अभावै अभावमा नेपालकै पहिलो ‘शान्ति नमुना अटिजम सिकाई पाठशाला’, सञ्चालनको एक वर्षमै राज्यबाट उपेक्षा

अभावै अभावमा नेपालकै पहिलो ‘शान्ति नमुना अटिजम सिकाई पाठशाला’, सञ्चालनको एक वर्षमै राज्यबाट उपेक्षा

बुटवल : बुटवल लक्ष्मीनगरका आभास कुँवर ६ वर्षका भएपनि आफैँ कपाल कोर्न सक्दैनथे। सर्टका टाँक लगाउन उनलाई मुस्किल पर्थ्यो।

चित्रसँग खेल्न, राम्रोसँग बस्न उनलाई कठिन थियो। दैनिक जीवनमा आफैँले गर्नुपर्ने हरेक गतिविधि आभासलाई सहज थिएन।

अहिले आभासमा धेरै परिर्वतन आएको छ। हातले गर्न सक्ने काम गर्छन्। कपडा आफैँ लगाउँछन्। पेपर आफैँ काट्न सक्छन्। सर्टको टाँक आफैँ लगाउँछन्।

‘पहिले अरूसँग घुलमिल हुन गाह्रो मान्ने बाबु अहिले राम्रोसँग घुलमिल हुन्छ। बाटोमा हिँड्दा राम्रोसँग हिँड्छ। सर्टको बटम लगाउँछ’, आभासकी आमा ज्योति कुँवरले भनिन्।

ज्योति छोरा आभाससँगै विद्यालय जान्छिन्। पीसीपीटी तालिम समेत लिएकी ज्योति छोरा आभासमा दिनानुदिन परिवर्तन भएको बताउँछिन्।

०००

तिलोत्तमा कुञ्जलापार्कका यानिस थापाको पनि दैनिकी सहज थिएन। उनी पनि कपडा लगाउन, जुत्ताका तुना बान्न सक्दैनथे। एकोहोरो हुन्थे। अहिले भने यानिस पहिलेको तुलनामा धेरै काम आफैँ गर्न सक्ने भएका छन्।

कपडा आफैँ लगाउँछन् अनि कापीमा केही अक्षर लेख्न सक्छन्। दिनानु दिन उनमा केही न केही परिर्वतन आएको छ। यानिसका बुवा नरबहादुर थापा छोरामा तुलनात्मक रूपमा धेरै परिवर्तन आएको बताउँछन्।

०००

आभास कुँवर र यानिस थापा दुवै अटिजम भएका विद्यार्थीहरू हुन्। तिलोत्तमा स्थित शान्ति नमुना माध्यमिक विद्यालयले अटिजम भएका बालबालिकाहरूलाई लक्षित गर्दै अटिजम सिकाई पाठशालामा सञ्चालन गरेपछि कुँवर र थापाको दैनिक जीवनमा धेरै परिर्वतन आएको हो।

कुँवर र थापा जस्तै अटिजम भएका विद्यार्थीहरूको दैनिक जीवनलाई परिर्वतन गर्ने भन्दै अटिजम सिकाई पाठशाला एक वर्षअघि मात्र सञ्चालनमा आएको हो। सरकारी स्तरमा शान्ति नमुना विद्यालय, अटिजम सिकाई पाठशाला नेपालमै पहिलो अटिजम विद्यालय हो।

सञ्चालनको एक वर्ष पुग्दा नपुग्दै यो विद्यालय राज्यबाट भने उपेक्षा परेको छ। कुँवर र थापा जस्तै अटिजम पाठशालामा २० विद्यार्थीहरू छन्। तर, उनीहरूले आधारभुत सिकाई मात्र प्राप्त गरेका छन्।

२० विद्यार्थीलाई दुई शिक्षिकाहरू शारदा घिमिरे र सरस्वती भण्डारीले दैनिक हेरचार र अध्ययन गराउँदै आएका छन्। यी दुवै शिक्षकलाई प्रदेश सरकारले तलब दिने गरी राखेको छ।

