कैलास सिरोहियाको मुद्दामा अन्तरिम आदेशका लागि आज सुनुवाइ हुँदै

कैलास सिरोहियाको मुद्दामा अन्तरिम आदेशका लागि आज सुनुवाइ हुँदै

काठमाडौं : कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलासप्रसाद सिरोहियाको नागरिकताको सम्बन्धमा भइरहेको अनुसन्धानको सम्बन्धमा दायर भएको रिटमा आज दोस्रो सुनुवाइ हुँदैछ।

२५ गते न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा भएको सुनुवाइमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएपछि आज दोस्रो सुनुवाइ हुन लागेको हो।

सुनुवाइ न्यायाधीशद्वय सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासमा हुँदैछ। सुनुवाइपछि अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेबारे निर्णय हुनेछ।

सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै सिरोहियाले सोमबार गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको थियो।

प्रतिषेध भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारबाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो।

यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्न सक्छ। आदेश स्थायी प्रकारको हुन्छ।

सम्बन्धित समाचारः-

२८ बैशाख, २०८१, १२:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।