बिना अनुमति यौनाङ्ग हेर्ने चिकित्सक शाक्यलाई काउन्सिलको सफाइ, अदालतमा मुद्दा विचाराधीन

बिना अनुमति यौनाङ्ग हेर्ने चिकित्सक शाक्यलाई काउन्सिलको सफाइ, अदालतमा मुद्दा विचाराधीन

काठमाडौं : उपचारका लागि परामर्शमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चिकित्सक जसवन शाक्य विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। त्यही विषयमा कारबाहीका लागि परेको निवेदनको आधारमा नेपाल मेडिकल काउन्सिलले भने उनलाई सफाइ दिएको छ।

काउन्सिलले वैशाख २६ गते निर्णयमा महिलाको उपचार गर्ने क्रममा साथमा महिला स्वास्थ्य सहयोगी नराख्नु चिकित्सकको संहिता विपरीतको काम भएको तर स्वास्थ्य परीक्षणमा आएकी महिलाको अनुमतिविना उनको यौनाङ्ग हेर्नु यौन दुर्व्यवहार नभएको तर्क गरेको छ।

उकेराले शुक्रबार पाएको निर्णयमा चिकित्सक शाक्यले दुर्व्यवहार नगरेको तर महिलाको स्वास्थ्य परीक्षण गर्दा साथमा महिला स्वास्थ्यकर्मी नराख्नु त्रुटी भएकाले अब आइन्दा यस्तो त्रुटी नगर्न अन्तिम पटक सचेत गराइएको उल्लेख छ।

चिकित्सकप्रति नरम काउन्सिल
२०८० कात्तिक १ गते ग्राण्डी अस्पतालमा उपचारका लागि गएकी एक युवतीले शाक्यले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै काउन्सिलमा उजुरी दिएकी थिइन्।

उजुरीमा उनले २०८० असोज ३ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सर्जरीको लागि परामर्श लिन र स्वस्थ परीक्षण गराउन गएकोमा आवश्यक परीक्षणको क्रममा डायग्नोस्टिक कक्षमा लगि परीक्षणको विधि, प्रक्रिया तथा आवश्यकता सम्बन्धी जानकारी नगराई चिकित्सक डा. शाक्यले अनुमति बिना र महिला सहायक नर्स वा अन्य कर्मचारीको अनुपस्थितिमा शारीरिक परीक्षण सुरु गरिएको उल्लेख थियो।

उनको व्यवहारले असहज महसुस गरेको र चिकित्सकलाई जानकारी गराउँदा समेत शाक्यले बेवास्ता गरी भित्री वस्त्र तानेर हटाउँदै यौनाङ्ग हेर्दै भद्दा टीका-टिप्पणी र यौनजन्य दुर्व्यवहार गरेको  उजुरीमा उल्लेख थियो।

उनले चिकित्सकको नाम दर्ता किताबबाट हटाउने गरी कारबाही गरी पाउँ भन्दै उजुरी गरेकी थिइन्।

चिकित्सक शाक्यले बिरामी जाँच गर्दा कोही महिला स्टाफ अथवा डाक्टर नभएको र बिरामीको गुप्ताङ्गमा पनि हात हालेको काउन्सिलले स्वीकार गरेको छ। तर, उनको नियत दुर्व्यवहार नगर्नु रहेको भन्दै सफाइ दिएको छ।

शाक्यले बयानमा बिरामीको यौनाङ्ग हेरेको तर महिलालाई कुनै किसिमको यौन हिंसाजन्य काम कारबाही गरेको स्वीकार नगरेको काउन्सिलले बताएको छ। सो कुरा बिरामीको बयानबाट पनि स्थापित हुन नसकेको काउन्सिलको तर्क छ।