डा. शतिस रूपाखेतीले नेतृत्व गरेको अटिजम केयर सोसाईटी लुम्बिनीको पहलमा सुरु भएको यो विद्यालयमा अझै पनि दक्ष जनशक्ति छैन। साँघुरो विद्यालयमै विद्यार्थीहरू सिकाई गर्न बाध्य छन्।

विद्यालयकी शिक्षिका शारदा घिमिरे विद्यालयमा सिकाई सामग्री नहुँदा विद्यार्थीहरूलाई सिकाउनै अप्ठयारो हुने गरेको बताउँछिन्। उनका अनुसार सिकाई सामग्री मात्र होइन, विद्यालयमा थेरापी गराउने शिक्षक पनि छैनन्।

उनी भन्छिन्, ‘अटिजम भएका बालबालिकाहरूलाई स्पिच थेरापी, सेन्सोरी थेरापी, अकुपेसनल थेरापी, फिजियो थेरापी, संगीत थेरापी, आर्ट थेरापी, खेलकुद थेरापी, नृत्य चाल थेरापी तथा योगा थेरापी गराउनुपर्ने हुन्छ। तर, विद्यालयमा जनशक्ति नहुँदा थेरापी गराउन गाह्रो छ।’

विद्यालय सञ्चालनलाई दीगो बनाउन स्थानीय, प्रदेश र संघ सरकारले गम्भीर लाग्नुपर्नेमा उनको जोड छ। जनशक्ति थप भएमा विद्यालयमा अझै धेरै विद्यार्थीहरू राख्न सकिने उनी बताउँछिन्।

‘हामीसँग सम्पर्कमा ६० जना अटिजम प्रभावित बालबालिका छन्,’ उनी थप्छिन्, ‘तर भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा राख्न सकिएको छैन।’

विद्यालयमा बुटवल, तिलोत्तमा र सैनामैनाका विद्यार्थीहरूले अध्ययन गर्छन्। उनीहरू अभिभावक सँगै आउँछन्। शिक्षिका सरस्वती भण्डारी यातायातको प्रबन्ध नहुँदा पनि अटिजम भएका विद्यार्थीहरूलाई विद्यालय आवाजजावतमा समस्या भएको बताउँछिन्।

‘सार्वजनिक सवारी साधनको प्रयोग गर्दा उनीहरूलाई अप्ठयारो भएको छ। कम्तीमा विद्यालयकै सवारी साधन भए विद्यार्थीहरूलाई सहज हुन्थ्यो। यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ’, उनी भन्छिन्।

शान्ति नमुना विद्यालय अटिजम सिकाई पाठशालामा ५ देखि ११ वर्षभित्रका अटिजम प्रभावित बालबालिकाहरूलाई राख्ने गरिएको छ। ६ कोठा रहेको विद्यालयको भवनमा २ कोठामा विद्यार्थीहरू राखिएको छ भने अन्य ४ कोठामा उनीहरूलाई रेखदेख गर्ने गरी मिलाइएको छ। 

विद्यालयका सह प्राचार्य किशोर कुमार खनालले अटिजम भएका बालबालिका अध्ययन गराउन सुरु गरेपनि यसमा सरोकारबाट प्रयाप्त सहयोग नभएको बताए।

उनले विद्यालयमा धेरै अटिजम प्रभावितहरूलाई राख्न सक्ने भएपनि पूर्वाधार र जनशक्तिको समस्या रहेको दोहोर्याए।

‘सरकारी स्तरमा हामीले प्रयास गरेका हौँ। प्रदेश सरकारले दुई शिक्षक दिएको छ। तर, हामीलाई आवश्यक पर्ने डाक्टरहरू यहाँ हुनुहुन्न। दरबन्दी विद्यालयमा छैन। यसतर्फ राज्यका निकायले सोचिदिए धेरै लाभाम्वित हुने थिएँ’, उनले भने।

अभिभावक नरबहादुर थापाले पनि विद्यालयमा अझै पनि धेरै आवश्यकता रहेको भन्दै यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए।

