महाजात्रा : दर्शक हँसाउने चक्करमा खलबलिएको पटकथा, अर्थहीन थप पात्र

महाजात्रा : दर्शक हँसाउने चक्करमा खलबलिएको पटकथा, अर्थहीन थप पात्र

‘जात्रा’को सफलताबाट हौसिएका लेखक तथा निर्देशक प्रदीप भट्टराई ‘जात्रैजात्रा’हुँदै ‘महाजात्रा’सम्म आइपुग्दा सबलताभन्दा दुर्बलता नै बढाएका छन्। सिक्वेल निर्माणमा एकपछि अर्को फिल्ममा सुधारको अपेक्षा हुनु स्वाभाविकै हो। तर ६ वर्षको दौरानमा पहिलो फिल्म ‘जात्रा’ पछिका दुवै सिक्वेल कमजोर देखियो।

जात्रैजात्रा होस् या महाजात्रा सबैभन्दा ठूलो कमजोरी नै पटकथामा देखियो। निर्देशक भट्टराई नै फिल्मका लेखक समेत भएकाले स्वाभाविक रूपमा यसको अपजस उनको काँधमा आउने नै भयो।

कमजोरीबाट सिक्दै कथा, पटकथा र चरित्र निर्माणसँगै कथ्य शैली कसिलो र सुन्दर हुनुपर्नेमा यो शृङ्खलामा निर्देशक उल्टो बाटो हिँडेका छन्। जात्राको तुलनामा जात्रैजात्रामा आइपुग्दा पटकथाको लय गुमाएका थिए। ‘महाजात्रा’मा आइपुग्दा पटकथासँगै पात्रको चरित्र चित्रण र क्लाइमेक्समा चुके निर्देशक। यसमा स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डितको भागमा धेरथोर पर्छ नै।

फिल्म ‘जात्रा’, ‘जात्रैजात्रा’ हेरिसकेका दर्शकका लागि पात्र अनि कथा नयाँ लाग्दैन र छैन पनि। मनमा इमानदारी भए पनि परिस्थितिले निम्त्याउने लोभले ल्याउने सङ्कट,महाजात्राको कथा पनि यही हो।

पहिलो फिल्मबाटै कथा डोर्याउने तीन पात्र फणीन्द्र, जोयस र मुन्नामार्फत नै निर्देशकले महाजात्राको कथा डोर्याउने प्रयास गरेका छन्।

पहिलोमा बैङ्क लुटिएको पैसा व्यवस्थापनको सकसलाई देखाएका उनले दोस्रो सिक्वेल जात्रैजात्रामा सुनसँग जोडे। तेस्रो महाजात्रामा कालोधन निर्माण गरेर त्यसलाई लुकाउने प्रयासमा पात्रहरूले पाएको सकसको कथाबाट फिल्म अगाडि बढेको छ। 

महाजात्रासम्म आइपुग्दा निर्देशकले कमेडी जनरामा सामाजिक दायित्व मिसाउँदै राजनीतिक विकृतिलाई समेत उजागर गर्ने प्रयास गरेका छन्। कथाको परिधी बढाए पनि चरित्रचित्रणको आयातन बढाउन सकेनन् निर्दशकले।

गरिबीका कारण घरज्वाइँ बस्न बाध्य मुन्ना (रवीन्द्र झा) हिरो बन्ने चाहनाले भुटभुटिएका जोयस (रवीन्द्र सिंह बनियाँ),  हातमा सिप भए पनि बेरोजगार भएर ससुराको नाबालक छोरी स्याहारेर बस्न बाध्य फणीन्द्र (विपिन कार्की) काम खोज्नेक्रममा पून एकै ठाउँमा भेटिन्छन्।

तीनै जनालाई कालोधन व्यवस्थापनका लागि चलाखीका साथ राजाराम पौडेलले एकै थलोमा जम्मा पारेर विपिनलाई चालक, रवीन्द्रलाई सेल्स म्यानेजर अनि रवीन्द्र झालाई लोडर बनाउँछन्।

