कर्णालीमै पहिलो पटक वातावरणमैत्री इँटा उद्योग सञ्चालन

कर्णालीमै पहिलो पटक वातावरणमैत्री इँटा उद्योग सञ्चालन

सुर्खेत : कर्णाली प्रदेशमै पहिलो पटक कोरियन प्रविधिद्वारा वातावरणमैत्री आधुनिक इँटा उद्योग सञ्चालन गरिएको छ।

अगस्त्य ब्रिक एण्ड टायल उद्योगले वीरेन्द्रनगर-२ भुरेलीमा १० करोडको लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको हो।

उद्योगले वैशाखबाट स्थानीय कच्चा पदार्थको रूपमा रातो माटो र सिमेन्टसहित अन्य रासायनिक पदार्थबाट स्वचालित विद्युतीय उपकरण मार्फत इँटा उत्पादन गर्दै आएको छ।

विदेशी प्रविधि र नेपाली जनशक्ति मार्फत दैनिक उत्पादन भएकोे इँटा अन्य इँटाभन्दा दोब्बर बलियो हुने उद्योगका सञ्चालक उद्योगका सञ्चालक निरक केसीको दाबी छ।

‘अन्य इँटाभन्दा दोब्ब बलियो र मूल्य पनि सोही बराबर छ। अहिले अन्य इँटा १८ रुपैयाँमा सुर्खेतसम्म आउँछ। हामीले यहि १८ रुपैयाँमा यो इँटा दिएका छौं,’ सञ्चालक केसीले भने, ‘यसको फिनिसिङ्ग पनि आर्कषक भएकोले पलाष्टर पनि गर्नु पर्दैन।’

मेसिनरी आर्कषक फिनिसिङ्गका कारण पलाष्टर नगर्दा ग्राहकलाई २० देखि ३० प्रतिशतसम्म लागत कम हुने सञ्चालक केसीको भनाइ छ। उनका अनुसार उत्पादन आधुनिक विद्युतीय प्रविधिबाट गर्दा धुवाँरहित हुने र त्यसले वातावरण बचाउमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।

‘विद्युतीय टनेल मार्फत स्थानीय माटो, नेपालमै बनेको सिमेन्ट र केमिकल मार्फत इँटा उत्पादन हुन्छ। अन्य इँटा जस्तो भट्टा नै खोलेर धुँवा हुँदैन,’ केसीले भने, ‘कोइला पनि बाहिरबाट ल्याउन परेन। कामदार पनि ल्याउन परेन। हरेक दृष्टिकोणबाट यसको फाइदा नै फाइदा छ।’

उद्योग सञ्चालक केसीले यो उद्योगका लागि घाम पानी कुनैले पनि प्रभाव नपार्ने भन्दै १२ महिना नै सञ्चालनमा ल्याउन सकिने बताए। उनका अनुसार एकपटक मेसिनमा हालिएको कच्चा पदार्थले पाँच सय वटा इँटा उत्पादन हुन्छन्। उत्पादन भएका इँटालाई मौसम अनुसार सुख्खामा पानी राख्ने र वर्षामा प्लाष्टिकले छोप्ने गरिएको छ।

कम्पनीले ९० प्रतिशत माटो, ९.८ प्रतिशत सिमेन्ट र ०.२ माटो स्टेबलाइजरको मिश्रणबाट स्वचालित मेसिनबाट इट्टा उत्पादन गर्ने गरेको छ। यस्तो इँटा उद्योग वातावारणमैत्री, सानो जग्गामा सहजै उत्पादन हुने र ध्वनी प्रदूषण पनि कम गर्छ।

कोरियन प्रविधिको प्रयोगबाट स्वचालित मेसिनबाट प्रतिघण्टा तीन हजार इँटा उत्पादन गर्ने सकिने कम्पनीले बताएको छ। १० कट्ठा जग्गामा फैलिएको उद्योगमा १२ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय कामदारहरुलाई भारतबाट प्रशिक्षक ल्याएर तालिम दिइएको छ।

यो प्रदेशमा पुर्वाधार विकासका लागि यस्तो प्रविधिको आवश्यकतालाई मध्यनजर गर्दै उद्योग स्थापना गरिएको सञ्चालक केसीको भनाइ छ।

‘अहिले यो इँटाको विशेषताका बारेमा नागरिकले जानकारी पाएपछि अर्डर धेरै आएको छ। कर्णालीसहित, लुम्बिनी र सुदुरपश्चिममा समेत यसको बजारीकरण गर्नेगरी तयारी थालेका छौं,’ उनले भने।

जेठ १३, २०८१ आइतबार ११:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।