नेपालमा ग्रिन हाइड्रोजन उत्पादनमा दुई अर्ब लगानी गर्न ग्रीनजो इनर्जी इन्डिया तयार, उर्जामन्त्री सकारात्मक

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनमा दुई अर्ब लगानी गर्न ग्रीनजो इनर्जी इन्डिया तयार, उर्जामन्त्री सकारात्मक

काठमाडौँ : नेपालको ग्रिन हाइड्रोजन उत्पादनमा लगानी गर्न भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले चासो देखाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतसँगको भेटमा ग्रीनजो इनर्जी इन्डियाका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नेपाल सरकारले आवश्यक प्रबन्ध मिलाएमा आफ्नो कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए।

जवाफमा मन्त्री बस्नेतले ग्रिन हाइड्रोजनको लागि आवश्यक नीति बनाउन पहल गर्ने र एक अध्ययन समिति बनाएर पाइलट प्रोजेक्ट निर्माणमा ग्रिनजो इनर्जी इन्डियासँग सहकार्य गर्ने बताए।

हाल भारतको गुजरातमा हाइड्रोजन उत्पादनका लागि इलेक्ट्रोलाइजर मेसिन उत्पादन गरेको ग्रिनजो इनर्जी इन्डियाको अनुभव सुनेपछि मन्त्री बस्नेतले फ्युल सेल टेक्नोलोजीको साथै ग्रिन हाइड्रोजनलाई कसरी एकीकृत गर्दा ग्रिड स्थिरता र विद् धुत प्रसारणको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने बारे जानकारी लिएका थिए।

भेटमा अग्रवालले हरित हाइड्रोजनलाई नेपालको तेस्रो प्रमुख ऊर्जा स्रोतको रूपमा स्थापित गर्न सकिने सुझाव दिएका थिए। हरित हाइड्रोजनमा २ खर्व रुपैयाँ बराबरको लगानी भित्र्याउन सकिने बताउँदै उनले सौर्य ऊर्जा उपलब्ध नहुने समयमा र ग्रिडको माग चरम अवस्थामा रहेका बेला साथै रातको समयमा ग्रिडको क्षमतामा निरन्तरता दिन हरित हाइड्रोजनबाट ऊर्जा उत्पादन गरी प्रयोग गर्न सकिने जानकारी दिएका थिए।

मन्त्री बस्नेतलाई प्रबन्ध निर्देशक अग्रवालले पाइलट प्रोजेक्टको रूपरेखा समेत दिएका थिए। हाइड्रोजन नीतिमा स्पष्टता साथै हाइड्रोजनको खरिद सम्झौता नीति आएमा नेपालको ऊर्जा क्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा बढी लगानी आउन तयार रहेको उनले बताए।

२० बैशाख, २०८१, २०:५८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।