नेपालमा विद्यालयमा विशेष शिक्षाको व्यवस्था सहज नभएका कारण अटिजम भएका बालबालिका ठूलो मर्कामा परिरहेको महसुस भएपछि विद्यालय सञ्चालनका लागि पहल गरेको अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिश रूपाखेतीले बताए।

‘हामीले यो संस्था ०७४ सालमा २३ जना अभिभावक मिलेर सञ्चालन गर्यौं। दुई महिना बालबालिका र अभिभावकलाई सँगै राखेर तालिम दिएपछि अब के गर्ने भन्ने छलफलबाट सिकाई पाठशाला सञ्चालनका लागि पहल गरेका हौँ। त्यो बेलाका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सहयोग गरेकै कारण पाठशाला सञ्चालनमा आयो’, उनले भने।

उनले अटिजम प्रभावित विद्यालय सञ्चालनका लागि शान्ति नमुना माध्यमिक विद्यालयले सक्दो सहयोग गरेको भएपनि राज्यले भने कम चासो दिएको बताए।

‘५ कठ्ठा जग्गा विद्यालयले दिएर अहिले पाठशाला सञ्चालनमा छ। २ जना शिक्षक प्रदेश सरकारले दिएपनि अझै जनशक्ति अभाव छ। यसमा सरकारले ध्यान दिनुपर्छ’, उनले भने।

उनले समग्र लुम्बिनी प्रदेश भर भएका अटिजम प्रभावित बालबालिकाहरू सबैले सुविधा पाउनुपर्ने भन्दै राज्यले सरकारी र निजी दुवै विद्यालयहरूमा अनिवार्य १० प्रतिशत अटिजम प्रभावित बालबालिकाहरूलाई राख्ने व्यवस्था गर्नुपर्ने समेत बताए।

‘एउटा छुट्टै इकाई सञ्चालन गरेर राज्यले दायित्व बहन गर्नुपर्छ। सबै विद्यार्थीहरू सामु हुँदा उनीहरूलाई घुलमिल हुन र समाजले पनि यसबारे बुझ्न पनि सजिलो हुन्छ ’, उनले थपे।

उनले अटिजम भएका बालबालिकाहरूका लागि पाठशाला सञ्चालनमा आएसँगै अटिजम भएका धेरै व्यक्तिहरू शिक्षाबाट बञ्चित वा घरभित्र बाँधिएर वा थुनिएर बस्नुपरेको अवस्था केही भएपनि अन्त्य भएको बताए।

अटिजम भएका बालबालिकाहरूको रेखदेखका लागि अभिभावकहरूको ठूलो भूमिका रहने भन्दै उनले समाजमा पनि अटिजम सचेतना कार्यक्रम गर्नुपर्ने बताए।

‘अटिजम अपाङ्गता होइन, विशेष अवस्था हो। त्यसैले राज्यले यसतर्फ पनि विशेष तरिकाले हेर्नुपर्छ। राज्यले अटिजमलाई छुट्टै तरिकाले हेरेमा समाजमा रहेका धेरै अटिजम प्रभावित बालबालिकाहरू लाभाम्बित हुन्छन्’, उनले भने।

अटिजम के हो ? लक्षण के देखिन्छन् ?
अटिजम कुनै रोग होइन, बौद्धिक अपाङ्गता पनि होइन। मष्तिस्कको एक विशेष अवस्था मात्रै हो। मस्तिष्क र स्नायू कोषहरूको स्वभाविक विकास क्रममा हुने असमान अवस्थाको रूप अटिजम हो।

यसलाई नेपालीमा आत्माकेन्द्रित व्यवहार भनिन्छ। व्यक्तिको मस्तिष्कमा स्नायू कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पना शक्तिको विकासमा असर पुग्छ।

अटिजम भएका बालबालिकाहरू आफ्ना उमेरका साथीसँग खेल्न रुचाउँदैनन्। असान्दर्भिक हसाइँ तथा रुवाइ, आँखा जुधाउन नसक्नु, एक्लै बस्न रुचाउनु, बोलाउँदा नबोल्ने, शब्द वा वाक्य दोहोराउने जस्ता लक्षण देखिने गर्दछन्।

२६ चैत, २०८०, ०९:३२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।