डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० बढी घरगोठ जले, आगलागी अझै नियन्त्रणमा आएन

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० बढी घरगोठ जले, आगलागी अझै नियन्त्रणमा आएन

काठमाडौं : वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ठूलो धनराशिको क्षति भएको छ। 

आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। 

गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ जलेका छन्। वडा नम्बर २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ। 

आगलागीले करिब ४० घरमा क्षति पुर्याएको र आगो निभाउनेक्रममा दुई जना घाइते भएपछि उनीहरुको उपचार भइरहेको डीएसपी शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो। 

डढेलो भने आइतबार बिहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। 

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ। 

रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रातीसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन। 

उता, नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ। 

त्यस्तै, नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ। 

हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो। 

पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो। त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ। 

९ बैशाख, २०८१, ०८:१५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।