। हुन पनि फिल्म 'फर्की फर्की'मा अनमोल अभिनयका दृष्टिमा सफल भए तर पटकथाले धोका दियो। उनले अभिनय त सुधारे तर फिल्मको पटकथा कसिलो नहुँदा पूर्ण सफल भने हुन सकेनन् उनी।

टाइम लुप अर्थात् रिवाइन्ड एन्ड रिस्टार्ट भएझैँ ओभर एक्टिङबाट वाक्क बनाउने शैलीबाट पछि हटेर अनमोलले अभिनय क्षमता रिस्टार्ट गरेका छन् फिल्म फर्की फर्की बाट। फिल्मले घमन्डले जीवनलाई कतिसम्म नरक बनाउन सक्छ भन्ने सन्देश बोकेको छ नै, सायद अनमोलले वास्तविक जीवनमा पनि यो अनुभव गरेझैँ देखिन्छ।

तर एकातिर टाइम लुपको प्रयोग अनि अर्कोतिर अधिक मेलेड्रामाका कारण फिल्मको पटकथा भने चाउचाउ जेलिएजस्तै जेलियो। नेपाली फिल्मी क्षेत्रको दिर्घरोग कमजोर पटकथाबाट यो फिल्म पनि मुक्त हुन सकेन। यसले फिल्मलाई बलियो बन्नबाट भने रोक्यो।

फिल्मको मुख्य कथा माधव बस्नेत (अनमोल केसी म्याडी), सायरा (जसिता गुरुङ) , उनको साथी सुभाष (रवि काफ्ले)र सुजी (समृद्धि अर्याल)कै वरिपरि घुमेको छ।

सन्की र मनमौजी म्याडी, उसको हरेक गल्तीमा साथ दिने सुभाष, सायरा अनि समृद्धिकै वरिपरि फिल्मको कथा घुमेको छ।

फिल्मलाई  भव्य देखाउन निर्माता र निर्देशकले मिहेनत गरेका छन् । तर पहिलो हाफबाटै फिल्मको पटकथाले समस्याहरू थुपार्न थाल्छन्। यो दोस्रो हाफसम्म पनि निरन्तरै रहन्छ।

फिल्मको कथा दर्शकले सहजै अनुमान गर्न सक्छन्। तर फिल्मको अन्त्यमा निर्देशकले दर्शकलाई राम्रै सर्प्राइज दिएका छन्।

टाइम लुपको प्रयोगमा निर्देशक सुयोग गुरुङ सचेत देखिन्छन्। तर केही ठाउँमा भने दर्शकलाई झ्याउँ लाग्न सक्छ। सिनेमाटोग्राफी राम्रो छ फिल्मको।

ब्याकग्राउन्ड म्युजिक, कलरिङ, सङ्गीत, कोरियोग्राफी तारिफयोग्य नै देखिन्छ। एक्सनमा अष्ट महर्जनले नयाँ प्रयास गरेको फिल्ममा अनुभव हुन्छ। भिएफएक्स गतिलो छ। म्याडीलाई बेलुनसँग उठाएको सिनको भिएफएक्समा हल्का समस्या देखिए पनि दर्शकलाई बिझाउने तहको छैन।

अभिनयका हिसाबमा कलाकारहरूमाथि खोट लगाउनुपर्ने ठाउँ कमै देखिन्छ। प्राय ओभर एक्टिङबाट ग्रस्त देखिने अनमोलले तारिफयोग्य अभिनय गरेका छन्। अनमोलको चरित्रलाई भव्य बनाउँदै उनका फ्यानलाई लोभ्याउन निर्देशकले राम्रै मिहेनत गरेका छन्।

जसिताको चरित्र चित्रण केही कमजोर देखिन्छ। आत्मनिर्भरताबाट उनी परनिर्भरतातिर सिफ्ट भएकी छिन्। उनको चरित्रलाई बलियो बनाउन सकिने प्लटहरू फिल्ममा प्रशस्तै देखिन्छन्। तर अभिनयका दृष्टिमा उनले पनि गुनासो गर्ने कमै ठाउँ छाडेकी छिन्। उनलाई क्युट देखाउन निर्देशकले राम्रै मिहेनत गरेका छन्। यो फिल्मले जसिताको फ्यान फलोइङ बढ्ने पक्का छ।

