श्याम ज्ञवालीलाई सिआइबीमा ल्याएकोबारे संसद्मा प्रश्न उठ्यो, व्यवसायी रवि केसी समेत जोडिए

श्याम ज्ञवालीलाई सिआइबीमा ल्याएकोबारे संसद्मा प्रश्न उठ्यो, व्यवसायी रवि केसी समेत जोडिए

काठमाडौँ : नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआइजी श्याम ज्ञवालीको नियतमाथि प्रश्न गरेका छन्।

सोमबारको शून्य समयमा संसद्मा बोल्दै उनले सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको भन्दै उनैलाई ब्युरोको प्रमुख बनाउनु शङ्कास्पद रहेको बताएका हुन्।

सुन तस्करीको अनुसन्धानकोक्रममा नियतवश प्रमाण नष्ट गरेको भन्दै सरकारले ब्युरोमा रहेकी एआइजी किरण बज्राचार्यको सरुवा निकाल्दै ज्ञवालीलाई सिआइबीमा ल्याएको थियो। उनी सिआइबीमा आउनु अगाडि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा थिए।

उनी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुँदा आफूसँग दुई करोड रुपैयाँ मागेको र सो रकम नदिएपछि आफू विरुद्ध लागेको सुन तस्करीको प्रतिवादी रहेका चलाउनेले दाबी गरेका थिए। उनले उकेरासँग कुरा गर्दै व्यवसायी रवि केसीसहित आफूलाई पहिला बालुवाटारमा रहेको एक रेस्टुरेन्टमा बोलाएर पैसा मागेको र पछि घरमै बोलाएर ज्ञवालीले पैसा मागेको दाबी गरेका थिए।

'मैले झुट बोलेको हो भने मेरो, रवि केसीको र एआइजी श्याम ज्ञवालीको सम्बन्धित दिनको मोबाइल लोकेशन हेरे हुन्छ त। यदी हामी तीनै जनाको लोकेशन एकै ठाउँमा देखिएन भने म थप कारबाही भोग्न तयार छु' चलाउनेले उकेरासँग दाबी गरे।

ज्ञवाली माओवादी केन्द्रको समर्थनमा प्रहरी महानिरिक्षकको प्रतिष्पर्धामा थिए। तर अन्तमा नेपाली कांग्रेसको दबाबमा वसन्त कुँवर प्रहरी महानिरिक्षक नियुक्त भएका थिए। 

चलाउनेको दाबीबारे उकेराको जिज्ञासामा ज्ञवालीले जवाफ दिएका थिए’फरारको कुरा पनि पत्याउने!’

५ चैत, २०८०, १३:२४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।