भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौँ : भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।

प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो। बिबिसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्।

‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डिएनए परीक्षणको तयारी भइरहेको छ,’ बिबिसीले लेखेको छ।

शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो। अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्ट सर्किटका कारण आगलागी भएको जनाइएको छ। तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन।

त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

जेठ १३, २०८१ आइतबार १०:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।