‘रगत बग्नै हुँदैनथ्यो भन्ने उपदेशात्मक सिर्जना पढ्न नपरोस्’

‘रगत बग्नै हुँदैनथ्यो भन्ने उपदेशात्मक सिर्जना पढ्न नपरोस्’

अर्घाखाँचीको सिलिङखोलामा जन्मिएका जेबी दर्लामी उपन्यासकार तथा इतिहासकार हुन्। उनका ‘यात्री’ र ‘नुरी’ उपन्यासका साथै ‘नेपालको राजनीतिमा अर्घाखाँची इतिहास’ भन्ने शोधमुलक पुस्तक पनि प्रकाशित भइसकेका छन्। अहिले ‘मारीखोलाको ढुंङ्गो’ उपन्यास प्रकाशित गरेका दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन्। उनैसँग नयाँ पुस्तकको सन्दर्भमा रहेर उकेराका लागि गरिएको कुराकानीको सम्पादित अंश:-

लेखन यात्रा कहिलेबाट थाल्नुभयो?
सानैदेखि भावुक प्रकृतिको थिएँ। विद्यालयबाहेकका पुस्तकहरू पनि घरमा भएकाले ती पनि पढ्थेँ। ती किताबहरूको प्रभावले मलाई पनि लेख्न मन लाग्यो। जस्तै, मुनामदन पढेपछि त्यही प्रकारको तुकबन्दी कविताहरू लेख्न थालेँ १४÷१५ वर्षको उमेरमा। तर त्यो प्रभाव लामो समय टिकेन। मैले ऊबेला लेखेका कविताहरू अहिले कुनै पनि साथमा छैन।

लेख्नुपर्छ भन्ने चैँ कहिलेदेखि लाग्यो?
जब आफ्नो पहिलो रचना एक हवाई पत्रिकामा प्रकाशित भयो, तब मलाई थप लेख्ने प्रेरणा जाग्यो। यो त्यही २०५८ सालतिरको कुरा हो। कुनै पनि विषय मैले लेखिनँ र त्यो विषय अरूले पनि लेखेनन् भने कतै छुटि पो हाल्छ कि भन्ने डरले मलाई लेख्न प्रेरित गर्छ। ‘नेपालको राजनीतिमा अर्घाखाँची’ लेख्नुको पछाडि पनि यही प्रेरणाले काम गरेको थियो।

‘नुरी’ उपन्यासको सन्दर्भ पनि त्यही नै हो। मलेसियामा विभिन्न चरणमा गएका नेपालीका कथा मैले जसरी देखेँ, अनुभूत गरेँ, त्यो कथा मैले नै लेख्न सक्छु भन्ने लाग्यो अनि लेखेँ। अर्को कुरा म खासै बोल्न सक्ने मान्छे होइन। जे कुरा बोलेर व्यक्त गर्न सक्दिनँ त्यसलाई लेख्नुपर्छ भन्ने लाग्छ। प्रेरणा यिनै हुन्।

समकालीन लेखकका तपाईंलाई कस्ता कृति मन पर्छन्?
मलाई आख्यान, गैरआख्यान र कविताहरू मन पर्छन्। मान्छेको मनोविज्ञान देखा पर्ने कृतिहरू मन पर्छन्। प्रकृति, मान्छे र समाजको अन्तरविरोधबारे व्याख्या गरिएका कृतिहरू मन पर्छन्। अझ तथ्याङ्कमा आधारित रहेर लेखिएका शोधमूलक कृतिहरू झनै मन पर्छन्।

‘मारीखोलाको ढुङ्गो’ उपन्यासमार्फत एउटा लडाकुबाट कथा भन्न लगाउनु भएको छ, तपाईं पनि केही समय माओवादीमा रहेर भूमिगत हुनुभयो। आफ्नै कथा उपन्यास मार्फत भन्नुभएको हो कि?
म त्यसरी लामो समय भूमिगत नै भएर आन्दोलनमा लागेको मान्छे होइन। तर, आन्दोलनलाई किनारामा बसेर हेरेको मात्र पनि होइन। ‘मारीखोलाको ढुङ्गो’ मा मेरा केही प्रतिशत अनुभव पनि समावेश छन्।

यो उपन्यासमा पात्र चयन कसरी गर्नुभयो?
२०५९ सालको भदौ २३ गतेको रात माओवादीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क कब्जा ग¥यो। त्यो समय म पनि त्यहीँ थिएँ। यो उपन्यासको मुख्य पात्रका बारेमा मैले त्यति बेलै सुनेको हुँ। त्यो कथाले मेरो दिमागमा हिर्काउन थालेको एक्काइस वर्षपछि मात्रै किताबको आकार लिन पायो। अन्य सहायक पात्रहरू लेख्दै जाँदा स्वभाविक रूपमा समावेश हुँदै आए।

आफ्नो अनुभूतिले उपन्यासमा कस्तो प्रभाव पार्दो रहेछ?
माओवादी आन्दोलनलाई प्रत्यक्ष र परोक्ष देख्न भोग्न नपाएको भए र त्यसलाई आफैँले अनुभूत गर्न नपाएको भए अनुभूतिको यो स्तरमा उपन्यास लेख्न सक्दिनथेँ भन्ने लाग्छ। त्यसरी हेर्दा जुनकुनै लेखनमा निजात्मक अनुभूति हुनैपर्छ जस्तो लाग्छ। उपन्यास लगायत सबै प्रकारको सिर्जनशील लेखनमा अनुभूतिले विशेष अर्थ राख्छ नै !

