फिल्म ‘फर्की फर्की’को ट्रेलरमा अनमोल र जसिताको सम्बन्धमा उतारचढाव

फिल्म ‘फर्की फर्की’को ट्रेलरमा अनमोल र जसिताको सम्बन्धमा उतारचढाव

काठमाडौं : अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ अभिनित फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ। 

बिहिबार कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। 

ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ भने अनमोललाई भगवान बनाउने प्रयास गरिएको छ। 

सुयोग गुरुङको लेखन र निर्देशन रहेको फिल्ममा रोहित अधिकारीले निर्माण गरेका हुन्। 

ट्रेलर कार्यक्रममा उपस्थित भएका निर्देशक गुरुङले ५ वर्षदेखि फिल्मको तयारी गरेको बताउँदै पहिलोपटक ट्राभल जर्नीमा आफूले फिल्म निर्माण गरेको बताए। नेपाली फिल्ममा पहिलो पटक ट्राभल जर्नीको फिल्ममा आफूले रिक्स मोलेको उनको दाबी छ। 

उनले भने, ‘खासगरी यो जनराको फिल्मका दर्शक र फ्यानहरु ओटीटी प्लेटफर्ममा बढी छन्। ड्रामा, कमेडी र प्रमुख पात्रको जर्नीलाई फिल्ममा देखाइएकाले नेपाली दर्शकका लागि फिल्म फरक स्वादको अवश्य हुनेछ।’

यता फिल्मका अभिनेता अनमोलले यो फिल्मको कथा सुन्दा नै आफूले फिल्ममा चासो बढाएको र काम गर्न इच्छुक भएको बताए। 

उनले, ‘यो चरित्र मेरा लागि चुनौतीपूर्ण नै थियो। तीन वर्षको मेहनतमा त्यो चुनौतीलाई तोड्न सफल भए जस्तो लागेको छ।’

फिल्ममा अनमोल, जसिताका अलावा निर्मल शर्मा, रवि काफ्ले, समृद्धि रिजालको मुख्य भूमिका रहेको छ। यहि फिल्मबाट रवि र सम्बृद्धिले फिल्ममा ‘डेब्यू’ गर्दैछन्।

जेठ १० गते यो फिल्म पूजा शर्मा अभिनित दान्भीसँग भिड्दैछ। 

किन फिल्म भिडाइयो भन्ने प्रश्नमा फिल्मका निर्माता रोहित अधिकारीले आफूहरूले फिल्म नभिडाएको बताए। उनले आफूसँग जुधाउन ल्याउनेहरूसँग नै फिल्म छायांकनको सुरुवातमै सल्लाह भएको तर किन जुधाउन ल्याउनुभयो आफूलाई थाहा नभएको बताए। 

उनले आफ्नो फिल्ममा मेहनत गरेको हुनाले दर्शकको मतलाई आफूले स्वीकार्ने बताए। अनमोललाई लिएर निर्माता अधिकारीले यसअघि फिल्म ‘गाजालु’ निर्माण गरेका थिए। 

उनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ रहेको छ। 

ओएरआर डिजिटलसँगको सहकार्यमा प्रस्तुति रहेको फिल्ममा सुयोगकै कथा एवं पटकथा रहेको छ। 

मनोज वली र रामु न्यौपाने सह­–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन्।

नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन्।

६ बैशाख, २०८१, २०:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।