मध्यमधार : समलिंगी विवाह दर्ता भएको दोस्रो जोडी दिप्ती र सुप्रिता, आमाले भनिन्- ‘मिलेर बस्न सके त विवाह गरे हुन्थ्यो’

मध्यमधार : समलिंगी विवाह दर्ता भएको दोस्रो जोडी दिप्ती र सुप्रिता, आमाले भनिन्- ‘मिलेर बस्न सके त विवाह गरे हुन्थ्यो’

स्याङ्जाको वालिङमा घर। चार दाजुभाइ अनि चार दिदिबहिनी। दिदीबहिनी मध्येकी साइली हुन् अञ्जु श्रेष्ठ उर्फ दिप्ती। बाल्यकाल उनको रमाइलै गरी बित्यो। विद्यालयको पढाइ र घरको काम। जब उनी १३ वर्षकी भइन्, तब उनलाई थाहा भयो मलाई त केटी नै मनपर्छ। यो कुरा कसैलाई भनिनन्। तर उनको व्यवहार समाजले छुट्टाइदिएको जस्तो ‘केटी’को थिएन।

२०६५ साल दिप्ती १८ वर्ष लागिन्। छोरीतिर विवाह गर्ने पालो उनकै थियो। गाउँमा मागी विवाहको चलन। उनलाई पनि माग्न आउन थाले। पहिले पनि केटा माग्न आएर हत्तु नपारेका त होइनन् तर उनले टार्दै आएकी थिइन्। एकपटक त विवाह गर्न यति दबाब आयो की उनी घरै छाडेर हिँडिन्। स्याङ्जाबाट बुटवलसम्म पनि नआएकी उनी भारतको पञ्जाब पुगिन् अनि तीन महिना सम्पर्कविहीन भइन्।

ठूलो दिदीको साथ 
२०४७ सालमा जन्मेकी हुन् दिप्ती। घरपरिवार राम्रै थियो। जहान ठूलो भएकाले केही न केही काम गर्नै पर्थ्यो। जेठी दिदीले पार्लर सिकेकी भएर उनले पनि पार्लरकै काम सिकिन्। कहिले बुटवलको बसाइ कहिले स्याङ्जा। मागी विवाहको दवावपछि पञ्जाब पुगेकी उनी मामाघरमा बसिन्। मामाकै छोरीहरूले पनि पार्लरको काम सिकेका थिए। त्यही मेसोमा उनले थप सिक्न पाइन्।

तीन महिना बसेर फर्केपछि परिवारले उनलाई विवाहको लागि दवाव दिन छाड्यो। एसएलसी दिएर उनी केही समय कक्षा ११ पढिन। त्यसपछि भने वैदशिक रोजगारमा गइन्। साढे १ वर्ष काम गरेर फर्किइन्। 

दिप्ती भन्छिन्, ‘विवाह छल्न कहिले कता भाग्ने कहिले के गर्ने गरेको थिएँ, आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने लाग्यो अनि बाहिर काम गर्न गएको थिएँ। राम्रै कमाइ पनि गरेँ।’

उनले विवाह गर्दिनन् भन्ने परिवारले थाहा पाइसकेका थिए। पटक-पटकको दबाबलाई छल्दै हिँडेपछि परिवारले कर पनि गरेनन्। उनकी जेठी दिदीले आफ्नै घर नजिक कोहलपुरमा जग्गा किन्न लगाइन्। त्यहीँ परिवारको सहयोगमा घर बनाइन्।

फेसबुकबाट चिनजान अनि सांस्कृतिक विवाह 
यता सुप्रिता गुरुङ पनि ४७ सालमै जन्मिन्। पुर्ख्यौली घर बन्दिपुर। बुवा ब्रिटिश लाहुरे। पढाइ काठमाडौंकै चाबहिलको स्कुलमा भयो।

