कांग्रेसभित्र उमेदवार छान्नै सकस, देउवा र शेखर-गगन समूहको आआफ्नै अडानले बैठक भाँडियो

कांग्रेसभित्र उमेदवार छान्नै सकस, देउवा र शेखर-गगन समूहको आआफ्नै अडानले बैठक भाँडियो

काठमाडौं : उपनिर्वाचनमा उमेदवारको टुंगो लगाउन मंगलबार बसेको नेपाली कांग्रेसको बैठकमा विवाद उत्पन्न भएको छ।

कांग्रेसले बोलाएको कार्यसम्पादन र संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन सकेन।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले इलामका सभापति डम्बर खड्कालाई उमेदवार बनाउने अडान राखे। त्यसउपर चित्त बुझाउन नसकेको गगन-शेखर समूहका नेता शेखर कोइरालाले निकटता मात्रै हेरेर निर्णय लिने भए हार र जितका जिम्मा सभापतिले नै लिनुपर्ने चुनौती दिए।

बैठकमा सहभागी एक नेताका अनुसार शेखरले इलाम -२ मा भेषराज आचार्यलाई उमेदवार बनाउनुपर्ने बताएका छन्।

स्रोतका अनुसार सुरुमा महामन्त्री गगन थापाले सभापति र उपसभापतिसँग छलफल गरेका थिए। तर, उनीहरूले अडान नछाडेपछि महामन्त्री थापाले शेखरलाई देउवा र खड्कासँग संवाद गर्न आग्रह गरेका थिए।

त्यसपछि शेखरले सभापति देउवासँग इलाममा खड्काले चुनाव हार्ने भन्दै आचार्यलाई उठाउनुपर्ने तर्क राखे। 

शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरिसकेको छ। तर, तपाईंहरु फेरि पनि हारेकैलाई उठाउन खोज्दै हुनुहुन्छ। यो ठीक भएन।'

यसपटक भने शेखरको भनाइलाई उनका भाइ एवं पार्टीका केन्द्रीय सदस्य शंशाक कोइरालाले पनि साथ दिएका थिए। 

शशांकले भने, 'दाइको कुरामा मेरो पनि सहमति छ।'

यति गर्दा पनि सभापति देउवा 'कन्भिन्स' नभएपछि शेखर र शंशांक बैठक छाडेर हिँडेका थिए। गगन भने यस्अघि नै बाहिरिइसकेका थिए।

त्यस्तै, बझाङ १(१) मा शेखर-गगन समूहले जगत जोशी उम्मेदवार हुनुपर्ने अडानमा राखेपछि सहमति नभएको ती नेताले बताए। जबकि देउवा पक्षले भने बझाङ प्रदेशसभा–१ बाट ४ मंसिरमा निर्वाचित पृथ्वी सिंह दुर्घटनामा परेर निधन भएकाले उनकै छोरा अभिषेकलाई टिकट दिनुपर्ने धारणा राखेका थिए।

शेखर–गगन पक्षले भने गत स्थानीय तहको निर्वाचनमा अभिषेक वडाध्यक्ष पदमा पनि तेस्रो स्थानको मत ल्याएकाले प्रदेशसभाको टिकट दिन नहुने अडान लिएका थिए।

बैठकमा सहभागी ती नेताका अनुसार उनीहरुले सिंह भन्दा जगत जोशी बलियो उम्मेदवार रहेको बताएका थिए।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार टुंगो लगाएर मत माग्न थाले पनि कांग्रेसले टुंगो लगाउन सकेको छैन।

आजको बैठकले उमेदवार टुंगो लगाउन नसकेपछि सभापति देउवाले बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

२० चैत, २०८०, २०:१६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।