सहकारी ठगी : संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै, कांग्रेस सडकमा जाने

सहकारी ठगी : संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै, कांग्रेस सडकमा जाने

काठमाडौं : सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बस्दैछ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ। तर, सत्तापक्षले गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ। 

यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ-आफ्नो अडानमा रहेकाले सहमति नजुटेकाले कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।

बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र रास्वपा सांसद शिशिर खनाल सदस्य छन्।  

जेठ १०, २०८१ बिहीबार ०९:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।