२०७६ सालको सुरुवातमा फेसबुक स्क्रोल गर्दै थिइन् सुप्रिताले एकजना म्युचल फ्रेण्ड पनि भएको दिप्तीको प्रोफाइल देखिन्। उनलाई यति मन पर्याे की फ्रेण्डरिक्वेस्ट पठाउन खोजिन्। तर मिलेन। त्यसपछि म्यासेज रिक्वेस्ट गरिन्। तत्कालै एसेप्ट पनि भयो।

दिप्ती भने स्याङ्जाबाट बुटवल जाँदै थिइन् गाडीमा। सुप्रिताको म्यासेज रिक्वेस्ट आएपछि कुरा हुँदै गयो। नम्बर उस्तो नसाट्ने दिप्तीले सहजै सुप्रितालाई नम्बर पनि दिइन्। त्यसपछि उनीहरूको कुरा हुँदै गयो। कोहलपुर बस्ने दिप्ती अनि काठमाडौँ बस्ने सुप्रिता। भेट्न हतारिए। नेपालगञ्ज एयरपोर्टमा भेट्न गइन् सुप्रिता।

सुप्रिता भन्छिन् ‘शुरुमा त म गएँ भेट्न। उहाँ मलाई लिन एयरपोर्ट आउनुभएको थियो। उहाँलाई भेटेपछि त खुशीको सीमै रहेन।’

कोहलपुरमा घर बनेपछि भने आफूलाई लक लागेको बताउँछिन् दिप्ती।

‘घर बन्ने बितिक्कै ऊसँग भेट भयो,’ उनले भनिन्, ‘कसैसँग खुलेर कुरा नगर्ने म ऊसँग खुल्दै गएँ।’

भेट भएको केही महिनामा नै उनीहरुले स्याङ्जाको एक मन्दिरमा विवाहको लागि गए। जान त गए तर मन्दिरका पुजारीले विवाह गर्नै हिच्किचाए। दिप्तीले ‘तपाईंको काम हो गरिदिनु न! मन्त्र पढ्नलाई के नै भयो र?’ भनेपछि पण्डितले मन्त्र पढिदिए। उनीहरूको विवाह भयो।

विवाहको केही समयमा नै सुप्रिता बेलायत लागिन्। केही समय काम गरेको पैसाले कोहलपुरको घरको अर्काे तल्ला थपे। वरपर उनीहरूबारे थाहा भएपनि केही भन्दैनथे। तर, घर भाडा लगाउने बेला भने दुःख पाए।

एकजना नेपाल प्रहरीका जागिरे पुरुष कोठा खोज्न आए। एडभान्स पनि दिए। पछि अप्ठ्यारो होला भनेर उनले आफू केटी-केटी विवाह गरेर बसेको, जाँड रक्सी र चुरोट खाने केटाहरू राती-राती नल्याइदिनुहोला भनिन्।

ती प्रहरीका श्रीमतीले एकदमै खुशी भएकी थिइन् तर पछि तिनै प्रहरीले हुँदैन हामी नबस्ने भनेर बसेनन्। यहि घटना घटेको केही समय पहिले छिमेकीले त्यो घरमा डेरा नबस्नु आफ्ना सन्तानले पनि त्यस्तै सिक्छन् भनेर फर्काइदिएको दिप्तीले सुनेकै थिइन्। 

‘यस्ता घटनाले केही हतोत्साहित त गराउँछ। तर म यस्ता कुरालाई मन लिएर बस्दिन,’ दिप्तीले भनिन्, ‘यस्ता कुराले चित्त दुखाउन थालियो भने त शब्दैपिच्छे चित्त दुखाउनुपर्ने हुन्छ।’

कानुनी विवाहको झमेला 
सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह दर्तागरी अस्थायी अभिलेख राख्न भनियो। त्यही अनुसार जिल्ला अदालतले विवाह नगरिदिए पनि माया गुरुङ र सुरेन्द्र पाण्डेबीच विवाह भयो मंसिर १३ गते।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाले विवाह दर्ता गरिदिएको थियो। यो विवाह पनि सजिलै दर्ता भएको थिएन। संविधान सभा सदस्य सुनिलबाबु पन्तका अनुसार पञ्जीकरण विभागले परिपत्र जारी नगरिदिएकाले विवाह गर्न गाह्रो भएको थियो।

