एक महिना बित्दासमेत विद्यार्थीले पाएनन् स्थानीय पुस्तक : कतै लेखिँदै, कतै छापिँदै

एक महिना बित्दासमेत विद्यार्थीले पाएनन् स्थानीय पुस्तक : कतै लेखिँदै, कतै छापिँदै

बुटवल : नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि रुपन्देहीका दुई स्थानीय तहले मातहतका विद्यालयका विद्यार्थीको हातमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पुर्याउन सकेको छैन।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले आधारभूत तहको कक्षा १ देखि ८ सम्म एक विषय स्थानीय पाठ्यक्रमको पठनपाठन गराउनुपर्ने व्यवस्था गरेको छ। त्यसअनुसार स्थानीय समुदायको आवश्यकता अनुसार पाठ्यक्रम तथा पाठ्य सामग्री विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ।

यसका लागि पाठ्यक्रम विकास केन्द्रले स्थानीय मार्गदर्शन २०७६ मातृभाषा सहित विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनिक गरेको छ।
त्यहि आधारमा स्थानीय सरकारले अनिवार्य लागू गरेको पुस्तक समयमै विद्यालयमा नपुग्दा बालबालिकाले विना पुस्तक नै पढ्न बाध्य भएका छन्। 

बुटवलको कान्ती माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले स्थानीय सरकारको प्राथमिकतामा शिक्षा नपर्दा पुस्तक समयमै उपलब्ध नभएको बताए।

‘स्थानीय तहको प्राथमिकतामा नपरेको ढिलाइ भएको छ। मेयरको प्राथमिकता बाटो–घाटो माटो मात्र पर्छ’, उनले भने।

केन्द्रबाट आउने पुस्तक शैक्षिक सत्र सुरु हुनु अगावै आए पनि स्थानीय पाठ्यक्रमको पुस्तक ‘आवर बुटवल’ छपाइमा ढिलाइ हुँदा वैशाख महिना सकिँदासम्म नआइपुगेको प्राचार्य ज्ञवालीले बताए।

बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिका पन्थीले विद्यालयबाट पुस्तकको माग समयमै नआउँदा छपाइमा ढिला भएको भन्दै विद्यालयलाई दोष थोपरे।

‘विद्यालयले पुस्तकको माग गर्दा नै ढिला भयो। त्यसैले छपाइमा ढिलाइ भएको हो। अबको केही दिनमा पुस्तक विद्यार्थीहरूको हातमा पुग्छ’, उनले भने।

५० पूर्णाङ्कको उक्त पुस्तकको पाठ्यक्रम संशोधन नभएकाले छपाइमा ढिलाइ गर्नु उपमहानगरपालिकाको लापरबाही भएको अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बताए।

‘विद्यार्थीहरूले पुराना खोजेर भए पनि पुस्तक पढ्न बाध्य छन्। सबैका हातमा पुस्तक नहुँदा अभिभावकहरू समेत पुस्तक खोज्न भौतारिनु परेको छ’, उनले भने।

‘आवर बुटवल’ नामको पुस्तक बुटवलका निजी र सामुदायिक विद्यालयमा १ देखि ८ सम्म अनिवार्य लागू गरेको छ। बुटवल सेरोफेरो, पर्यटकीय स्थलहरू, हाम्रो संस्कृति, हाम्रो आस्था, संघसंस्थाहरू, योग र प्राकृतिक चिकित्सा तथा जडिबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ।

त्यस्तै स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउँदै माटो अनुरूपको स्थानीय विषयहरूलाई पाठ्यक्रममा समेटिएको छ। बुटवलमा ३८ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा छन भने संस्थागत विद्यालयको संख्या ५७ छ।

अर्को वर्ष पाठ्यक्रम संशोधन हुने
स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘आवर बुटवल’ अर्को वर्ष भने पाठ्यक्रम संसोधन हुने भएको छ।

‘यो वर्ष पुरानै पाठ्यक्रम लागू हुनेछ। सबैतिरबाट आएका सुझावका आधारमा ०८२ मा नयाँ पाठ्यक्रममा आधारित भएर आवर बुटवल पुस्तक बन्नेछ’, शिक्षा शाखा प्रमुख पन्थीले भने।

सिद्धार्थनगरमा पनि छैन विद्यार्थीको हातमा पुस्तक
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमको पाठ्यपस्तक अझै विद्यार्थीले पाउन सकेका छैनन्। छपाइमा ढिला हुँदा विद्यार्थीहरूले समयमै स्थानीय पाठ्यपुस्तक नपाएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ।

सिद्धार्थनगर नगरपालिकाले नगरभित्रको भाषा, संस्कृति, इतिहास, स्थानीय ज्ञान, सीप कला तथा प्रविधिमा आधारित विषयसंग सम्बन्धित रही २०७९ मा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो।

शैक्षिक सत्र २०७९ देखि नगरभित्रका सबै विद्यालयमा कक्षा १ देखि १० सम्म यो लागू छ। तर, अहिले नयाँ शैक्षिक सत्र सुरु भएको १ महिना पुग्दा समेत पाठ्यपुस्तक विद्यार्थीहरू सामु पुग्न सकेको छैन।

सिद्धार्थनगर नगरपालिका-१२ स्थित काशी नोवेल एकेडमीका प्रधानाध्यापक राजेन्द्र घिमिरेले पुस्तक नहुँदा आवश्यक अभ्यास र प्रश्नोत्तर जस्ता शैक्षिक क्रियाकलापमा समस्या भएको बताए।

सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालका अनुसार अहिले कक्षा १, २, ३, ४, ७ र ८ को पुस्तक लेखन हुँदैछ। बजेट अभावका कारण कक्षा ५ र ६ को पुस्तक भने अर्को आर्थिक वर्षमा तयार गरिने उनको भनाइ छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले छिट्टै नै ‘हाम्रो सिद्धार्थनगर’ पुस्तक विद्यार्थीको हात हातमा पुग्ने दाबी गरे। सिद्धार्थनगर नगरपालिकाकाभित्र १७ वटा सामुदायिक, ४२ वटा संस्थागत, १३ वटा मदरसा र १ वटा संस्कृत विद्यालय छन्।

जेठ ३, २०८१ बिहीबार १२:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।