सामान ढुवानीको बहानामा कालोधन लुकाउने जिम्मेवारी आइपुग्छ उनीहरुमा। उनीहरूले पैसा लुकाउने क्रममा पाएको सकस नै फिल्मको मूल कथा हुनुपर्ने हो, तर त्यसमा सहायक कथाहरू समेत जोडेर निर्देशकले फिल्म निर्माण गरेका छन्।

महाजात्रामा कालोधनको मूल व्यक्ति खोज्ने प्रहरी, कालोधन लुकाउन जस्तोसुकै जोखिम मोल्न तयार हुने नेता र नेता दुरुपयोग गर्ने व्यापारी पात्रमार्फत कमजोर कथा अगाडि बढेको छ।

तेस्रो शृङ्खलामा नेताको भूमिकामा पुण्यप्रसाद उपाध्याय (हरिवंश आचार्य), प्रहरीको भूमिका भाइरल इन्स्पेक्टर (दिव्य देव) र घुस्याहा प्रहरीको भूमिमा प्रवीण खतिवडा जोडिएका छन्।

‘कि त ज्वाईँ नभनिस्यो, कि त तँ नभनिस्यो’ जस्ता वानलाइनर डायलग फिल्मको सबैभन्दा बलियो पक्ष हो। तर, ती अधिकांश टिजर र ट्रेलरमै आउट भइसके पनि यसले दर्शकलाई केही हदसम्म हलमा बाँधिराखेको छ। फणीन्द्रसहितका पात्रले निर्दोष पारामा हान्ने पञ्चलाइनमा दर्शक रमाएका छन्। तर, फिल्मको अन्य पक्ष वाह लायक देखिँदैन।

महाजात्रामा जात्रैजात्रामा भन्दा फरक फणीन्द्र एक सन्तानको बाउबाट दुई सन्तानको बाउ भएका छन्। ठेला साहुनीबाट वर्षा राउत ब्यूटी पार्लर साहुनी भएकी छिन्। केही पात्र थपिएका छन् तर कथा र कथ्य शैलीमा न नयाँपन छ न रचनात्मकता।

फिल्मको हाफ टाइमसम्म हलमा दर्शकहरू हाँसेको आवाज सुनिन्छन्। फिल्मका मुख्य तीन पात्रको वरिपरि दौडिएको कथालाई निर्देशकले जब राजनीतितर्फ घुमाउँछन् अनि हलमा हा..हा..हा कम, हा...इइईको आवाजको मात्रा बढ्दै जान्छ।

दुई जनालाई हत्कडी लगाएर दौडिरहेको प्रहरी निरीक्षकबाट फिल्मको प्रारम्भमा गराएर निर्देशक भट्टराइले फिल्म अतिरञ्जनाले भरिएको छ है भन्ने सङ्केत गरेका छन्।

प्रहरी निरीक्षकलाई निर्दोष बनाउने र आफू पनि अपराधबाट उम्कने तनावबीच तीन जनालाई मोटरसाइकलमा शहर घुमाउँदै 'साथी' गीत बजाएर होस्, फिल्मका पात्रमा आउने परिवर्तन अनि नाटकीय अन्त्य गराएर होस् निर्देशकले यो अतिरञ्जनाको कमजोरीलाई इमानदारिताका साथ निरन्तरता दिएका छन् फिल्ममा।

तीन पात्रको भेट जुराउन चयन गरेको झुर प्लटले हँसाउदैन, टिठ लगाउँछ। बिचरा निर्देशक! जात्रैजात्राको अन्त्य तस्करीको सुन पचाउन सफल भएको सुखदबाट गरेका निर्देशकले महाजात्रामा त्यो प्रसङ्ग धोकाको रूपमा जोडेका छन्। तर धोका कसले दियो फिल्मभरि खुल्दैन, खुलाउन  निर्देशकले चासो दिएका छैनन्। उनको ध्यान त्यसैमा दर्शक अल्झाउनमै केन्द्रित देखिन्छ।

