वन मन्त्रालयमा फाइल रोकिएपछि बुटवल औद्योगिक क्षेत्र विस्तारको ‘च्याप्टर क्लोज’

वन मन्त्रालयमा फाइल रोकिएपछि बुटवल औद्योगिक क्षेत्र विस्तारको ‘च्याप्टर क्लोज’

बुटवल : बुटवलमा रहेको बुटवल औद्योगिक क्षेत्र विस्तार अब नहुने भएको छ। औद्योगिक क्षेत्र विस्तारका लागि बारम्बार यस क्षेत्रका उद्योगीले आवाज उठाउँदै आएका थिए।

उद्योगीको माग अनुसार औद्योगिक क्षेत्रको उत्तरपूर्व र पश्चिम तर्फको करिव ५५० रोपनी क्षेत्रफल विस्तार गर्ने योजना अघि बढेको थियो। तर, वन मन्त्रालयमा फाइल अड्किएपछि औद्योगिक क्षेत्र विस्तार रोकिएको थियो।

तत्कालीन वन मन्त्री रहेको अवस्थामा दिपक बोहोराले वन मन्त्रालयमा फाइल रोकिएदिएका थिए। वन मन्त्रालयमा फाइल रोकिए पनि बेला-बेला सरकारले औद्योगिक क्षेत्र विस्तार गर्ने योजना बजेटमा समेत समावेश गर्दै आएको थियो।

अहिले उक्त योजनाको फाइल वन मन्त्रालयमा रोकिएकै अवस्थामा अब औद्योगिक क्षेत्र विस्तार सधैँका लागि ‘च्याप्टर क्लोज’ भएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए।

उनले भने, ‘२ वर्षअघि सरकारले विस्तारको योजना बनाएको थियो। बजेट पनि छुट्याएको थियो। तर, मोतिपुरमै औद्योगिक क्षेत्र बन्ने भनेपछि बुटवलको औद्योगिक क्षेत्र विस्तारको विषय बन्द भएको छ।’

वनतर्फको जग्गामा औद्योगिक क्षेत्र विस्तार गर्दा रुख काट्नुपर्ने थियो। तर, रुख कटानको स्वीकृत नै नदिइएपछि विस्तारको योजना रोकिएको हो। औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले उद्योगको क्षमता विस्तार गर्न जग्गा माग गरेपछि औद्योगिक क्षेत्र विस्तारको योजना अघि बढाइएको थियो।

उद्योगीले बुटवल धागो कारखानासहितको जग्गालाई अन्य उद्योग खोल्नका लागि दिनुपर्ने माग गर्दै आएका छन्। तर यसको सुनुवाइ भने हुन सकेको छैन।

‘अब मोतिपुरमा औद्योगिक क्षेत्र बनेपछि सबै उद्योगहरूले भनेजति जग्गा पाउनेछन्। वन मन्त्रालयबाट रोकिएपछि अब बुटवलको औद्योगिक क्षेत्र विस्तार हुन सक्दैन। खाली क्षेत्र धागो कारखाना भएपनि त्यो छुट्टै समिति मातहत छ। त्यसलाई चलाउन मिल्दैन’, उनले भने।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघ अध्यक्ष हिरामणी भट्टराईले बुटवलमा जग्गा अभाव भएका उद्योगीहरू अहिले धकधइमा क्षेत्रमा गएको बताए।

‘हामीले जंगल तर्फको भाग उद्योगका लागि माग्दा दिइएन,’ उनले भने, ‘अहिले त्यहाँ बसपार्क बनाउने योजना अघि बढेको छ भन्ने सुनेको छु।’

बुटवल औद्योगिक क्षेत्रको ४ सय ३४ रोपनी जग्गामध्ये एक सय ३४ रोपनीमा बुटवल धागो कारखाना छ। २८ रोपनीमा पशु बधशाला छ। बाँकी क्षेत्रमा ७० वटा उद्योग सञ्चालनमा रहेका छन्।

०३२ सालमा बुटवल औद्योगिक क्षेत्र स्थापना भएयता रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्र बनेको छैन। निजी जमिनमा सयौं ठूला उद्योग सञ्चालनमा छन्। रूपन्देहीमा मुलुककै सबैभन्दा धेरै उद्योग रहेका छन्।

मोतिपुरमा विवादै विवाद
अहिले रूपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको शिलन्यास भए पनि काम अघि बढेको छैन।