‘विभागले परिपत्र जारी नगरिदिने तर विवाह गर्न गएको खण्डमा कसरी अभिलेख राख्ने भन्ने कुरा चाहिँ सम्बन्धित पालिकालाई भनिदिने कुरा भयो,’ पन्तले भने, ‘माया र सुरेन्द्रको विवाह पनि दर्ता गर्नै मानेका थिएनन्। अदालतको आदेश र विभागको मौखिक पत्रपछि बल्ल भएको हो।’

दुई जनाको विवाह दर्ता भएको थाहा पाएका सुप्रिता र दिप्तीको जोडी विवाह दर्ता गर्न वडा धाए। तर भएन।

‘कहिले के मिलेन कहिले के मिलेन भनेर दुई हप्तासम्म हामीलाई धाएको धायै गर्ने बनाए,’ सुप्रिताले भनिन्, ‘सुनिल दाइको सम्पर्कमा आएपछि उहाँ यता विभाग धाउनुभएछ, त्यसपछि उहाँ नै गएपछि मात्रै हाम्रो विवाह दर्ता भयो।’

सुप्रिताको परिवारमा भने उनले विवाह दर्ता गर्दैछन् भन्ने थाहै थिएन। शुरुमा आमालाई आफूले समलिंगी विवाह गरेको भनेता पनि खासै वास्ता गरेकी थिइनन्। जब सर्वाेच्चले समलिंगी विवाहलाई मान्यता दियो तब भने उनकी आमाले ‘तिमीहरू पनि सधै सँगै मिलेर बस्न सके त विवाह गरे हुन्थ्यो’ भनेकी थिइन्। जब उनीहरूले विवाह गरे तब सुप्रिताको घरमा सबै अचम्ममा परे।

विवाह दर्ता गर्दा निकै सकस भएको बताउँछन् सुनिलबाबु पन्त। उनका अनुसार पञ्जीकरण विभागले विवाह दर्ताको परिपत्र जारी नगरिदिएकाले स्थानीय तहले सजिलै मानेका छैनन्। उल्टो विवाह दर्ता गर्न स्वीकृति दिनेहरू सरुवा भएको उनले बताए।

‘कर्मचारीहरू यस्तो विवाह दर्ता किन गर्नुपर्याे भनेर कतिले सहमति दिएका छैनन्, केही बुझ्नेले दिएकालाई पनि सरुवा गरिदिने गरेको पाएँ,’ उनले भने, ‘अदालतको आदेशको अवहेलना गरेको भनेर जाऔँ भनेपछि मात्रै दर्ता भएको छ, सहज अझै भएन।’

पञ्जिकरणले सहजीकरण गरिदिएपछि बर्दियाको बढैया ताल गाउँपालिका वडा नम्बर-२ को कार्यालयबाट गत माघ २८ गते विवाह दर्ता गराएर त्यसको प्रमाणपत्र प्राप्त गरे दिप्ती र सुप्रिता।

उनीहरू भन्छन्, ‘मान्छे भएपछि सबैलाई बराबर हुनुपर्याे। यति कुरा त सबैले बुझ्नुपर्याे नि!’

विवाह गरेको एक महिनामा सुप्रिता बेलायत गइन्। अब केही समयपछि दिप्ती पनि उतै जाने सोचमा छिन्। दुवै जना केही समय उतै काम गर्ने त्यसपछि नेपालमा फर्कने योजनामा छन्।

भन्छन्, ‘केही समय उतै बसेर काम गर्ने, त्यसपछि नेपालमा नै फर्कने योजना छ। हेरौँ त्यसपछि के हुन्छ?’

२ चैत, २०८०, १०:२९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।