शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटी, शनिबार लुटन टाउनलाई ५–१ अन्तरको हरायो

शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटी, शनिबार लुटन टाउनलाई ५–१ अन्तरको हरायो

एजेन्सी : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। 

शनिबार राति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। 

सिटीले सुरुआती अग्रता उपहारमार्फत लिएको थियो। त्यसपछि माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले एक एक गोल गरेका थिए।

लुटनका लागि रोस ब्राकलेले एक गोल फर्काए। लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। 

पहिलो हाफमा १ गोल भएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भएका थिए। माटेओ कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। 

७६ औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गरेपछि सिटीले ३–० को अग्रता बनाएको थियो। ८१ औं मिनेटमा रोस ब्राकलेले गोल फर्काएपछि लुटन टाउनले अग्रता कम गरेको थियो। 

तर, ८७ औं मिनेटमा जेर्मी र अतिरिक्त समयमा ग्राभाडिओलले गोल थपेपछि अन्ततः सिटी ५–१ को जित दर्ता गर्न सफल भयो।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ। सिटीले ३२ खेलबाट ७३ अंक बनाउँदा एक खेल कम खेलेको आर्सनल र लिभरपुलको समान ७१ अंक रहेको छ।

प्रिमियर लिगकै अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँड्दा बर्नले र ब्राइटनले एक एक गोलको बराबरी खेले। 

यस्तै, न्युक्यासल युनाइटेडले टोटनह्याममाथि ४–० को सहज जित दर्ता गरेको थियो।

२ बैशाख, २०८१, ०८:१५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।