प्राय अनमोलको साथीको अभिनयमा सलोन बस्नेत ब्रान्ड बनिसकेका थिए। यो पटक उनको ठाउँमा रवि काफ्ले आएका छन्। तर कतै पनि सलोन सम्झने ठाउँ छाडेका छैनन् उनले। उनको अभिनय ठिक देखिएको छ। सुजी बनेकी समृद्धि अर्यालले पनि बिझाउने अभिनय गरेकी छैनन्।

यो फिल्मको मुख्य समस्या घर चैँ भव्य रंगरोगनको तर रित्तो कोठा जस्तै बनायो पटकथाले। टाइम लुपसँगै नेपाली मेलोड्रामा मिसाउँदै फिल्म अगाडि बढ्दा पटकथा कता हो कता बरालिन पुग्छ।

मेलोड्रामाका केही सिनका फ्रेमहरू पहिल्यै कतै हेरिसकेको अनुभव हुन्छ। टाइम लुपको कथामा बनेको फिल्म 'ग्राउन्ड हग डे' बाट कथा चोरिएको आरोपबाट जोगिन पात्रबाटै फिल्मको नाम बोलाएर जोगिएका छन्। दुवै फिल्मको कथ्य शैली अलग बनाउन मिहेनत गरेका छन् निर्देशकले।

फिल्मका कतिपय फ्रेमहरुबीचमै सम्बन्ध देखिँदैन। यसको अर्को कमजोर पक्ष संवाद हो। फिल्म हेर्दा पात्रहरू संवाद बोलेर हिँडिहाल्न हतारिएका जस्तो देखिन्छन्।

जसिता र अनमोलबीचको संवाद नै कमजोर छ। यी दुवैको संवादको कमजोरीले दर्शकलाई उनीहरुबीचको सम्बन्धमा कनेक्ट हैन डिस्कनेक्ट गराउँछ बेलाबखत।

कुन पात्रको चरित्र किन त्यस्तो ? त्यो नबुझाई दर्शकहरू एकै पटक फिल्मका पात्रहरूसँग कनेक्ट हुन सक्दैनन्। त्यसका लागि पात्रको ब्याकग्राउन्ड स्टोरी त चाहिन्छ नै। तर यसमा निर्देशकले वास्तै गरेका छैनन्। जसले पात्रहरूसँग दर्शक मुस्किलले कनेक्ट हुन्छन्।

अङ्ग्रेजी संवादको अधिक प्रयोग गरेका छन् निर्देशकले। चुरोट र किस सिन मात्र अहिलेका युवा दर्शकको खोजीको विषय हो र!

दर्शकले फिल्मको कथा कसरी बगिरहेको छ भन्ने भेउ पाउन मिहेनत गर्नैपर्छ। पटक-पटक फिल्मबाट ध्यान हट्छ दर्शकको। म्याडीको पटक पटक जन्मदिन मनाइन्छ। तर निर्देशकले कुन कतिऔँ जन्मदिन खुलाउन चासो दिएका छैनन्।

खुसीहुँदै घुम्न हिँडेका पात्र भिरबाट खसेर फिल्मका अन्य पात्र रुँदा दर्शकको मन चस्स गराउन सकेका छैनन् निर्देशकले। मलामी गएका सबैले सेतो कपडा लगाएका छन्। भारतीय फिल्मी दृश्यको प्रभाव कति परेको रहेछ निर्देशकलाई  भन्ने प्रमाण यो पनि हो।

फिल्मका निर्माताले फिल्मलाई भव्य बनाउन लगानीमा कन्जुस्याइँ गरेका छैनन्। मस्त खर्च गरेका छन्। लगानीमा जति उदार भए पटकथामा त्यति नै कठोर बनेको भए टाइम लुपको नयाँ प्रयोग भएको पहिलो फिल्म भनेर क्रेडिट पाए जस्तै 'बलियो फिल्म'को क्रेडिट पनि पाउन सक्थ्यो निर्माण टिमले।

तर पटकथामा बरालिँदा त्यो क्रेडिट पाउनबाट फिल्म निर्माण टिम चुक्यो। अभिनय, क्यामरा वर्क अनि सम्पादनका दृष्टिले बलियो फिल्म बने पनि पटकथाका कारण मध्यम बन्यो 'फर्की फर्की'।

१३ जेठ, २०८१, १४:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।