बन्जर जमिनलाई अध्ययनको थलो बनाएका नुरुद्दीन, २० करोड लगानीमा ‘नमुना अर्गानिक फर्म’

बन्जर जमिनलाई अध्ययनको थलो बनाएका नुरुद्दीन, २० करोड लगानीमा ‘नमुना अर्गानिक फर्म’

बुटवल : १३ वर्षअघि रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ कलुवामा झाडी नै झाडी थियो। खेतिपाती गर्न मुस्किल थियो। बयर, कडीपत्ताको झाडी देख्दा केही गरौँ भन्ने आट समेत कसैलाई थिएन।

तर, १३ वर्षपछि अहिले कलुवाको मुहार फेरिएको छ। कुनै बेला झाडीले आँखा लगाउन समेत हिचकिचाउने ठाउँमा अहिले ‘नमुना अर्गानिक फर्म’ छ। ९० प्रतिशत भन्दा बढी जंगलले ढाकिएको कुलवामा अहिले ‘शाह कृषि फर्म’ छ। यहि फर्म अहिले धेरै रिर्सचरहरूमा लागि अध्ययनको थलो बनेको हो।

बन्जर जमिनलाई अध्ययनको थलो बनाउने व्यक्ति हुन्, रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ का नुरुद्दीन शाह। उनकै अथक मेहनत, परिश्रम, काम प्रतिको लगावले आज कलुवामा प्रदेशकै ‘नमुना अर्गानिक फर्म’ तयार भएको छ।

रुपन्देही र लुम्बिनीबाट मात्र होइन, पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका कृषकहरू उनको फर्ममा अध्ययन र अवलोकनका लागि आउने गर्छन्।

नुरुद्दीन शाह बुटवलमै हुर्के अनि बढे। शहरिया जीवन देखे र भोगे पनि। तर, उनमा सानैदेखि कृषि कर्ममा लगाव राख्थे। फलफूल तथा तरकारीको व्यवसायमा उनको परिवार जोडिएको थियो।

व्यवसायमा जोडिए पनि परिवार कृषिमा भने त्यति ध्यान दिएको थिएन। नुरुद्दीन आफैँलाई कृषि कर्म गर्न मन थियो। त्यसपछि उनी आफैँले योजना बनाए।

शुद्धोधन कलुवामा उनको केही जग्गा थियो भने पछि केही थपे पनि। जग्गा किन्दै बढाउँदै कृषिमा लागेका नुरुद्दीनले अहिले २० विघा क्षेत्रफलमा फर्म निर्माण गरेका छन्।

एक विघाबाटै कृषि सुरु गरेका नुरुद्दीनले अहिले २० विघा क्षेत्रफलमा नलगाएको र नफलाएको केही छैन।

‘आफूसँग जति जग्गा थियो। त्यसैबाट सुरु गर्दै अगाडि बढेको हो। जति आम्दानी भयो। जग्गा थप गर्दै लगेँ। अहिलेसम्म पनि फर्ममा लगानी भइरहेको छ’, उनले भने।

शाहका अनुसार अहिलेसम्म फर्ममा २० करोडभन्दा बढी लगानी भइसकेको छ। यो लगानी वर्षेनी बढ्दै गइरहेको छ। उनको फर्ममा तरकारी, फलफूल, पशुपंक्षी पालन, खाद्यान्न उत्पादन, माछा छ।

तराईमा पनि सुन्तला लटरम्मै फलाएका छन्। नपाइने केहि छैन। २५ सय त आँपका बोट मात्र छन्। २० विघाको फर्ममा २८ प्रकारका मात्र फलफूल नरुद्दीनले लगाएका छन्। त्यस्तै २० प्रकारका तरकारी उनको फर्ममा अहिले पनि छ।

