शारीरिक अपांग भएकै कारण १५ वर्षसम्म पढ्न नपाएका छत्र : जब घरबाट भागेर वैशाखी टेक्दै स्कुल गए

शारीरिक अपांग भएकै कारण १५ वर्षसम्म पढ्न नपाएका छत्र : जब घरबाट भागेर वैशाखी टेक्दै स्कुल गए

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईका १५ वर्षीय छत्र बुढा शारीरिक अपांग छन्। 

उनी जन्मजात नै अपाङ्ग हुन्। उनका दुई खुट्टा राम्ररी चल्दैनन्। त्यही कारण उनको परिवारले १५ वर्षसम्म विद्यालयमा पठाएन। नजिकका उनका दौँतरीहरू विद्यालयमा गएको देखेर उनलाई पनि स्कुल जान रहर लाग्थ्यो। 

तर, अपांग भएका कारण जान नसक्ने भन्दै उनकी आमाले जान दिएकी थिइनन्। बरु आमाले उनका साथीजस्तै ड्रेस सिलाएर घरमा बसाउँथिन्। 

उनको घरबाट विद्यालय जान पैदल एक घण्टा लाग्छ। सडक कच्ची भएका कारण उनलाई स्कुलसम्म पुग्न त्यति सहज थिएन। स्कुलसम्म पुग्नका लागि उनीसँग कुनै सवारी साधनको पहुँच समेत थिएन। 

यसैबीच, आइतबार छत्रलाई स्कुल पुगेरै छाड्ने हुटहुटी चल्यो। उनी घरबाट आमा नभएको मौकामा बिहान ९ बजे भागेर स्कुलमा पुगे। 

उनीसँग वैशाखी छ। त्यसैको सहारामा डेढ घण्टा लगाएर गाउँकै पुछारमा रहेको जनजागृत माध्यमिक विद्यालय विद्यालयमा पुगे। 
सबै कक्षामा पढाइ भइरहेको थियो। त्यतिकैमा छत्र विद्यालयमा पुगे। उनी विद्यालय पुग्दा शिक्षकहरू दंग परे। उनले आफ्नो पढ्ने इच्छा र घरको समस्या बारे विद्यालयका शिक्षकलाई सुनाए। 

शिक्षकहरू पनि उनको पढ्ने इच्छा देखेर प्रभावित भए। उनलाई शिक्षकले खादा र टीका लगाएर स्वागत गरे। त्यसपछि कक्षा १ मा उनको नाम लेखाएर कोठामा अन्य विद्यार्थीसँगै राखियो। उनलाई शिक्षकले कखरा सिकाए। 

‘वल्लो-पल्लो घरका साथीहरू सबै ९–१० कक्षामा पढ्छन्। मलाई  आमाले स्कुल नजा भन्छिन्। अनि भागेर गएँ,’ छत्रले भने, ‘सबै साथीहरूसँग बसेर पढ्दा रमाइलो लाग्यो। अब सधैं स्कुल आउँछु।’

छत्रका बुवा देवीरामको तीन वर्षअगाडि घरको तलाबाट खसेर मृत्यु भयो। 

अहिले घरमा आमा र छत्र मात्रै छन्। उनकी जेठी दिदीले पनि कक्षा १२ पास गरेर अहिले नेपालगञ्जमा निजी कम्पनीमा मजदुरीको काम गर्छिन्। 

छत्रकी ४२ वर्षीय आमा नैना ज्याला मजदुरी गरेर घर खर्च चलाउँछिन्। सम्पत्तिको नाममा उनको १० मिटर घरबास र कच्ची घर छ।

घरको स्थिति र उसको शारीरिक अवस्थाले विद्यालय पठाउन नसकिएको उनकी आमा नैनाले बताइन्।

‘हिँड्न सक्दैन। अरू स्कुल जान लागेको बेला रुन्थ्यो, कराउँथ्यो। हामीले नजा भन्थ्यौँ,’ उनले भनिन्, ‘म बाहिर गएकी थिएँ। पछि आउँदा कता गयो भनेर चिन्तामा परें। उ त स्कुल गएको रहेछ।’

नैनाले छोरालाई पढाउने इच्छा हुँदा हुँदै पनि घरको समस्या र उनको शारीरिक अवस्थाले स्कुल नपठाएको भन्दै सवारी साधन अटोमा लिने ल्याउने व्यवस्था भए सहज हुने बताइन्। 

यता, छत्रको पढाइका लागि विद्यालयसँग पनि साधन र सुविधा नभएका कारण उनलाई विद्यालय आउन समस्या भएको जनजागृत माध्यमिक विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरेले बताए।

‘१५ वर्षको उमेरमा उनी विद्यालय आए। त्यसभन्दा पहिले हामी यही ठाउँको भएर पनि जानकारी पाएका थिएनौँ। तर, उनको पढाइ प्रतिको रुचि एकदमै राम्रो छ,’ घिमिरेले भने, ‘यदि उनलाई विद्यालय आउने र जाने यातायात भइदिए अझै सहज हुन्थ्यो।’

उनका अनुसार यो विद्यालयमा यसअघि कक्षा ८ सम्म पढाइ हुन्थ्यो। यो वर्षबाट भने १० कक्षासम्म हुन थालेको छ। 

४५० जनामध्ये ३० प्रतिशतभन्दा बढी निम्न आर्थिक अवस्था र दलित समुदायका विद्यार्थी रहेको प्रधानाध्यापक घिमिरेले बताए।  

१० बैशाख, २०८१, १९:०७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।