पब्लिक आई रिपोर्टको दाबी- नेस्लेको सेरलक र मिल्क पाउडरमा चिनी मात्रा बढी, बालबालिकामा मोटोपना बढ्ने खतरा

पब्लिक आई रिपोर्टको दाबी- नेस्लेको सेरलक र मिल्क पाउडरमा चिनी मात्रा बढी, बालबालिकामा मोटोपना बढ्ने खतरा

एजेन्सी : न्यून आय भएका देशहरूमा नेस्लेले बच्चाका लागि उत्पादन गर्ने दुई उत्पादनहरू सेरेलक र मिल्क पाउडरमा चिनीको मात्रा बढी रहेको पाइएको छ।

स्वीडेनको संस्था पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फुड एक्सन नेटवर्कको प्रतिवेदनमा यो दाबी गरिएको हो।

यी दुवै उत्पादनमा नेस्लेले आफ्नै देश स्विट्जरल्याण्डमा भने चिनीबिना नै बिक्री गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

पब्लिक आई र अन्तर्राष्ट्रिय बेबी फूड एक्शन नेटवर्कले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेचिने नेस्ले उत्पादनहरूलाई परीक्षणको लागि बेल्जियमको प्रयोगशालामा पठाएको थियो।

पब्लिक आईको रिपोर्ट अनुसार सेरेलकको एक डोजमा औसत ४ ग्राम चिनी हुन्छ र यो ६ महिनासम्मका बालबालिकालाई दिइन्छ। भारत र नेपालजस्ता देशमा पठाइएका सेरेलकको एक डोजमा ३ ग्राम चिनी पाइएको छ।

द गार्डियनसँग कुरा गर्दै नेस्लेका प्रवक्ताले भनेका छन्, ‘बालबालिकाको उचित वृद्धि र विकास सुनिश्चित गर्न सकियोस् भनेर हामीले बालबालिकाको वृद्धि र विकासको लागि हाम्रा उत्पादनहरूको गुणस्तरमा ध्यान केन्द्रित गरेका गर्छौँ।’

नेस्लेले बेबी फूड बजारको २० प्रतिशत हिस्सा ओगटेको छ भने कम्पनीको भ्यालू ७० बिलियन डलर छ।

एक उजुरीमा नेस्लेले दोहोरो मापदण्ड अपनाइरहेको दाबी गर्दै यसका उत्पादनहरूमा चिनीको मात्रा बढी भएकाले बालबालिकामा मोटोपना बढ्ने खतरा रहेको उल्लेख गरिएको छ।

नेस्लेको सेरेलाक र दूध पाउडर गरिब देशहरूमा सबैभन्दा धेरै बिक्री हुने बेबी फूड उत्पादनहरू हुन्। पब्लिक आईको अनुसन्धानका अनुसार नेस्लेले न्यून आय भएका देशका बालबालिकामा गुलियोको बानी लगाउने दाबी गरेको छ।

विश्व स्वास्थ्य संगठनले सानै उमेरमा चिनीको सेवनले मोटोपना जस्ता रोग लाग्ने खतरा बढ्दै गएको भन्दै चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघको एजेन्सीले सन् २०२२ देखि साना बालबालिकाका लागि प्रयोग गरिने चिनीमा प्रतिबन्ध लगाउन माग गरिरहेको छ।

नेस्लेले सार्वजनिक रूपमा जारी गरेको विज्ञापनमा बालबालिकालाई चिनीयुक्त उत्पादनहरू खुवाउन नहुने पनि दाबी गरेको छ।

६ बैशाख, २०८१, १४:१४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।