पवित्रा डाँगीको प्रसव पीडा र खुसी : ३० घण्टा व्यथा लागेको सम्झेर दोस्रो सन्तान जन्माउने हिम्मतै आएन

पवित्रा डाँगीको प्रसव पीडा र खुसी : ३० घण्टा व्यथा लागेको सम्झेर दोस्रो सन्तान जन्माउने हिम्मतै आएन

चार वर्ष देखि पवित्रा डाँगी नेपाल आर्य समाज संस्थामा कार्यालय सचिवको रूपमा कार्यरत छिन्।  लामो समय गृहिणी भएर बसेकी उनले यसअघि दाङ्गकै स्थानीय सहकारी संस्थामा काम गर्थिन्। उनको घर सिन्धुपाल्चोक भए पनि लामो समय दाङ्गमै बसिन्। अहिले भने छोराको पढाइको लागि उनी श्रीमानसँग काठमाडौँमा बस्छिन्।

घरको कान्छी छोरी भएकाले उनको बाल्यकाल सबैको मायामै सक्यो। १९ वर्षको उमेरमा मागी विवाह भयो। त्यसबेला नाइँ भन्ने चलन थिएन। पढ्ने र पढाउने सर्तसँगै उनको विवाह भयो। पढाइ त्यही अनुसारले चल्यो। विवाहपछि घरको काममा अलि बढी चाप भयो उनलाई।

१२ कक्षा पढ्दै गर्दा गर्भवती भइन्। अनि परीक्षा दिने बेलासम्ममा त उनी आमा नै बनिन्। प्रसव पीडा ३० घण्टा सम्म सहनु चानचुने कुरा होइन। त्यही पीडाले गर्दा उनले दोस्रो सन्तान जन्माउनेबारे सोच्दा पनि सोचिनन्।

उनै पवित्राले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :

000

बाबु अहिले १४ वर्ष भयो। नौ कक्षामा पढ्दै छ। गर्भवती हुँदा म कलेज गइराखेको थिएँ। गर्भवतीको समयमा कलेज जान मलाई त्यस्तो अप्ठ्यारो पनि लागेन। १२ कक्षाको अन्तिम परीक्षा आउन लागेकाले कक्ष छाड्न मन लागेन।

गर्भावस्थामा पनि सबै क्रियाकलापमा भाग लिइ नै राख्थेँ। नौ महिनाको गर्भको समयमा पनि भलिबल खेलेर जितेको पनि छु। 

बिहे भएको दुई वर्षपछि सन्तान हुँदै थियो। घरमा सबैजना खुसी हुनुहुन्थ्यो। मेरो श्रीमान् आर्मी हुनुहुन्थ्यो। उहाँ बाहिर बाहिर नै बस्नेहुँदा म दाङ्गमै बस्थेँ। ममीले मलाई हेर्न आउनुहुन्थ्यो।

ममीले म गर्भवती भएदेखि बाबु दुई वर्ष भएसम्म हेर्नु भएको हो। बाबु हेर्ने, स्याहार्ने सबै उहाँले गर्नु भएपछि मलाई सजिलो भयो।

लाज हुन्छ भनेर एकदिन पनि घरमा बसिन। त्यसैबेला शुक्रवार कलेज गएर फर्किए। राति व्यथा लाग्न सुरु भयो। एकै पटक शनिवार २ बजेर ४३ मिनेटमा बाबु जन्माएँ।

अलि मोटो नै थिएँ। बाहिर अलि ठुलो ज्याकेट लगाएर हिँड्थे। बरु अहिले दुब्लाएँ। तीन महिनासम्म त मलाई खाना रुचेन। बान्ता हुने, गाह्रो हुने भयो। त्यसपछि त फेरी जे खाए पनि रुच्ने भयो। खाएको सबै शरीरमा पनि लाग्यो।

पुरै नौ महिना राम्रोसँग बित्यो। बच्चा जन्माउने बेला धेरै गाह्रो भयो। अहिले त राप्ती प्रतिष्ठान भन्ने छ, त्यसबेला महेन्द्र अस्पताल भनिन्थ्यो। अहिले जस्तो भएको भए अप्रेसनै गरिदिन्थे होला।

३० घण्टा यति गाह्रो भयो कि, अहिले सम्झँदा पनि सिरिङ्ग हुन्छ। त्यही भएर पनि मैले अर्को बच्चा नपाएको।

व्यथा ढिलाढिला लाग्दा बच्चा ढिलै जन्मिने रहेछ। तर मलाई त छिटो छिटो व्यथा लागेको थियो। तर बाबु जन्मिन गाह्रो भयो। घर खुल्नै समय लाग्यो रे।

३० घण्टाको नियमित प्रसव व्यथापछि बल्ल बल्ल नर्मल नै बच्चा भयो। झन्डै अप्रेसनै गर्नु परेको थियो नि। अर्को अस्पतालमा गएको भए मलाई पक्का अप्रेसन गर्थ्यो भन्ने लाग्छ।

