गठबन्धन बन्ने-भत्किने खेलमा पटकपटक असफल कँडेल, पहिलो दलहुँदा हिस्स, तेस्रो दलको हैसियतमा ताजपोस

गठबन्धन बन्ने-भत्किने खेलमा पटकपटक असफल कँडेल, पहिलो दलहुँदा हिस्स, तेस्रो दलको हैसियतमा ताजपोस

सुर्खेत : २०७४ मा मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश सभामा चुनाव लडेका यामलाल कँडेलकाे पहिलो कार्यकाल उपलब्धिहीन बन्याे। कहिल्यै साविक नेकपाका कारण त कहिल्यै पार्टीकै सांसदले 'फ्लाेर क्रस' गर्दा उनकाे मुख्यमन्त्री बन्ने सपना तुहिएयाे। 

माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री भए। त्यसपछि कांग्रेसका जीवनबहादुर शाही बने। मुख्यमन्त्री बन्न उनले पार्टीभित्रै पटकपटक थुप्रै चलखेल गरे पनि सफल भएन। 

०७९ मा उनी मुख्यमन्त्री बन्ने सोचका साथ दोस्रोपटक प्रदेशसभा निर्वाचनमा हाेमिए। कांग्रेस र माओवादीकाे गठबन्धन हुँदा पनि निर्वाचन जित्न सफल भए। ०७९ पुसमा फेरि एमाले-माओवादीबीच गठबन्धन बन्यो। केन्द्रबाट कर्णाली माओवादीकाे भागमा परेपछि उनले माओवादीसँग आधा-आधा कार्यकाल नेतृत्व गर्ने सहमति गरे।

तर, उक्त गठबन्धन पनि लामो समय टिक्न सकेन। फेरि माओवादी कांग्रेसकाे गठबन्धन बनेपछि उनी पछाडि हट्न बाध्य भए। गत फागुनमा फेरि पुरानै गठबन्धन ब्युतिएपछि यो पटक एमालेले  कर्णालीमा भाग माग्यो। त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राजी भए।
  
२०७४ को चुनावमा कर्णालीमा पहिलो दल बनेको एमाले अहिले तेस्रो दलको हैसियतमा खुम्चिएको छ। पहिलो दल बन्दा मुख्यमन्त्री बन्न नपाएका कँडेलको काँधमा यसपटक तेस्रो दल हुँदा कर्णालीको बागडोर आयो। तर त्यसका लागि निकै सकस भएको थियो। माओवादीको केन्द्रबाट पटक-पटक हस्तक्षेप नभएको भए यस पटक पनि मुख्यमन्त्री हुन कठिनै थियो।

मंगलबार उनी माओवादी र एकीकृत समाजवादीकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भए।

उनै कँडेलकाे राजनीतिक पृष्ठभूमि यस्ताे छ :
२५ कार्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाविसमा बुवा मनिराम कँडेल र आमा भागिरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनु पूर्व शिक्षण पेसामा संलग्न थिए।

२०३६ सालमा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए कँडेल। चार जनाले सहादत्त प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो। उनी त्यतिबेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा पढाउँथे। 

किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवारसम्म पुग्यो। तर, उनी नेविसंघका उम्मेदवार हृदयराम थानीसँग पराजित भए।

२०४२/०४३ सालमा झण्डै नौ महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए। २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल क्रियाशील राजनीतिमा संलग्न रहे।

२०४९ सालमा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए। 

उनी २०४९ को स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका थिए। २०५१ सालमा मेयर पदबाट राजीनामा दिई मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै पहिलोपटक संसदीय अभ्यासमा प्रवेश गरेको अनुभव कँडेलसँग छ। 

शंकरदेव क्याम्पसको अनेरास्ववियुको सभापतिमा थानीसँग हारेको बदला कँडेलले यसपटक लिएका थिए। 

२०५१ सालमा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए। मालेमा आबद्ध भए लगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कँडेल पर्यटन तथा नागरिक उडड्यनमन्त्री बने।

२०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा मालेको तर्फबाट उम्मेदवार बनेका कँडेल कांग्रेसका हृदयराम थानीसँग पराजित भए। त्यसपछि उनी २०६४ मा एमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। 

२०७० पुनः सोही क्षेत्रबाट कांग्रेसका हृदयराम थानीसँग कँडेल पराजित भए। यस्तै, २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट निर्वाचित भएका कँडेल दुवै पटक एमाले प्रदेशसभा संसदीय दलको नेतासमेत हुन्।

कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १० औँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य छन्। कर्णालीको इन्चार्जसमेत रहेका उनी हाल स्थायी कमिटी सदस्य र दैलेख इन्चार्जको जिम्मेवारीमा छन्।

एमाले–माओवादी एकताबाट बनेको नेकपा कालमा कर्णाली प्रदेशको सह-इन्चार्ज र स्थायी कमिटी सदस्य रही काम गरेको अनुभव कँडेलसँग छ।

कँडेलले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् भने भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा तथा बेलायत लगायतका देशहरूमा वैदेशिक भ्रमण गएको अनुभव सम्हालेका छन्।

२७ चैत, २०८०, २०:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।