मन नभए पनि परिबन्दमा परेर पटक पटक अपराधकर्ममा लागेका पात्र जात्रैजात्रामा जस्तै अब अपराध गर्न चाहँदैनन्। तर यो पटक पनि बाध्य पारिन्छ। कथाले बाध्य पार्न सकेको भए मजा आउथ्यो तर निर्देशकले मात्र बाध्य पारेकाले त्यति मजा आउँदैन।

सुनबाट आएको तीन करोडमध्ये तीनै जनाले पैसा नपाएको र एक अर्कामाथि शङ्का गरेको देखाइन्छ। त्यसैले त भेट्नासाथ झम्टिन्छन्। तर किन शङ्का गरेको खुल्दैन। तीनै जनालाई मन नलागी फेरि अपराधमा सहभागी हुन बाध्य पार्ने सुत्र एकै छ। जात्रा र जात्रैजात्रामा वर्षाको चरित्र बिचरी बनाएका निर्देशकले यसमा पनि उही 'बिचरी'  र दोधारे चरित्रलाई नै निरन्तरता दिएका छन्।

श्रीमान् फणीन्द्र पहिला अपराध गर्न चाहँदैनन् तर पछि लोभिएर सहजै सहमत हुन्छन्। उनी श्रीमानलाई खराब काम गर्न नदिन सधैँ सङ्घर्ष गर्छिन्। तर अन्तमा श्रीमती सधैँ लोभमा अपराधकर्म गर्ने श्रीमानलाई नै साथ दिन्छिन्।

'जात्रैजात्रा'मा निर्देशकले वर्षालाई ठेलागाडामा खाजा बेचेर बस्न राजी हुने तर अपराध गर्दै हिँड्ने श्रीमानसँग नबस्ने चरित्र निर्माण गराएर अन्तमा सुन तस्करीको पैसा पचाउन सहयोगी बनाएका छन्। यो भनेको मौका नपाएसम्म बदमासी नगर्ने, पाए नछाड्ने द्वैध चरित्रमा हो।

'महाजात्रा'मा उनलाई ब्युटी पार्लर सञ्चालक बनाएर ३० लाखको लोभमा कालोधन लुकाउन सहमत हुँदा फसेका श्रीमानलाई उम्काउन सहयोगी बनाइएको छ।

इन्टरभल अगाडिसम्म सुस्त भए पनि एक हदसम्म बगिरहेको कथा इन्टरभलपछि सम्हालिनै नसक्नेगरि अलमलिन थाल्छ। पैसा लुकाउन तीन पात्रले गरिरहेको सङ्घर्षमा नयाँ पात्रहरूको प्रवेशसँगै कथ्य शैलीमा निर्देशक अलमलिन थाल्छन्।

इन्टरभलपछि राजनीतिको आडमा हुने आपराधिक गतिविधि र निर्दोषहरू कसरी दोषी बनाउँछन् भन्ने देखाउन खोज्दा निर्देशक ठाउँठाउँमा फुस्किएका छन्। नेताको चरित्रचित्रणमा राजनीतिक वास्तविकता पस्कने लक्ष्यभन्दा भँडासको मात्रा बढि देखिन्छ।

परिवेश बदलिएको छ तर फणीन्द्र, जोयस र मुन्नाको चरित्र चित्रण खँदिलो हुनुपर्नेमा झन् खोक्रो बन्दै गएको छ। तीनै जनाको पैसाप्रतिको लोभको कारण जात्रादेखि नै एकै लयको छ। महाजात्रामा पुग्दा फणीन्द्रको आर्थिक हैसियत बदलिएको छ। तर फडीन्द्र बनेका विपिनको चरित्र बदलिएको छैन। निखारको अनुभव हुनुपर्नेमा अभिनय शैलीमा स्खलन प्रष्ट अनुुभव हुन्छ।