बिरामीलाई सो अवस्थाले असहज महसुस भयो भन्दा तत्काल कुनै किसिमको प्रतिवाद नगरेको र तत्काल कुनै जानकारी नगराएको समेत काउन्सिलले स्वीकार भने गरेको छ। तर, त्यसपछिको ओपिडी भिजिटमा चिकित्सकलाई सो विषयवस्तु जानकारी गराएको निर्णयमा उल्लेख छ।

चिकित्सकलाई  विषयवस्तुको बारेमा जानकारी गराएपछि चिकित्सकले नियमित रूपमा निजसँग महिला सहकर्मी उपस्थित हुने गरेको, त्यो दिन निज महिला सहकर्मी बिदामा रहेको हुँदा सहकर्मी छुट्न गएकाले त्यसका लागि चिकित्सकले बिरामीसँग माफी मागेकाले समग्र रूपमा चिकित्सकले परीक्षणको क्रममा स्पष्ट देखिने गरी बदनियत राखेको भन्ने कहीँ कतै नदेखिएको काउन्सिलको दाबी छ।

तर, मेडिकल काउन्सिलले स्थापित गरेको महिला सहकर्मी अनिवार्य रूपमा हुनुपर्ने भन्ने प्रावधान उल्लङ्घन भएको देखिएको र सो कुराको उल्लङ्घन हुँदा कुनै बदनियतसहित गरेको भन्दा पनि नियमित प्रक्रियामा भुलवश हुन गएको तर्क गरेको छ।

चिकित्सक शाक्यलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कारबाही गरेको भन्ने बिरामी पक्षको दाबी गलत भएको काउन्सिलले उल्लेख गरेको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले काउन्सिललाई बुझाएको कागजातमा चिकित्सक शाक्यलाई ग्राण्डी अस्पतालले शाक्यको  व्यवहार अस्पताल अनुरूप नरहेको भनी जानकारी गराउँदा चिकित्सक शाक्यले राजीनामा दिएको पत्रमा उल्लेख गरेको छ।

चिकित्सक शाक्यलाई  अस्पतालले के कसरी जानकारी गराइयो भन्ने विषयवस्तु अस्पतालबाट प्राप्त कागजातबाट जानकारी स्पष्ट नदेखिने काउन्सिलले उल्लेख गरेको छ।

चिकित्सक शाक्यलाई ग्राण्डीले यो विषयवस्तु कारबाही हो र तपाईंले राजीनामा दिनुपर्छ भन्ने किसिमको लिखित जानकारी गराएको कतै नगराएको देखिएको काउन्सिलले उकेरालाई जानकारी दिएको छ।

चिकित्सकलाई मात्र राजीनामा दिनु भन्ने अनुरोध आएपछि चिकित्सकले आफैले राजीनामा दिएको र विगत लामो समयदेखि त्यस अस्पतालसँग निज चिकित्सकको राम्रो सम्बन्ध नरहेको र अस्पताल छोड्न लागी रहेको भन्ने कुरा चिकित्सक शाक्यले पनि आफ्नो  बयानमा उल्लेख गरेको काउन्सिलले बताएको छ।

कारवाईको क्रममा एक पटक स्पष्टीकरणको मौका पनि नदिईकन कारबाही गरेको भन्ने कुरा अस्पतालको कागजातबाट प्रस्ट देखिने र सो विषयवस्तुमा चिकित्सक शाक्यले कारबाही पूर्व आफ्नो तर्फबाट प्रस्तुत गर्न सक्ने स्पष्टीकरण अथवा सफाइ पेस गर्न पाउनु पर्ने हक उल्लङ्घन भएको काउन्सिलको दाबी छ।

यस अर्थमा अस्पतालले गरेको कारबाहीलाई नै अन्तिम कारबाही अथवा पूर्ण रूपमा प्रक्रियागत त्रुटिरहित कारवाईको रूपमा मान्न सकिने अवस्था नदेखिएको काउन्सिलको निर्णयमा उल्लेख छ।

