ओलीले ‘साली’ सम्बोधन गर्ने अञ्जान शाक्य एमाले कोटाबाट राष्ट्रियसभा सदस्यमा सिफारिस

ओलीले ‘साली’ सम्बोधन गर्ने अञ्जान शाक्य एमाले कोटाबाट राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं : सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ। जसअन्तर्गत रिक्त रहेको एक सदस्य पदमा पूर्व राजदूत समेत रहेकी शाक्य एमाले कोटामा सिफारिस भएकी हुन्। 

राष्ट्रपतिबाट मनोनीत वरिष्ठ अधिवक्ता रामनारायण विडारीको कार्यकाल सकिएपछि रिक्त कोटामा शाक्य मनोनीत हुने भएकी हुन्। 

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको गीतमा स्वर समेत दिइसकेकी शाक्यलाई एमाले अध्यक्ष केपी ओलीले ‘साली’ भनेर सम्बोधन गर्ने गरेको निकटस्थहरु बताउने गर्छन्। सङ्खुवासभाकी उनी ओली पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन्। 

व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा एक दशक प्राध्यापन समेत गरेकी थिइन। इजरायलका लागि राजदूत भइसकेकी उनी पूर्वसांसद अजयक्रान्ति शाक्यका पत्नी हुन्। 
 

चैत ३०, २०८० शुक्रबार १७:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।