नरुद्दीन शाहले फर्मममा कुनै पनि विषादी प्रयोग नभएको बताउँछन्।

‘कुनै पनि रासायनिक विषादी हामीले प्रयोग गरेका छैनौँ। हामीलाई आवश्यक पर्ने मल आफैँ उत्पादन गरेका छौँ। त्यसैले फर्मलाई अर्गानिक भनेका हौँ’, उनले भने।

कुनै पनि रोग वा किरा लागेमा गाइभैँसीको मलजललाई औषधिको रूपमा प्रयोग गर्दै आएको उनको भनाइ छ। फर्ममा १२ महिना केही न केही वस्तु उत्पादन हुने उनी बताउँछन्।

‘कुनै पनि महिना उत्पादन भएन भन्ने हुँदैन। यहाँ जे-जे लगाइएको छ। त्यो प्रत्येक महिना केही न केही उत्पादन हुन्छ। त्यसलाई आफैँ बजारिकरण गर्छौँ’, उनले थपे।

उनले उत्पादन गरेका फलफूल, तरकारी व्यापारीलाई सिधा बिक्री गर्दैनन्। व्यापारीबाट बिक्री गर्दा उपभोक्तालाई र आफू दुवैलाई नोक्सान हुने भएपछि उनी आफैँले बिक्री गर्ने गरेका छन्।

फर्ममा अहिले ६० भैंसी, ७० बाख्रा, १५ भेडा, ६० खरायो र पाँच सय हाँस छन्। २० विघा क्षेत्रफलमध्ये ३ विघा क्षेत्रफल पशु चौपायाहरूका लागि चरण क्षेत्रको रूपमा छुट्याएका छन्। एक विघामा पशुहरूकै लागि घाँस खेती समेत गरेका छन्।

कुखुरा, हाँस, राज हाँस, लौकाट, परेवा, कालिज, बटटाई, टर्की फाममा नरुद्दीनले पालन गरेका छन्। मौरी र गड्यौला मल पनि फर्ममा छ। सिजन अनुसार २ विघा क्षेत्रफलमा खाद्यान्न मकै, गहुँ, धान लगाउने गरेका छन्। ६ विघामा उनले सिजन अनुसारका सबै प्रकारका तरकारी उत्पादन गर्ने गरेका छन्। फलफूल मात्र १५ विघामा २८ प्रकारका लगाएका छन्।

आँप, कटहर, अम्बा, चिकु, अनार, स्याउँ, लिची, मेवा, वेल, नरिवल, जावुन, स्टारफुड जस्ता फुलफुल अहिले फर्ममा रहेका छन्। ५ कठ्ठा क्षेत्रफलमा माछा पालन भएको छ।

फर्म सुरू भएको लामो समय भएपछि यसबाट उनले मनग्य आम्दानी गर्न सकेका छैनन्।

‘बन्जर जमिन भएकाले ६ वर्ष माटो सुधार गर्न मात्र समय लाग्यो। त्यसैले आम्दानी यति भयो भन्ने छैन। जति भएको छ, त्यो लगानी मात्रै गरिएको छ’, उनले भने।

अबको योजना
मल्टी एग्रो फर्मको रूपमा विकास गर्ने योजना नरुद्दीनको छ।

‘हामीले काम गर्छौँ। व्यापार पनि होला। तर यसबाट मात्र म सन्तुष्ट हुँदिन। यसलाई कम्तीमा पनि अध्ययनको थलो बनाउनुपर्छ भन्ने लागेको छ। यसलाई रिसर्च सेन्टर बनाउने योजना पनि छ’, उनले भने।

फर्ममै उनले मदिरा निषेध रिसोर्ट सञ्चालन गर्ने योजना पनि बनाएका छन्।

अहिले गाउँले मौलिकता झल्कने साना ४ घर तयार भएका छन्। त्यसमा थप गर्दै मदिरा निषेध रिसोर्ट सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन्। फर्ममा हाल ३० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी पाएका छन्।

जेठ १२, २०८१ शनिबार ११:२४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।