निमोनिया हुँदा छातीमा लागेको दाग एक्सरेमा लुकाउन दही खाएर एक्स-रे गर्न जानुपर्छ भन्ने तर्क गर्दै मुन्नालाई चिकित्सकबाट औषधीको रूपमा दिनको तीन पटक दही खुवाएका छन् निर्देशकले। केही चिकित्सँग यसबारे जिज्ञासा राख्दा एक्स-रे गर्नु अगाडि दही खाएर जाँदा दाग नदेखिने सम्भावना भए पनि निरन्तर दही खाँदा दाग निको नहुने बताए। यसले दर्शकमा भ्रम त फैलायो नै यो दृश्यको महत्त्व दर्शकलाई जवर्जस्ती हँसाउने प्रयासभन्दा अर्को देखिँदैन। दही खाने केही दृश्यले दर्शक रमाउँछन् पनि तर पटक-पटक दोहोरिँदा झ्याउँ लगाउँछ।

पुण्यप्रसादको चरित्र स्थापित गर्न निर्देशक जसरी असफल भए उस्तै पारा देखाएका छन् भाइरल इन्स्पेक्टरको हकमा पनि। सुपरम्यान पारामा इन्ट्री गराएको पात्रलाई हतारमा अन्त्य गराएका छन्।

हाँस्यरसमा भावुकता मिसाउन शव बुझ्न नमान्ने श्रीमतीको कथाले दर्शकको मन चस्स गराउन सकेका छैनन् निर्देशक। न त फणीन्द्र र छोराबीचको मिलन वा पुण्यप्रसादको मन एक्कासी बदलिने दृश्यले नै दर्शकलाई भावुक बनाउन सफल भएको छ।

पुण्यप्रसादको मन बदल्न निर्देशकले छोरा पात्र निर्माण गरेका छन्। कतै उनलाई एडिक्ट देखाउन खोजिएको छ त कतै स्त्रिलम्पट। आवेगमा आएर कुटपिट गर्ने छोरालाई शान्त पार्न पुण्यप्रसादले एक ठाउँमा सालोलाई 'जा त्यसलाई निकोटिन दे' भनेका छन्।

निकोटिनको अम्मल चुरोट,खैनी लगायतका कुलत हो। यो कुलत हो तर यसको रियाक्सन व्यक्तिको चरित्रै परिवर्तन गर्ने ब्राउनसुगर लगायतका अन्य हार्डड्रगको जस्तो हुन्न। निकोटिनको डोजले शान्त हुने  हाइ एडिक्सन के होला? निर्देशकले वास्ता गरेका छैनन्। त्यो सन्की हो है भन्ने देखाउन पात्रबाट एक डायलग बोलाए अनि टुंग्याए। छोराका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुने चरित्र बनाउने प्रयास भएको पुण्यप्रसादको। तर 'एस पापा-ओके  पापा' भनाएकै आधारमा बाउ-छोराको आत्मियता स्थापित हुँदैन।

आफू अपराधबाट चोखिने रणनीतिमा रहेका पुण्यप्रसादले पोडियममा छोराको भिडियो कल हाइभोल्युमा राखेर सुन्दा पनि माइकले टिप्दैन। अर्धनग्ग छोराको भिडियो लाइभ गर्दिने धम्कीकै भरमा उनमा आउने नाटकीय परिवर्तन उस्तै हाँस्यास्पद देखिन्छ।

फणीन्द्रले गाडीमा तीन करोड पैसा छ भन्ने थाहा पाएपछि चेकिङको समयमा जोयसलाई पेट काट्यो भनेर चौरतिर दौडन्छन्। तर एकछिनपछि त्यही प्रसङ्गमा जोयस पात्रले 'पिसाब गर्न भनेर किन भागेको मलाई थाहा छैन र' भन्छन्। पेट कटक्क कटाएर पात्रलाई पिसाब गराउन पठाउने निर्देशकको सेन्स काइदाको छ।

