'चौतर्फी विरोध हुँदा पनि गृहमन्त्री लामिछाने पदमा बसिरहनुको पछाडि रहस्य छ'

'चौतर्फी विरोध हुँदा पनि गृहमन्त्री लामिछाने पदमा बसिरहनुको पछाडि रहस्य छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्।

उनले सडकदेखि संसद्‌सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको हुनसक्ने बताए।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुङ्गो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो,’ कोइरालाले भने।

काठमाडौँको मध्येबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए।    

हरेक परिवर्तनमा काठमाडौंबासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए।

भेटघाटमा स्थानीय कार्यकर्ताहरूले पार्टीमा चाकडी प्रथा हाबी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको लगायतका गुनासो गरेका थिए।

१० चैत, २०८०, १४:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।