त्यसबेला ३५ जना सुत्केरी हुने तरखरमा थियौँ। सबैजना डेलिभरी भएर गइसकेका थिए। तर मलाई त केही भइरहेको थिएन। छटपटाएर बसिराख्थेँ म।  बच्चा जन्मन घर खुलेको छैन भनेर डाक्टर हेर्नै आएनन्। अर्को अस्पताल पठाउनु भन्दा मानेनन्।

बल्ल बच्चा जन्मियो। ३० घण्टासम्म व्यथा लाग्दा त जिउन नै पुरै गलेछ। निकैबेर सम्म जिउँ दुखिराख्थ्यो।

बाबुलाई त्यही बेलामा समाउनु दिएका थिए। तर मलाई त माया लाग्नु भन्दा पनि रिस पो उठेको थियो। यस्तो गाह्रो भएर जन्माउनु पर्यो, दुख पाएँ भन्ने भयो। तर फेरी एक छिनमा माया लाग्दै गयो।

स्तनपान पनि त्यही बेला देखि सुरु गरेँ। दूध धेरै भएर बाबुले सबै खानै सक्दैनथ्यो।

सुत्केरी स्याहार एकदम राम्रो भयो। आमा र श्रीमानले सबै हेर्नुभयो। ११ दिन पछि त माइत गएँ। त्यस बेलासम्म ममीकै भरमा बसेको हो।

तीन महिनापछि परीक्षा थियो। ममीलाई नै दुधे बालक छोडेर परीक्षा दिन गएँ। तीन घण्टाको परीक्षा दिएर घर जाँदा बाबु त आनन्दले बस्थ्यो। एकदम शान्त थियो।

तर दूध खुवाउन नपाएर मेरो कपडा नै भिज्थ्यो। त्यो बेला चैँ अलि लाज लागेको थ्यो। दिनमा तीन/चार पटकसम्म कपडा फेर्नुपर्थ्यो।

बाबुलाई खुवाएर पनि दूध बढी नै हुन्थ्यो। कति पटक त दुहेर फाले पनि। गाँनेर निकै दुख्थ्यो। पछि त घाउ पनि हुन लागेको थियो।

गर्भवती हुँदा जन्डिस पनि भएको थियो। दाङ्गमा त धेरै गर्मी हुन्छ। प्राय फ्यान खोलेर नै बसेको भएर पनि होला, बाबुलाई पनि जन्मिने बित्तिकै निमोनिया देखिएको थियो।

जतिखेर पनि बिरामी हुन्थ्यो। मेरो दूधले नै गर्दा राम्रो भयो पछि। आठ वर्षसम्म त उसमा राम्रोसँग निमोनिया नै हटेन।

पेटमा हुँदा नै चिसोले भेटिसकेको भएर होला अहिले पनि उसलाई छिट्टै चिसोले समात्छ। उसलाई बचाउन धेरै गाह्रो भयो।

घरमा त अर्को एउटा बच्चा हुनुपर्छ भन्नुहुन्थ्यो। तर अहँ, म पाउँदिन भनेँ। एक त त्यति लामो व्यथा अनि फेरी बाबु सधैँ बिरामी भएपछि अर्को बच्चालाई पनि यस्तै होला भन्ने डर लाग्यो। भित्री मन देखिनै अर्को बच्चा जन्माउन मनै लागेन।

अब त बाबु नै ठुलो भइसक्यो। अब पाउने कुरा पनि भएन। मेरो व्यथा एकदम कडा भयो। हुर्काउने बेला त ममी भएर सहज भयो। ममी भएको कारण मेरो एक रात पनि निन्द्रा बिग्रेन। आमा भनेको त्यस्तो हुने रहेछ।

पहिला पनि ममीको माया धेरै लाग्थ्यो। तर म आफै आमा बने पछि अनि मेरो बच्चा हुर्काउन समेत ममीले गर्नु भएको मिहिनेत देखेर झन् बढी माया लागेर आयो।

अहिले त बाबु धेरै बिरामी पनि हुँदैन। तीन वर्षको हुँदादेखि बाबुलाई स्कुल पठाउन थालेको हो। दुइटा स्कुलमा त उ रोएर मान्दै मानेन। तेस्रो स्कुलमा भने हाँसीहाँसी गयो।

त्यसबेला सम्म मेरो केही काम थिएन। त्यही भएर उसलाई पुरै समय दिन पाएँ। अब त श्रीमान् रिटायर हुनुभयो। बसाइ र बाबुलाई पढाउने सिलसिलामा यतै काठमाडौँ छौँ।

किशोर अवस्थामा भएको भएर होला, बाबु अलि बढी झर्किन्छ। आवाज पनि उसको धोद्रो हुँदै छ। उसलाई हेर्दा समय कत्ति छिटो जाने रहेछ जस्तो लाग्छ।

प्रसव पीडा त मेरो असह्य नै भएको हो। त्यो सम्झिँदा त अहिले पनि डर लाग्छ। तर सन्तानको माया त्यो भन्दा बढी लाग्छ।

४ चैत, २०८०, १७:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।