स्थानीयबीचको विवादपछि तत्कालका लागि क्षेत्रफल घटाएरै भए पनि औद्योगिक क्षेत्रको काम शुरू गर्ने तयारीमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय जुटेको छ।

‘सुरूवातमा सेक्टर ‘बी’भित्र रहेको कुल ३६९ बिघामध्ये  २६० विघा क्षेत्रफलमा बनाउन सकिने रिपोर्ट पठाइएको छ। अब त्यही अनुसार माथिबाट निर्णय भएमा मात्र काम अगाडि बढ्छ’, मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका निमित्त प्रमुख समेत रहेका अधिकारीले भने।

बुटवल औद्योगिक क्षेत्रको विस्तार नहुनु र मोतिपुर औद्योगिक क्षेत्रको कामले पनि गति नलिँदा अहिले धेरै उद्योगीहरूले भैरहवा-परासी क्षेत्रमा उद्योग विस्तार गरिरहेका छन्।

‘हामीकहाँ उद्योगीले अत्यधिक जग्गा माग गरिरहेका छन्। दिने ठाउँ छैन। त्यसैले धेरै उद्योगीहरूले उद्योगको क्षेत्र विस्तार नयाँ करिडोर क्षेत्र भैरहवा-परासी क्षेत्रमा गर्नुभएको छ’, उनले भने।

भैरहवा-परासी क्षेत्रमा अहिले ठूला लगानीका उद्योगहरू सञ्चालन भइरहेका छन्। कुनै समय भैरहवा-लुम्बिनी क्षेत्र ठूला लगानीका उद्योगहरू सञ्चालनका लागि उद्योगीहरूको रोजाइमा पर्ने गरे पनि सरकारले लुम्बिनी क्षेत्र वरपर उद्योग सञ्चालनमा रोक लगाएपछि अहिले उद्योगी भैरहवा-परासी करिडोरमा आकर्षित भएका हुन्।

उद्योगीको रोजाइमै पर्दैन सेज
उद्योग स्थापनाका लागि भैरहवामा सेज समेत सञ्चालनमा छ। तर, सेजमा खासै उद्योगीले चासो दिएका छैनन्।

त्यहाँबाट उत्पादित वस्तुको बिक्री अनिवार्य भारत निर्यात गर्नुपर्ने सहितका केही बाध्यकारी व्यवस्थाले उद्योगीहरू सेजमा जान अनिच्छुक देखिएका हुन्।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेज पूर्ण रूपमा सञ्चालनका लागि पटक-पटक आफूहरूले आग्रह गरे पनि उद्योगमैत्री नीति नल्याउँदा समस्या देखिएको बताए।

५२ बिघा क्षेत्रफलमा रहेको सेजमा ६८ वटा प्लट छन्। सेजमा स्थापना भएका उद्योगहरूले हालसम्म ३ अर्ब ३१ करोड मूल्यका वस्तु उत्पादन गरेका छन्।

सेजभित्रका ७ उद्योगले २ अर्ब २२ करोड मूल्यका वस्तु भारत लगायतका तेस्रो मुलुक निर्यात गरेका छन् भने १ अर्ब ९ करोड रुपैयाँका वस्तु स्वदेशमा बिक्री गरेका छन्।

सेजका सूचना अधिकारी एवं उपसचिव तुलसी मरासिनीले सेज परिसरमा रहेका ७ वटा उद्योगले उत्पादन गरिरहेको जानकारी दिए।

सेजको तथ्याङ्क अनुसार विसं २०७६ देखि निर्यात गर्न लागेको तीन उद्योगमध्ये आर्थिक वर्ष २०७६/७७ मा ब्रिलिएन्टले ५८ प्रतिशत, शक्ति मिनिरलले २४ प्रतिशत र विस्तार कम्पनीले शतप्रतिशत निर्यात गरेको थियो।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ब्रिलिएन्टले २४, शक्तिले २.५ प्रतिशत, विस्तारले ९९ र पञ्चकन्याले २ प्रतिशत मात्र निर्यात गरेको विशेष आर्थिक क्षेत्र (सेज)ले जनाएको छ।

त्यसपछिका आर्थिक वर्षमा सेजको प्रावधान अनुसार सबैजसो उद्योगले कम्तीमा ६० प्रतिशत उत्पादन निर्यात गरेका छन्।

तोकिएको भन्दा कम निर्यात गर्ने उद्योगलाई जरिवाना तिराउने प्रावधान अनुसार शक्ति मिनिरलले जरिवाना तिरेको समेत रेकर्ड छ।

६ चैत, २०८०, ०८:५६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।