आचारसंहिता विपरीत काम गरेको ठहर
काउन्सिलको निर्णयमा ‘चिकित्सक शाक्यले बिरामीको परीक्षणको क्रममा महिला सहकर्मी उपस्थित नहुनु विषयवस्तु आचारसंहिता विपरीत भएता पनि निज चिकित्सकले समग्र घटनाक्रममा बदनियत राखेको वा यौन हिंसाजन्य गतिविधि गरेको भन्ने कुरा कहीँ कतैबाट पनि स्थापित हुन जाँदैन’ भन्ने उल्लेख छ।

त्यस्तै काउन्सिलको निर्णयमा चिकित्सकले परीक्षणको क्रममा निज बिरामीलाई बाहिरी वस्त्रहरू खोल्न लगाउँदासम्म चिकित्सकबाट कुनै किसिमको आपत्तिजनक व्यवहार भएको भन्ने कुरा कहीँ उल्लेख भएको नदेखिएको उल्लेख गरेको छ।

थाइको बोसो हटाउन परामर्शका लागि डा शाक्यकोमा गएकी ती युवतीको यौनाङमा रहेको कपडा हटाएर डा शाक्यले हेर्दै टिप्पणी गरेको काउन्सिलको निर्णयमा समेत उल्लेख छ।

भित्री वस्त्र उठाएर हेर्ने क्रम निश्चित कुनै सङ्क्रमण देखिएपश्चात् मात्रै गरिएको भन्ने कुरा चिकित्सक र बिरामी दुवैको बयानबाट पनि स्थापित हुन गएको, साथै बिरामीले भद्दा टिप्पणी गरेको भन्ने विषयवस्तुको हकमा भद्दा टिप्पणीको विषयवस्तु के कसो भनी सोध्दा स्पष्ट कुनै शब्द उल्लेख गर्न नसकेको अवस्था  र चिकित्सकको तर्फबाट बदनियत राखिएको वा निज बिरामीलाई कुनै किसिमको हिंसा गर्ने नियत राखिएको भन्ने कुरा तथ्यगत रूपमा पुष्टि नसकेको काउन्सिलले बताएको छ।

चिकित्सक शाक्यलाई अन्तिम पटक निर्देशन गराउँदै पत्रमा लेखिएको छ  ' उपचारको क्रममा महिला सहकर्मी नहुनुलाई आचारसंहिता उल्लङ्घन मान्न सकिने अवस्था रहेको हुँदा अब उपरान्त कुनै पनि किसिमको उपचार गराउँदा वा परीक्षण गराउँदा महिला बिरामीको हकमा अनिवार्य रूपमा महिला सहकर्मी वा सहयोगी राख्नुपर्ने नेपाल मेडिकल काउन्सिलको आचारसंहिताको प्रावधानहरूलाई स्मरण गराउँदै निज चिकित्सकलाई अन्तिम पटकलाई निर्देशन दिने निर्णय गरियो।'

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सवालमा काउन्सिलले 'यसरी कार्यरत चिकित्सकहरूको हकमा कुनै किसिमको कारबाही गर्ने भए लिखित रूपमा निज चिकित्सकलाई कारबाही हुँदैछ भन्ने जानकारी गराई सो को स्पष्टीकरण समेतको मौका दिएपश्चात् मात्रै आवश्यक कारबाही प्रक्रिया बढाउन सकिने र सो को बोधार्थ नेपाल मेडिकल काउन्सिललाई समेत दिनु पर्नेछ।

चिकित्सकलाई आचारसंहिता वा दैनिक व्यवहार सम्बन्धी कुनै किसिमको कारबाही गर्दै गरेको अवस्थामा सो विषयवस्तुको जानकारी समेत नेपाल मेडिकल काउन्सिललाई अनिवार्य रूपमा गर्न गराउनु हुन निर्देशन दिने निर्णय गरिएको’ उल्लेख छ।

सम्बन्धित समाचार

जेठ ११, २०८१ शुक्रबार १९:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।