फिल्मको छायाङ्कन तीन पात्रको क्लोजसटमा बढी केन्द्रितहुँदा वाह बन्न सकेको देखिएन। पटकथा र कथा मात्रै हैन जात्राबाट महाजात्रामा आइपुग्दा सिनेमाटोग्राफी पनि उही शैलीमा ओरालो लागेको देखिन्छ।

पात्रको अभिनय पनि औसत लाग्छ। जात्रामा वाह लाग्ने यी तीनैको चरित्र महाजात्रामा आइपुग्दा ह्याँ भन्ने चरणमा पुगेको छ। विपिनले फणीन्द्रको चरित्रमा बस्ने भरमग्दुर प्रयास गरेका छन्। तर हँसाउने चक्करमा झ्याउँलाग्दो देखिएको छ। मुन्ना बनेका झाको चरित्र झन्झन् कमजोर बन्दै गएको छ। बरु रवीन्द्रसिंह बानियाँको अभिनयमा केही सुधार देखिन्छ।

अभिनेता हरिवंश आफ्नो भूमिकामा जम्न सकेका छैनन्। उनको चरित्रमा दर्शक न हाँस्न सक्छन् न रिसाउन। फिल्ममा वर्षाको अभिनय एकै शैलीको छ, न वाह न छ्या तहको।

भाइरल इन्स्पेक्टर बनेका दिब्य देवले अभिनय यात्रामा सम्भावना देखाएका छन्। चियावाला बनेको उनको दृष्य सुन्दर छ।  प्रविण खतिवडा कथामा किन आए अनि किन हराए वास्तैै हुन्न दर्शकलाई। अर्जुनजंग शाही अभिनयमा फर्किएको दर्शकले चालैै पाउँदैनन्।

फिल्मको प्रारम्भकै ब्याकग्राउण्ड म्युजिकले 'कमेडी क्लव विथ कपिल'को कार्यक्रमको म्युजिक सम्झाउँछ। फिल्मका केही फ्रेमले हिन्दी फिल्मका केही फ्रेमको झल्को  दिन्छ।

फिल्ममा समावेश गीत ‘हाम्रो जोडी’को कुनै अर्थ देखिँदैन कथामा। फिल्म लम्ब्याउन भने काम लागेको छ।  'साथी' गीत मिठो सुनिएको छ। तर कथाको बहावसँग मेल खाँदैन। यी दुबैलाई प्रमोशनल गीत मात्रै बनाउँदा पनि फरक पर्ने देखिन्न।

पछिल्लो समय फिल्महरूमा प्रडक्ट डिस्प्ले बढ्दो क्रममा छ। महाजात्रामा पनि निर्देशकले कालोधन ‌ओसार्ने गाडीदेखी, पार्लर अनि हात धुने वेसनसम्ममा प्रडक्ट डिस्प्ले गराएर झिँजोलाग्दो बनाएका छन्। प्रडक्ट डिस्प्लेमा रचनात्मक प्रयोग नगरे फिल्मको लय बिग्रन्छ कि भन्नेमा निर्देशकले त्यति चासो लिएको देखिएन।

जति लचिलो भए पनि त्यसको तन्किने मात्रा निश्चित हुन्छ। अधिक तन्किए नतिजा चुँडिने नै त हो। सोझा पात्र जो परिबन्दले अपराधमा परेर पाउने हन्डरको कथा जात्राबाट तन्काएर निर्देशक भट्टराईले महाजात्रासम्म ल्याउँदा त्यो अब चर्चर् चर्किन थालिसकेको देखियो। अब ब्राण्डभ्युलको लोभमा अझै तन्काए नतिजा उही चुँडिने नै त हो।

११ चैत, २०८०, १३:४४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।