प्रचण्डपछि उथलपुथलको चेतावनी दिँदै माधव, दास नठान्न चेतावनी दिँदै भने- ‘...नत्र उथलपथल हुन्छ’

प्रचण्डपछि उथलपुथलको चेतावनी दिँदै माधव, दास नठान्न चेतावनी दिँदै भने- ‘...नत्र उथलपथल हुन्छ’
फाइल तस्बिर

रौतहट : नेपाली कांग्रेस छाडेर एमालेसँग मिल्दै गठबन्धन बदलेपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को उथलपुथलको चेतावनी दिएका थिए। उनले आफू रहुन्जेल देशमा उथलपुथल भइराख्ने बताएका थिए।

प्रधानमन्त्री दाहालपछि अब एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि उथलपुथलको धम्की दिन थालेका छन्।

सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्वबारे गठबन्धनमा बढेको खटपट घटाउन एकीकृत समाजवादीले नेतृत्व पाए पनि विश्वासको मत पक्का छैन।

नागरिक उन्मुक्तिको सातमध्ये दुई सांसदको समर्थनमा सरकार त बन्यो। तर, दुवै सांसदले मन्त्री नपाएपछि सामाजिक सञ्जालमा समर्थन नरहेको लेखिसकेका छन्। एमाले सरकारमा गएको छैन।

नाउपा र एकीकृत समाजवादी जता गयो उतै सरकार बन्ने अनि केन्द्रको सरकार नि संकटमा पर्ने भएकाले माधव नेपाल अहिले धम्क्याउन सक्रिय छन्।

शनिबार गौर आएका उनले आफू कसैको दास बन्ने व्यक्ति नभएको भन्दै कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए।

देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि  प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएको भन्दै उनले कसैले कमजोर नठान्न चेतावनी दिएका हुन्। चेतावनीको भाषा एमाले अध्यक्ष केपी ओली लक्षित देखिएको थियो।

गृह जिल्ला रौतहटको गौर नगरपालिका-२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्न आएका नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन चेतावनी दिए।

‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ। यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ। हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ’, उनले भने।

एकीकृत समाजवादीले सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद सरकार निर्माणका लागि निर्णायक रहेको भन्दै ती प्रदेश जता जान्छन् उतै सरकार बन्ने र  सरकार छाड्यो भने ढल्ने बताए।

८ बैशाख, २०८१, १३:०६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।