देउवा फकाउन बुढानीलकण्ठ पुगे प्रचण्ड

देउवा फकाउन बुढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग वान टु वान वार्ता गर्न देउवा निवास बुढानीलकण्ठ गए।

आइतबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानीलकण्ठ पुगेका हुन्। उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउने विषयमा देउवासँग द्विपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबिच टीओआर टुङ्गो लगाएर संसद्मा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहेमनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन।

यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुङ्गो लगाउने जिम्मा कार्यदले शीर्ष नेताहरूलाई छाडेको छ।

शनिवार साँझ उक्त विषयमा शीर्ष नेताहरूबिच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरी हिजोको बैठक सकिएको थियो। तर, शीर्ष नेताहरूबिचको बैठक बस्नुअघि नै दाहाल देउवासँग सहमतिका लागि बुढानिलकष्ठ पुगेका छन्। 

आज संसद् बैठक अघि  शीर्ष नेताहरूले सो विषयमा सहमति जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ।

जेठ १३, २०८१ आइतबार १०:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।