व्यापारी हत्या र अवैध जडीबुटी ब्यापारको आरोपमा १५ वर्षदेखि फरार रहेका माओवादी पूर्वलडाकु खाम पक्राउ

व्यापारी हत्या र अवैध जडीबुटी ब्यापारको आरोपमा १५ वर्षदेखि फरार रहेका माओवादी पूर्वलडाकु खाम पक्राउ

काठमाडौं : हत्या, अवैध हतियार, जडीबुटी ब्यापार र लुटपाटको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका माओवादीका पूर्वलडाकु कालीबहादुर खाम १५ वर्षपछि पक्राउ परेका छन्।

उनलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

खाममाथि २०६५ वैशाख १५ मा व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेपछि भूमिगत थिए। ठमेलमा यार्सा व्यापारी लुटेको र अवैध हतियार राखेको थप आरोप लागे पनि उनी पक्राउ परेका थिएनन्।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको आरोप लागेका खाम १५ वर्षदेखि नै प्रहरीको फरार सूचीमा थिए।

उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको डिभिजन कमान्डर थिए। उनी फरार सूचीमा रहे पनि माओवादी नेतृत्व सरकारमा जाँदा बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा सहजै आउजाउ गरिरहे पनि पक्राउ परेका थिएनन्।

माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा बनेपछि केपी ओली प्रधानमन्त्रीहुँदा समेत उनी बालुवाटारमा देखिएका थिए। प्रहरीले लामो समयदेखि खामलाई पक्राउ गर्ने प्रयास गरे पनि उनी पक्राउ परेका थिएनन्।

२० चैत, २०८०, १६:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।