कता कता यो उपन्यासमा ‘मनबहादुर’ पात्रले युद्धमा लागेको प्रति हिनता बोध र आत्मग्लानी गरेको देखिन्छ। कतिपय साहित्यकारले यथार्थमा भन्न नसकेका कुरा उपन्यास मार्फत भन्छन् रे, तपाईंले पनि यहि तरिका अपनाउनुभएको हो?
जब आफूले प्रेम गरेर अंगालेको बाटोमा आफैँ अयोग्य बनेको फैसला सुन्नुपर्छ, तब उसको मनमा केही हीनताबोध त पक्कै हुन्छ। यो उपन्यासको मुख्य पात्रमा पनि त्यो देखिन्छ। माओवादी आन्दोलनले शान्ति प्रक्रियाको बाटो लिँदा थुप्रै लडाकुहरू अयोग्य घोषित गरिए। त्यसको गहिरो छाप ममा पनि परेको हो भन्ठान्छु।

हामीले घोषित कार्यक्रमबाटै कयौं छापामारलाई अयोग्य बनाएका देख्यौँ र थाहा पायौँ। तर, आन्दोलनमा त्यो प्रक्रिया त चलि नै रहेको थियो। दुई लाइन संघर्षको नाममा होस् या पार्टीभित्रको अन्तरविरोधको नाममा। त्यसरी आन्दोलनबाट निकालिएका लडाकुहरूको प्रतिनिधि मैले यो उपन्यासको मुख्य पात्रलाई बनाएको हुँ।

सशस्त्र संघर्षबारे नै लेखिएको अर्को पुस्तक ‘ऐंठन’ले मदन पुरस्कार पायो, युद्धको पक्ष-विपक्ष वा तटस्थ भएर अझै लेखिएलान् पनि, तपाईंलाई चाहिँ कस्ता कृति लेखिउन् भन्ने लाग्छ?
नेपालको इतिहास नै सशस्त्र युद्ध र रक्तपातको जगमा निर्माण भएको छ। जहाँसम्म निकट अतितको सशस्त्र युद्धको कुरा छ, यस युद्धमा १७ हजार नेपालीको ज्यान गएको हामीले सुन्दै अनि पढ्दै आएकै छौँ। हजारौं घाइते छन्, उत्तिकै सङ्ख्यामा बेपत्ता पारिएका नागरिकको कथा व्यथा छ।

एउटै मान्छेको जीवनमा थुप्रै त्यस्ता कथा हुन्छन्, जसलाई किताबमा ल्याउन सकिन्छ। त्यसरी सोच्ने हो भने यस आन्दोलनमा सहभागी भएका मान्छेका हजारौं किताब लेखिन सक्छन्। यसको अर्थ माओवादी आन्दोलनसँग जोडिएका अनेकन् विषय लेख्नै बाँकी छ।

तपाईंले भनेझैँ पक्ष वा विपक्षमा भन्दा तटस्थ भएरै लेखिन जरुरी छ भन्ने लाग्छ। मैले पनि त्यही कोसिस यो उपन्यासमा गरेको छु। यो उपन्यासमा आन्दोलनको असल या खराब पक्षभन्दा पनि अयोग्य बनाएर शिविरबाट निकालिएको एक जना छापामारको जीवनको आरोह अवरोह र उसको मानसिक अवस्था देखाउने प्रयास गरेको छु।

तर, ती पात्रको कथा समग्र आन्दोलनको मूल प्रवृत्ति होइन र यो माओवादी आन्दोलनको इतिहास पनि होइन। तटस्थ हुनुको अर्थ बढ्तै शान्तिवादी भएरै मात्र पनि लेखिनुहुन्न भन्ने लाग्छ मलाई।

रगत बग्नै हुन्नथ्यो भन्ने तरिकाको उपदेशात्मक सन्देश दिने सिर्जना पनि पढ्न नपरोस्। किनभने संसारमा निरपेक्ष शान्ति त कतै पनि छैन र हुँदैन पनि।

अबको लेखन?
अब थप गम्भीर र जिम्मेवार भएर लेखनमा लाग्ने सोच छ। म जुन भूगोलमा बसोबास गर्छु, लुम्बिनी क्षेत्र, जसलाई हामी मगरात भनेर पनि चिन्दछौँ। त्यस भेगको थुप्रै कथा अझै लेखिन बाँकी छ। त्यहाँको भूगोल, मान्छे, इतिहास, मनोविज्ञान, कला र संस्कृतिलाई बाहिर ल्याउनका लागि लेखिनुपर्ने विषय अनेकन् छन्। तिनै विषयलाई थोरै मात्रामा भए पनि उजागर गर्ने अबको मेरो लेखनको ध्येय हुनेछ।

४ जेठ, २०८१, ११:४५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।