विराटनगरमा हिन्दु समूहको र्‍याली मुस्लिम बस्तीमा पस्न खोजेपछि झडप, प्रहरी र स्थानीय घाइते

विराटनगरमा हिन्दु समूहको र्‍याली मुस्लिम बस्तीमा पस्न खोजेपछि झडप, प्रहरी र स्थानीय घाइते

काठमाडौं : रामनवमीको अवसरमा हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्यालीका क्रममा झडप भएको छ।

बुधबार विराटनगरको रानी क्षेत्रमा युवाहरूको एक समूहले वृहत् मोटरसाइकल र्याली निकाल्ने तयारी गर्दैगर्दा अर्को समूहले अवरोध गर्न खोजेपछि विवादको अवस्था सिर्जना भएको हो। 

हिन्दु सम्राट नेपाल मोरङका अध्यक्ष बलराम यादवको नेतृत्वमा निकालिएको उक्त र्याली विराटनगरको १५ र १७ नम्बर वडास्थित मुस्लिम बस्तीतर्फ प्रवेश गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल र्यालीलाई विराटनगर–१५ मा केही स्थानीयले रोक्ने प्रयास गर्दा दुई समूहबीच केहीबेर ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्जसँगै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

सोक्रममा केही प्रहरी र स्थानीयसमेत घाइते भएका छन्। 

अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

५ बैशाख, २०८१, १८:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।